November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रूपन्देही स्वास्थ्य र शिक्षाको केन्द्र

भैरहवा– रूपन्देही शिक्षा र स्वास्थ्यको केन्द्र बन्दै गएको छ । अब्बल शिक्षाका लागि लुम्बिनी प्रदेशका जिल्लाबाट यहाँ पढ्न आउनेको संख्या बढिरहेको छ । प्रदेशमा नेपालगन्जसँगै रुपन्देहीको बुटवल र भैरहवामा स्तरीय स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । प्रत्येक वर्ष आधुनिक सुविधासहितका शैक्षिक र स्वास्थ्य संस्था सञ्चालनमा आइरहेका छन् ।

Advertisement

भैरहवामा सरकारी भीम अस्पताल उपचारको केन्द्र बनेको छ । उक्त अस्पतालमा प्रत्येक दिन स्वास्थ्य जाँच गर्नेको भीड लाग्छ । केही वर्षदेखि नयाँ भवनबाट सेवा प्रदान गरिरहेको सिद्धार्थनगर सिटी अस्पताल स्तरीय उपचारका लागि प्रशिद्ध बनिरहेको छ । सिद्धार्थनगर सिटी अस्पतालले बिशेषज्ञ सेवा थप गर्दै गुणस्तरीय उपचारलाई जोड दिएको छ ।

Advertisement

अस्पताल सफा र चिटिक्क भएकाले बिरामी र उनीहरुका कुरुवा सन्तुष्ट पाइन्छन् । अस्पतालले बिरामीलाई सेवाबारे जानकारी दिन र सहजीकरण गर्न दुइजना कर्मचारी राखेको छ । जसले गर्दा अस्पताल पुग्ने बिरामी र आफन्तले टिकट काट्नेदेखि चिकित्सकसम्म पुग्न भौतारिनु पर्दैन ।

यसबाहेक युनिभर्सल मेडिकल कलेजले वर्षौदेखि लुम्बिनी प्रदेशका साथै छिमेकी भारतीय नागरिकलाई समेत सेवा प्रदान गरिरहेको छ । भैरहवामा स्वास्थ्य क्लिनिक र अस्पताल खुल्ने क्रम तीब्र छ । बुटवलमा अहिले सरकारी स्तरको मेडिकल कलेज सञ्चालनका लागि पक्रिया सुरु भएको छ । धेरै वर्षदेखि बुटवलमा निजी क्षेत्रका अस्पतालले सुविधा दिँदै आएका छन् ।

रूपन्देहीले १० वर्षयता लुम्बिनी प्रदेशसँगै गण्डकी र कर्णाली प्रदेशका सर्वसाधरणको उपचारमा समेत योगदान दिँदै आएको छ । मुटु रोगीको उपचारदेखि जटिल प्रकृतिका शल्यक्रिया र उपचार बुटवलमै हुन्छन् । प्रदेश सरकारले लुम्बिनी अञ्चल अस्पताललाई स्तरोन्नती गर्दै सुविधायुक्त प्रादेशिक लुम्बिनी अस्पतालमा विस्तार गरेको छ । अहिले उक्त अस्पतालमा बिरामीको भीड हुन्छ ।

शिक्षा क्षेत्रमा रुपन्देही वर्षौदेखि अब्बल मानिँदै आएको छ । जिल्लामा स्तरीय सामुदायिक र निजी विद्यालयको संख्या धेरै छ । यहाँका सरकारी विद्यालयमा अध्ययनका लागि प्रवेश परीक्षा दिनुपर्छ । सरकारीले नीजि सरह सुविधा प्रदान गरिरहेका छन् । सरकारीले विद्यार्थी ओसार्न बस सञ्चालन गरेका छन् । आकर्षक पोशाक लागू गरेका छन् । पूर्वाधार बिकासमा जोड दिएका छन् । पछिल्ला वर्षहरुमा यहाँका विद्यालय संरचना, स्तरीय शिक्षा अन्य विद्यालयका लागि सिकाई थलोका रुपमा विकास भएका छन् । अध्ययन भ्रमणका लागि आउने क्रम बढेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले रूपन्देहीका सामुदायिक विद्यालय र अस्पतालले राजधानी बाहिरका शहर मध्ये नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए । यहाँको शिक्षा क्षेत्रमा देखिएको गुणस्तरले बुटवल तिब्र शहरीकरणमा अघि बढेको संकेत गरेको उनले बताए ।

लुम्बिनी क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको क्षेत्रमा निजी क्षेत्रबाट लगानीका काम गर्दै आएको भिजन लुम्बिनीका संचालक एवं युवा व्यवसायी जगत पोखरेलले संघीय सरकार र प्रदेश सरकारको सहकार्यले युवा उद्योगी व्यवसायीका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताए । शिक्षामा सरकारीस्तरबाट बुटवलको कालिका स्कूलले महत्वपूर्ण योगदान दिँदै आएको छ ।

कालिकामा थेगिनसक्नु विद्यार्थी छन् । यस्तै, निजी क्षेत्रका विद्यालयले पनि रुपन्देहीको शिक्षामा योगदान दिँदै आएका छन् । ‘शिक्षाकै लागि रुपन्देही छाडेर विद्यार्थी बाहिर जानु पर्दैन’, ‘भैरहवास्थित काशी नोबल एकेडेमीका सहायक प्राचार्य श्रीबहादुर रायमाझीले भने, ‘सबै किसिमको शिक्षा यहाँ लिन सकिन्छ । रुपन्देही शिक्षा क्षेत्रमा अब्बल छ ।’ रुपन्देहीको शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रबाट मात्रै खर्ब बढी लगानी भएको बताइन्छ ।