वन्यजन्तु पीडितद्वारा आयआर्जन प्रयास



बर्दिया– बर्दिया निकुञ्जका वन्यजन्तुको आक्रमणबाट घर मूली गुमाएका परिवार विभिन्न आयआर्जनका माध्यामबाट आर्थिक रुपमा तंग्रिने प्रयासमा छन् । आम्दानी नहुँदा उनीहरुका सन्तानको पठनपाठन प्रभावित बनेको छ । केही परिवारलाई छाक टार्ने समस्या छ । औषधिमूलो गर्न ऋणको भर पर्नुपर्छ । यस्तो भार कम गर्न पीडितले भैसी, बंगुर र बाख्रा पालेका छन् । वन्यजन्तुले खेतीपाती नष्ट गर्ने भएकाले वैकल्पिक उपाय रोजेका हुन् ।
यहाँस्थित वन्यजन्तु पीडित एकल महिला सञ्जालकी अध्यक्ष अमृता जैशीले बाख्रा पालेकी छन् । ‘सातवटा बाख्रा छन्,’ उनले भनिन्, ‘यसैबाट नुन, तेल जोहो भइरहेको छ ।’ त्यसअघि भैसी पालेकी थिइन् । भैसी मरेपछि बाख्रा पालेको उनले बताइन् । उनका पतिलाई हात्तीले मारेको थियो । निकुञ्जले बाख्राको खोर बनाउन ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको उनले बताइन् ।
‘रुख चढ्न पनि सक्दैनँ, बाख्राको पछि दौड्न धौ हुन्छ,’ उनले भनिन्, ‘पशल जस्तो बसेर आम्दानी हुने चिज भए हुन्थ्यो ।’ सञ्जालकी सचिव जानकी थारुले आयआर्जनका लागि संरक्षणसँग सम्बन्धित संघसंस्थाले आर्थिक सहयोग उपलब्ध गराएको जनाइन् । उनका अनुसार पीडितमध्ये एक जनाले साइकल पशल चलाइरहेका छन् । पाँच जनाले भैसी पालेका छन् । बाँकीले बाख्रा बंगुरमार्फत आम्दानी गरिरहेको बताइन । ‘६ वर्ष भयो मैले भैंसी पालेकी छु,’ जानकीले भनिन्, ‘एक लाख २५ हजारमा ब्याउने भैंसी किने ।’
जन्मिने वित्तिकै पाडापाडी २५ हजार दरले विक्री हुन्छन् । ‘दैनिक चार लिटर दुध बेच्छु,’ उनले भनिन्, ‘लिटरको ७७ रुपैयाँ मिल्छ ।’ दुध बेचेर मासिक आम्दानी भइरहेको उनले बताइन् । ‘भैसीले घर चलाएको छ,’ उनले भनिन् । आयआर्जनका काम थाल्न निकुञ्जले ५०–५० हजार दरले पीडितलाई अनुदान उपलब्ध गराएको उनले बताइन् ।
अनुदानबाटै बारबर्दिया–९, कि असिया थारुका कान्छा छोरा लक्षिरामले पूर्वपश्चिम राजमार्ग अन्तर्गत टाइगर चोकमा साइकल पशल चलाइरहेका छन् । केही समय बैदेशिक रोजगारी शिलशिलामा कुवेतमा बिताएका उनी आधा पेट खाएर काम गर्नुपरेपछि स्वदेश फर्किए । ‘कुवेतको दुख भन्दा मुलुकमै केही गर्न पर्छ भनेर फर्किए,’ लक्षिरामले भने, ‘जेडएसएल संस्थाले ५० हजार सहयोग गरेपछि पशल चलाउन सहज भयो ।’ अहिले साइकल चलाउनेको संख्यामा कमी आयो । ‘पहिले जस्तो कमाई छैन,’ उनले भने, ‘गुजारा चलेको छ ।’
पहिले साइकल नै गाउँमा सवारी साधन थियो । अहिले मोटरसाइकल र कार बढेका छन । जसले गर्दा साइकल व्यापारमा मन्दी छ । ‘केटाकेटी छन्,’ उनले भने, ‘एउटा बहिनीले स्नातक अन्तिम वर्षको जाँच दिएर बसेकी छन्, कतै रोजगारी गर्न पाए हुने ।’ आयआर्जनमा सघाउन जेडएसएल संस्थाले ७ लाख रुपैयाँ बीउ पूँजी उपलब्ध गराएको थियो । ‘त्यो रकम सदस्यलाई परिचालन गरेका छौं,’ सञ्जालकी सचिव जानकीले भनिन्, ‘एक लाख १७ हजार बाँकी छ ।’ उनका अनुसार ११ जनाले अनुदान लिएका छन् । आवश्यकता अनुसार प्रतिव्यक्ति २५ देखि अधिकतम ५० हजार रुपैयाँ उपलब्ध गराइएको उनले बताइन् ।
‘वर्षमा एकपटक पीडितको भेला गर्छौ,’ उनले भनिन्, ‘प्रकृति संरक्षण कोषले मासिक १५ सय राहत स्वरुप उपलब्ध गराउँछ ।’ उज्यालो नेपाल संस्थाले १–१ लाख रुपैयाँको बीमा गरिदिएको उनले बताइन् । मध्यवर्ती क्षेत्र अन्तर्गत महिला वातावरण उपसमिति अध्यक्ष सावित्रा थापा ढकालले वन्यजन्तु पीडितका लागि हस्तकला, अर्गानिक मल, सिलाईकटाई, सेनेटरी प्याड बनाउने तालिम दिइरहेको बताइन् । उप समितिले पीडितका सन्तानलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । ‘गत वर्ष ५० छात्रछात्रालाई उपलब्ध गरायौं,’ उनले भनिन्, ‘यसपाली ६० जनालाई दियौं ।’
मानव–वन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागि पीडितलाई सहयोग गरिरहेको उनले बताइन् । संस्थाले यसपटक एकल महिलालाई रारा ताल भ्रमणमा लगेको थियो । ‘नेपालगन्ज नगएका महिला रारा घुमेर आए,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले पीडा भुलाउँछन् ।’ निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत आशिस न्यौपानेले वन्यजन्तु आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारले सरकारी कार्यविधि अनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन् । ‘५० हजार रुपैयाँ क्रिया खर्च मिल्छ,’ उनले भने, ‘पीडितका सन्तानलाई छात्रबृत्ति र एक महिलालाई मासिक भत्ता उपलब्ध गराइरहेका छौं ।’
उनका अनुसार मध्यवर्ती क्षेत्र अन्तर्गत बर्दिया, बाँके र सुर्खेतमा गरेर २६ जना एकल महिला छन् । आठ जना अपाङगता भएका छन् । उनीहरुलाई मासिक एक हजार पाँच सय दरले भत्ता वितरण गरिरहेको उनले बताए । ‘पीडितलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘समुदायको सहयोग बिना संरक्षण सम्भव छैन ।’ बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले एक पटक पीडितलाई सहयोग उपलब्ध गराएर समस्या समाधान नहुने बताए । अहिलेसम्म ग्रामीण क्षेत्रका महिला पुरुषप्रति निर्भर हुने परम्परा रहेकाले परिवारले धेरै समस्या झेल्नु परेको उनले बताए ।
‘वन्यजन्तुको आक्रमणबाट पति गुमाएका महिलाको अवस्था दयनीय छ,’ उनले भने, ‘दीर्घ रोगी र विपन्न महिला धेरै समस्यामा छन् ।’ आर्थिक अभावले धेरै महिलामा नैराश्यता समस्या देखिएको उनले बताए । ‘सबै महिलाको एउटै खालको समस्या थियो,’ उनले भने, ‘त्यसैले संगै बसालेर परिचय गराउन, सुखदुख बाँडुन र भेटघाटको वातावरण होस भनेर भेला आयोजना गरेका थियौं ।’ भेलामा सबैले आफ्ना समस्या सुनाए ।
तेस्रो चरणको भेला आयोजना गरेपछि एकल महिलालाई मासिक एक हजार रुपैयाँ दरले राहत उपलब्ध गराउन थालेको उनले बताए । ‘अहिले उक्त भत्ता एक हजार पाँच सय रुपैयाँ पुगेको छ,’ उनले भने, ‘त्यसपछि आयोजित भेलामा आयआर्जनका कामका लागि रकम परिचालन नगरिएको गुनासो आयो ।’ त्यसपछि साझा कोष खडा गरेर पीडित मार्फत पैशा परिचालन गर्ने प्रस्ताव आएको उनले बताए ।
‘त्यसपछि जेडएसएल नेपाल कोष सञ्चालनका लागि रकम उपलब्ध गराउन सहमत भयो,’ उनले भने, ‘कोष चलाउन कार्यविधि मैले नै बनाएका हुँ ।’ उक्त कार्यविधि अनुसार एक महिलाले वार्षिक तीन प्रतिशत ब्याजदरमा बिना धितो ऋण लिइरहेको उनले बताए । ‘अहिले महिलाले किस्ता किस्तामा ऋण र ब्याज फिर्ता गरिरहनु भएको छ,’ उनले भने ।








प्रतिकृया दिनुहोस्