लामाको नियुक्तिले शान्त लुम्बिनी ‘अशान्त’ हुने चिन्ता



लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी फेरि पुनः एकपटक चर्चामा आएको छ । शान्ति र अहिंसाका प्रतीक भगवान बुद्धको जन्मथलोका हिसाबले लुम्बिनी सधै चर्चामा छँदैछ तर फेरि एकपटक सरकारको विवादस्पद निर्णयाले लुम्बिनी चर्चामा आएको हो । विगतदेखि पटक–पटक विवादमा मुछिएका ल्हारक्याल लामालाई लुम्बिनी जस्तो पवित्र संस्थाको उपाध्यक्ष जस्तो ‘गरिमा’ बोकेको पदमा नियुक्त गरेपछि लुम्बिनी चर्चामा मात्रै आएको छैन, सरकार र विभागीय मन्त्रीको आलोचना भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय समस्य समेत रहेका लामा विवादस्पद छवि भएका व्यक्ति हुन् । उनी लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएपछि सर्बत्र आलोचना भइरहेको छ । भैरहवा–लुम्बिनी क्षेत्रमा उपाध्यक्ष बन्नका लागि लुम्बिनीप्रति योगदान दिएका, शैक्षिक एवं विज्ञ ज्ञता प्रशस्त छन् । तर, सरकारले सबैलाई पन्छ्याएर लामा जस्ता विवादित व्यक्तिलाई उपाध्यक्ष नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पछिल्लो समय लुम्बिनीमा भइरहेका बेथिति सुधार गर्ने बताइरहेका थिए । तर, लामाको नियुक्तिपछि मन्त्री किरातीको बोली र ब्यवहार ठीक उल्टो भएको कोषका पदाधिकारी नै बताउँछन् । लुम्बिनी अन्तर्राष्ट्रिय थलो हो । यहाँ विश्वभरका बौद्ध मार्गीको आस्था छ । तर, त्यही ठाउँमा दोहोरो नागरिकता, भारतीय रासनकार्ड र राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोप लागेका व्यक्ति नियुक्तिले सरकारको लुम्बिनीप्रतिको दृष्टिकोण परिवर्तन हुन नसकेको पुष्टि हुने लुम्बिनीबारे जानकारहरु बताउँछन् । लामा पटकपटक पक्राउ परेर रिहा हुँदै आएका व्यक्ति हुन् ।
दल बदल्दै लाभ उठाउँदै आएका उनीले लुम्बिनीको एकीकृत विकास अन्तर्राष्ट्रिय जगतमा समन्वयकारी भूमिका खेल्नेमै धेरैको शंका छन् । मन्त्री किरातीले आरोपहरुबाट सफाई पाएकाले अहिले प्रश्न गर्न नमिल्ने बताउँछन् । वर्षौंदेखि लुम्बिनी विकास गुरुयोजना पूरा हुनसकेको छैन । बरु गुरुयोजना विपरीतका काम धमाधम भइरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा समन्वय, सहकार्य, लुम्बिनीको बृहत विकास जस्ता काम अहिले ओझेलमा छन् । लामाको नियुक्तिले यी काममा उनको भूमिका राम्रो हुनेमै शंका उब्जिएको छ ।
विश्व सम्पदामा सूचीकृत बुद्ध जन्मभूमि लुम्बिनी आफैमा ऐतिहासिक स्थल हो । यो ठाउँ र यससँग जोडिएका स्थलको खोजअनुसन्धान गर्न धेरै बाँकी छ । उपाध्यक्ष पद शक्तिशाली हो । उपाध्यक्ष भएपछि लुम्बिनी बर्सेनि आउने करोडौं रुपैयाँमा चलखेल गर्न पाइने भएकाले पनि शक्तिकेन्द्र रिझाएर यहाा नियुक्ति लिने प्रचलन नै बसेको छ । यसैको शिलशिलामा लामा नियुक्ति भएको प्रष्ट बुझिन्छ ।
धेरै बौद्धस्थलको संरक्षण हुन सकेको छैन । लुम्बिनीसँगैका क्षेत्रको संरक्षण र अन्वेषण गर्ने निकायमा लामाको आगामनले धेरै बौद्धमार्गी, ज्ञाता, जानकार र खोज तथा अनुसन्धाकर्ताहरु निरास छन् । लामाले शक्तिमा पहुँच पुर्याएर सधैंजसो पदमा पुगिरहन्छन् । बौद्धस्थित धाप्साङ रिम्पोछे गुम्बामा बौद्ध धर्मसम्बन्धी अध्ययन गरेका उनले भारतको कर्नाटकस्थित पेनोर रिम्पोछे गुम्बामा अध्ययन गरेका थिए । उनी तत्कालीन समयमा खुमबहादुर खड्कासँग निकट सम्बन्ध बनाएर ०५८ सालमा गुम्बा व्यवस्था विकास समितिको अध्यक्ष बनेका थिए ।
०६४ मा भने एमाले प्रवेश गरेर समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएक उनी ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्रीको शपथ लिएका थिए । तर दोहोरो नागरिकता रहेको विवादमा मुछिएपछि दुई सातामै राजीनामा दिए । पहिलो संविधानसभामा एमालेबाट सभासद भएका लामा दोस्रो संविधानसभामा भने माओवादीबाट सभासद भए । ०७० मंसिरको चुनावअघि कात्तिकमा उनी माओवादी प्रवेश गरेका थिए । यही बेला मकाउ पठाउने भन्दै केही युवाबाट दुई करोड रुपैयाँ ठगेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । यी उजुरीका आधारमा उनी ०७२ चैतमा पक्राउ परेका थिए । त्यतिबेला लामा ३० लाख धरौटीमा रिहा भए । त्यसपछि लामामाथि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अनुसन्धान थालेको थियो । अनुसन्धान जारी रहेकै बेला ०७३ फागुन ३० मा उनको इन्भेस्टमेन्ट बैंकको लकरमा १४ थान गोली भेटिएको थियो । गोली भेटिएपछि पक्राउ परेका लामा ६६ हजार ७ सय रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
राज्यमन्त्रीबाट राजीनामा दिएपछि लामाको विषय जाँचबुझ गर्न न्यायिक आयोग नै गठन गरिएको थियो । पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेल नेतृत्वको आयोगले लामाको शंकास्पद भूमिकाबारे सूचनाहरू प्राप्त भए पनि क्षेत्राधिकार नभएकाले छानबिन नगरिएको बताएका थिए । आयोगले विदेशी राहदानी, रासनकार्ड र परिचयपत्रको आधिकारिकता जाँचका लागि गृह र परराष्ट्र मन्त्रालयसँग सहयोग मागेको थियो । बारम्बार ताकेता गर्दा पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएन र अनुसन्धान प्रभावित भयो । यस्तो विवादस्पद छवी भएका उनी अहिले उपाध्यक्ष नियुक्त हुनु लुम्बिनीकै अपमान भएको कोषका पदाधिकारी नै बताउँछन् ।
लुम्बिनीमा उपाध्यक्ष पद लिएपछि ठेक्कापट्टा, प्लट उपलब्ध गराउँदा, दातृ निकायको सहयोग लगायतमा करोड कुम्ल्याउने दाउ धेरैको हुन्छ । लामाको पनि यस्तै दाउ रहेको धेरैको ठहर छ । लामाको नियुक्ति पछि सबैभन्दा बढी आलोचना लुम्बिनी क्षेत्रमा भएको छ । राष्ट्रियस्तरमा पनि उनको नियुक्तिप्रति तीव्र असन्तुष्टि छ । साउन १० यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको कार्यकाल सकिएपछि सरकारले लामालाई नियुक्त गरेको हो । ‘उहाँ (लामा) आफैमा विगतदेखि विवादित पृष्ठभूमि भएको मान्छे, लुम्बिनी आएर बनाउने भन्दा विगार्ने डर हामीलाई छ’, कोषका एक अधिकृत भन्छन्, ‘एक त लुम्बिनीमा विगतदेखि नै अवैध काम भइरहेका छन्, लामाले ध्वस्तै पार्ने चिन्ता बढ्यो ।’
लुम्बिनी शान्ति क्षेत्र हो, शान्ति क्षेत्रमा मुलुकमै अशान्ति मच्याइरहेका व्यक्तिको प्रवेशले गरिमा कहाँ पुर्याउला भन्ने चिन्ता सबैमा बढेको पाइन्छ । सामाजिक संजाल फेसबुक, ट्वीटर लगायतमा लामाको नियुक्तिलाई लिएर निरन्तर आलोचना भइरहेको छ । सरकारले उनको नियुक्ति सच्याउनेबारे अझै केही बोलेको छैन । पर्यटन मन्त्री त बचाउमा लागेका छन् । माओवादीकै भएकै कारण उनले नियुक्ति पाएका हुन् । उनको क्षमता भन्दा विवादित काम बढी छन् । अहिले लुम्बिनी क्षेत्रका बासिन्दामा लामाको नियुक्तिले लुम्बिनीको विकास, खोजअनुसन्धान एवं अन्वेषण, पर्यटकीय गतिविधि बढ्ने भन्दा पनि कतै अशान्ति फैलने त होइन् भन्ने चिन्ता बढी देखिन्छ ।








प्रतिकृया दिनुहोस्