November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

भजन गाउँदै सडकमा फोहोर

भैरहवा– केही दिनअघि बिहानी हिँडाईका बेला । पूर्वी क्षितिजमा सूर्य उदाएकै थिएन । आजभोलि पाँच बजे नै उज्यालो हुने भएकाले सडकमा चहलपहल छाइसकेको थियो । ‘मर्निङ वाक’ गर्नेहरु ओहोरदोहोर गरिरहेका थिए । बिहान हिँड्ने धेरैको हातमा लौरो हुन्छ । कोही लौरी काखमा च्यापेर र त कोही टेकेर हिँडिरहेका थिए । युवादेखि बृद्ध एक्लाएक्लै र समूहमा हिँड्ने गरेकाले सिद्धार्थ नगरपालिकाको बर्मेली टोली–मेउडिहवा खण्डमा चहलपहल हुने गरेको छ । त्यसदिन पनि रौनक थियो ।

Advertisement

त्यसपछि उक्त खण्ड अन्तर्गत सानु डिपार्टमेन्टल स्टोर भन्दा पारिपट्टि आवारोड छिर्ने चोकमा फोहोरको थुप्रो थियो । फोहोरमा २–३ वटा गाई र केही कुकुर भुलेका थिए । सहर भरि चोकचोकमा कुकुरको बास भएकाले बिहान हिँड्ने धेरैले धपाउन र आफू सुरक्षित हुन लौरो बोक्ने गरेका हुन् । भैरहवामा रहेको मर्निङ वाक समूहका सदस्यको पोशाक समान छ । उक्त समूहका सदस्य सबैसित हातमा लौरो हुन्छ । त्यो लौरो कुकुर मात्र होइन सडकमा रहेका गाई र छाडा साँढे भगाउन काम लाग्ने समूहका एक सदस्यले बताए ।

Advertisement

‘लौरो अनिवार्य बोक्ने गरेका छौं,’ उनले भने, ‘कुकुरको भरोसा हुँदैन, बाटो बाटोमा झम्टिन आउँछन्, लौरो देखाएपछि भाग्छन् ।’ फेरि त्यहीँ दिनकै कुरा गरौं । मर्निङ वाकका क्रममा आवारोड चोकमा पुगेपछि फोहोर देखियो । सर्वसाधरण नाक थुनेर यात्रा गरिरहेका थिए । त्यहीँ बेला एक जना स्थानीय बोरा बोकेर फोहोरको थुप्रो तिर आइरहेका देखिए । कानमा एयरफोन ‘ठोसे’का उनी गुनगुनाउँदैं आइरहेका थिए । नजिक आएपछि उनले भजन गुनगुनाइरहेको प्रष्ट सुनियो । हुन त बिहानी समय, भजन गुनगुनाउनु, सकभर नाच्नु उत्तम हो । फोहार नजिक आए । त्यसपछि बोराबाट फोहोर बाटोमा खसाले । उनी त्यतिबेला पनि भजन गाइरहेका थिए । भगवानको नाममा भजन गुनगुनाउँदैं घरको फोहोर ल्याएर सडकमा फ्याँके । उनले फोहोर फ्याँकेको धेरै स्थानीयले हेरिरहेका थिए ।

अहिले बिहान घाम नचर्किदासम्म सिद्धार्थनगरका मुख्य चोक र चौराहामा यस्ता दृश्य सामान्य बनेका छन् । जहाँ सर्वसाधरणको धेरै आउजाउ हुन्छ, त्यहीँका चोकमा फोहोरका थुप्रा भेटिन्छन् । जब सर्वसाधरण आफ्नो कारोबार र व्यापारका लागि बजार आउँछन्, त्यतिबेला नगरपालिका अन्तर्गतका फोहोर संकलक सक्रिय देखिन्छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले ‘भैरहवालाई ब्युटिफूल नगर’ बनाउने भन्दै गत स्थानीय चुनावमा एउटा नारा चर्काएका थिए । सहरको सौन्दर्य बढाउन हरियालीदेखि सफाईका योजना ल्याउने बताएका थिए ।

उनको कार्यकाल सुरु भएको एक वर्ष अवधिमा यस्तो कुनै परिवर्तन नगरमा देखिएन । सहरबाट संकलन गरेको फोहोर अहिले पनि सिमावर्ती क्षेत्रमा रहेको डण्डा नदी छेउमा व्यवस्थापन भइरहेको छ । त्यहाँका बासिन्दाले दुर्गन्धले सताउने गरेको पीडा पोखिरहेका छन् । यता नगरका बासिन्दा ‘ब्युटिफूल नगरपालिका’ कहिले बन्छ ? मेयर साब भनेर प्रश्न सोधिरहेका छन् ।

मेयरले भने काम होइन्, कार्यक्रममा जाँदै ‘ब्युटिफूल’ नगर बनाउँछु भन्दै रमाइरहेका छन् । सम्झन लायक काम एक वर्षमा अवधिमा उनले केही नगरेको नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा बताउँछन् । मुख्य सडकदेखि गल्लीसम्म फोहोरको डंगुर हुन्छ, टाउको पोल्ने घाम लाग्दासम्म फोहोर सडकमै हुन्छ । भित्री गल्लीको अवस्था उस्तै छ ।