November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

माहुते पति मारिएपछि परिवार आर्थिक संकटमा

बर्दिया– यहाँस्थित बर्दिया निकुञ्जको मुख्यालय ठाकुरबाबा नगरपालिका–९, हात्तीसारकी ४६ वर्षीया जानकी थारु परिवारमा समस्या पर्यो कि घरभन्दा पश्चिमतर्फ निकुञ्ज हेर्दै टोलाउँछिन् । निकुञ्जसित हाँसो, खुसी र पीडा गाँसिएको छ । जीवनको सुरुवात जंगल छेउ भयो । बाल्यकाल, हासखेल जल, जंगल र जमिनमै बित्यो ।

Advertisement

उनका पती छोटकी थारु आठ वर्षअघि बर्दिया निकुञ्जका माहुत थिए । नजिकैको हात्तीसारस्थित पालुवा हात्तीको रेखदेख गर्थे । खेती किसानीबाट धानिन मुश्किल थियो । निकुञ्जमा माहुते जागीर मिलेपछि राहत पुग्यो । तर, परिवारको खुसी लामो समय टिकेन । ‘आफ्नै हात्तीले मार्यो,’ जानकीले भनिन्, ‘घाँस काट्न गएका बेला निकुञ्जको पटकन्नुवामा आफैले हुर्काएको हात्तीले हान्यो ।’ त्यसपछि छोरा–छोरी, बुहारी र नातीको जिम्मेवारी आफूमाथि आएको उनले बताइन् ।

Advertisement

‘उहाँको मृत्युपछि छोरालाई पढाउन सकिएन,’ उनले भनिन, ‘एसएलसी पास गरेर छाड्यो ।’ अहिले छोरा युवराज खेतीपाती गर्छन् । ‘छोरीले १२ कक्षा पास गरिन्,’ उनले भनिन्, ‘अझै पढ्छु भन्छे, खर्च छैन ।’ बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षाका लागि छोरी अपेच्छा भर्ना भएकी छन् । ‘४ हजार ५ सय कोठा भाडा छ,’ उनले सुनाइन्, ‘सबै गरेर महिनाको १० हजार खर्च पठाउनुपर्छ ।’

खर्च बेहोर्न सक्दैन भन्दा पनि छोरीले पढ्न जिद्धी गरिरहेको उनले सुनाइन् । पतिको मृत्युपछि क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँ मिलेको उनले बताइन् । ‘नगरपालिकाले एक लाख रुपैयाँ दियो,’ उनले भनिन्, ‘क्षतिपूर्तिको रकमबाट चार कोठाको पक्की घर हाले, अझै अधुरै छ ।’ परिवारसित १० कठ्ठा जमिन छ । ‘खेती गर्नुमात्रै हो,’ उनले भनिन्, ‘चित्तल, बँदेल दिउँसै निस्किन्छन्, तीनको गोठालो नलागी दाना बच्दैन ।’ दिनहुँ वन्यजन्तुसित लुकामारी चल्छ । आँखा झिमिक्क गर्यो कि बारीमा मृग, बँदेल आउँछन् । साँझ परेपछि हात्ती आउँछन् ।

घर नजिक कर्णालीको भंगालो खौराहा छ । ‘वर्षामा बाढी आउँछ,’ उनले भनिन्, ‘टोल डुब्छ ।’ जस्तोसुकै अप्ठयारोमा पनि वन्यजन्तु र निकुञ्जसित परिवारको गुनासो छैन । अहिले आफैं व्यन्यजन्तु संरक्षणमा क्रियाशील छन् । मध्यवर्ती अन्तर्गत वन्यजन्तु पीडित एकल महिला सञ्जाल सचिव छन् । ‘१९ जना एकल महिलाबाट सुरु गरेका थियौं,’ उनले भनिन्, ‘अहिले २९ जना पुग्यौं ।’ सञ्जालमा निकुञ्जको मध्यवर्तीक्षेत्र अन्तर्गत जिल्लाका वन्यजन्तु आक्रमणबाट पति गुमाएका महिला आवद्ध छन् ।

‘पहिले माछा मार्न, घाँस चोर्न, साग टिप्न जान्थ्यौं,’ उनले भनिन्, ‘अहिले जाँदैनौं, आफै संरक्षणमा लागेका छौं ।’ अहिले यसरी निकुञ्ज प्रवेश गर्नेलाई रोक्ने गरेको बताइन् । ‘बस्तीमा वन्यजन्तु आए जोगाउँछौं,’ उनले भनिन्, ‘अहिले समाजको चेतना फेरियो, वन्यजन्तु देख्दा रिस उठ्दैन ।’ ‘निकुञ्जका कारण श्रीमान् गुमाएकाले छोराछोरीलाई रोजगारी व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । ‘घर मूली मारिएपछि छोराको पढाइ टुट्यो,’ उनले भनिन्, ‘अहिले छोरीलाई कसरी पढाउने भन्ने पिर छ । सरकारले समस्या हेरिदिए हुन्थ्यो ।’