गोठाला जीवन: कहिले लेक, कहिले बेंसी यात्रा



रुकुम पूर्व– पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका ६५ बर्षिय शुक्रबहादुर पुन यतिबेला गाउँभन्दा माथि रहेको खर्क जुनाङमा छन् । ४३ वटा भेडा–च्याङग्रा र ११ वटा बाख्रासँग उनको अस्थाई गोठको बास छ । गत माघ ११ गते जुनाङ उक्लिएका उनि संगै अरु पनि धेरै गोठालाहरु आसपासमै छन् । जुनाङमै चाही उनिसंगै अरु ५ जना जति गोठाला आफ्ना भेडा–बाख्रासँग छन् । यसबाहेक तिज्याङ, मुखावाँ, कुप्ची, सदैपे, गुईबाङ र निम्कु आदी ठाउँहरु पनि यतिबेला भेडी गोठालाले भरिएका छन् ।
एक ठाउँबाट अर्को ठाउँ बसाइँ सरिरहने हिमाली भेगका यि गोठालाहरुको लेक–बेशीको यात्रा बर्षभरी नै चलिरहन्छ । काठको खाँबोमा जसोतसो अड्डिएको झै लाग्ने अस्थाइ गोठमा अडेस लागेर शुक्रबहादुुरले आफूहरुको बर्षभरीको यात्रा वृतान्त सुनाए । उनका अनुसार यस भेगका भेडा गोठालाको बेसीबाट लेकतर्फको यात्रा पुस १५ बाट सुरु गर्छन् । मैकोट गाउँमा रहेको मूल घरमा पुस १५ गते बिहान गोठालाको औपचारिक विदाई हुन्छ ।
आफूलाई चाहिने खानपान र लत्ताकपडाको भारी बाकेर भेडाको लावालस्करका पछी लागेर आफूहरु घरबाट निस्किने शुक्रबहादुरले सुनाए । भोडाको पाठोलाई सुम्सुम्याउँदै उनले भने, ‘मुलघरबाट गोठ उक्लिँदा टिकाटालो लगाएर विदा गर्ने चलन छ । लेकतिर केही अनर्थ नहोस् । गोठाला र भेडाहरु सबैलाई कुनै दःुख–विमार नलागोस् भनेर सुनपानीले मन्छिएर हामी विदाई हुन्छौ ।’
पुस १५ मा गाउँबाट ँिहडेका गोठाला माघ ११ सम्म रिझा, हिखर्क, खानेगोठ, हान्या र दुल्या लगाएतका ठाउँमा भेडाको चरण खोज्दै पुग्ने अर्का गोठाला बलबहादुर पुनले सुनाए । माघ ११ पछी अहिले रहेको ठाउँहरुमा आइपुग्ने बलबहादुरको भनाई छ । ‘त्यहाँ हामी चैत १४ सम्म बस्यौं,’ बलबहादुरले मुहार हसिलो पार्दै भने, ‘चैत १५ गते बेशी झरेका हौं ।’
करिब ३ महिनाको गोठको बसाई पछी चैत १५ मा बेशीमा रहेको मूल पुगेको उनले सुनाए । भेडाको बथान संगै हामी गोठाला पनि सकुशल बेशी झरेपछी घरमा चाडबाड आएजस्तो हुने कुरा बलबहादुरले सुनाए । उनले भने, ‘यो बेला भेडाको हेरचाह घरका अरु सदस्यले गर्छन् । हामी त आराम गर्छौै । मिठो–मसिनो खान्छौ ।’
यो बेला गोठालाहरु बैशाख पहिलो सातासम्म यहाँ बस्छन् । खानपान जुटाउँछन् । च्यातिएका कपडालत्ता मर्मत गर्छन् अनि आफन्त संग भेटेर सुख–दुःख साट्छन् । यो बेलामा एउटा महत्वपूर्ण काम हुन्छ त्यो हो, ‘जग्गा मल्याउने ।’ बलबहादुर यसलाई स्पस्ट पार्दै भन्छन्, ‘गाउँमा रहेका जग्गामा भेडाबाख्रा छोडिदिने । यिनको मलमुत्रले जग्गालाई मलिलो बनाउने ।’
जग्गा मल्याउने काम सकिएपछी वैशाखको पहिलो साता भेडाबाख्राका लागी चरन खोज्दै फेरी गोठतिरको यात्रा सुरु हुने मैकोटकी स्थानीय दिलमाया बुढा सुनाउँछिन् । ‘यो पटक चाहिँ गोठालाको यात्रा अलि लामो हुन्छ । अन्नपात, लुगालत्ता बाकेर गोठ जाने गोठालाहरु हिउँदमा मात्रै फर्किन्छन् ।’ उनी भन्छिन्, ‘करिब सात महिना पछी बेसी झर्ने गोठालाको विदाईमा बैशाख पहिलो साता सिंगो गाउँ नै जुट्छ । यसपटक गाउँले नै विदाई गरेको छ ।’
नयाँ बर्षपछी घरबाट निस्किएका गोठालाहरु अब भने पुस १५ मा मात्रै गाउँ फकिन्छन् । शुक्रबहादुरका अनुसार बैशाखे वनको पल्लवी घाँस खुवाउन एउटा टोली अहिले रहेकै ठाउँमा पुग्छ भने, अर्को टोली चाहिँ गुर्घाट, पुपाल, महाजेला, घुराह लगायतका बुकीहरुमा पुग्छ । ‘बर्षका धेरै दिन बिताउने यि खर्कहरु हाम्रा मुल खर्क हुन्’, उनी भन्छन्, ‘बैशाखमा आएपछी हामी असोजदेखी विस्तारै वेसीतिर ओरालो लाग्छौ र मंसिर १५ मा घर पुग्छौं ।’ असोजपछी बुकीमा हिउ पर्ने भएकाले तलतिर झर्ने गरेको गोठालाहरुको भनाई छ । मंसिर १५ देखी पुस १५ सम्म गाउँमै वस्ने बलहादुरले बताए । उनले भने, ‘पहिले–पहिले त हिउँदमा भेडा–च्याङग्रा चराउन रुकुम पश्चिम, प्युठान, रोल्पा र दाङ सम्मै पनि पुर्याउने गरिन्थ्यो । तर अब त अरु जिल्लातिर चरन पाउन मस्किल छ । यसकारण यतैयतै अलमलिन्छौ ।’
यसरी बर्षका १२ मास लेकवेशीको यात्रा गर्छन् रुकुम पूर्वका भेडी गोठालाहरु । आफूहरुको गोठालो दैनिकीबारे स–विस्तार बताएपछी लामो सास फेर्दै शुक्रबहादुर भन्छन्, ‘हाम्रो सम्पती भने पनि, घर परिवार भनेपनी यही भेडा–च्याङग्रा त हुन् । यसैको स्यहार अनि हेरचाह गर्दै दिन, महिना त के हिसाव भयो र जिन्दगी नै बित्यो ।’
भेडा र यसको ऊन बेचेर आम्दनी गर्ने गरेका यहाँका गोठालाहरु आफूहरुको दैनिकी भगवान् भरोसामा चलेको बताउँछन् । आफूले पालेका भोडा–बाख्राको स्वास नै आफूहरुको स्वासझै भएको भन्दै मैकोटका अर्का गोठाला कमेर पुन यिनैका पछी लागेर धन्नै आफ्नो ज्यान नै गएको तितो अनुभव सुनाउँछन् । ‘गतबर्ष निम्कुको लेखमा घाँस काट्न रुख चढेको बेला म लडेँ’, निन्याउरो अनुहार लगाउँदै उनी भन्छन्, ‘धन्न अरु गोठालाले बेलैमा थाहा पाएर घरसम्म पुर्याए । अहिले पनि जिउ दुख्छ । गोठालो जान सक्दिनँ ।’ यो त एउटा प्रतिनिधी घटना भएको भन्दै पुथाउत्तरगंगा–१ का वडाध्यक्ष विरमान विकले धेरै गोठालाहरु कोही रुखबाट त कोही भिरबाट लडेर गम्भिर घाईते हुने गरेको बताए ।

समयमै उपचार नपाउदाँ कयौको ज्यान समेत जाने गरेको भन्दै विकले भने, ‘कोही घाईते भयो भन ेपनि बाटोघाटो छैन । बोकेर अस्पताल सम्म लैजान नपाउँदै अथवा लैजादैगर्दा बाटोमै ज्यान जान्छ ।’ भेडाबाख्रा र च्याङग्राको जस्तै गाई अनि घोडा खच्चड पाल्ने गोठालाहरु पनि यो भेगमा थुप्रै भेट्न सकिन्छ । पुथाउत्तरगंगा–१० तक गाउँका विनपुरा बुढा यतिबेला गाउँमै छन् । तकगाउँबाट गाई–गोरुको लस्कर लिएर गाउँ नजिकैको पाखामा दिनभरी चराएर साँझ घर फर्किने आफूहरुको दैनिकी रहेको बताउँदै विनपुराले आफुहरु अगामी असार १३ गते वुकीतिर उक्लिने बताए । तकगाउँ देखी माथी खोदोला र गम्नाईमा करिब २ महिना गाई चराएपछी भदौको १५ गते स्याउ बगैचा भएको ठाउँ सरिप र रुझिबाङमा आउने विनपुराको भनाई छ । ‘यसपछी हामी असोज अन्तिमतिर दर, रापै र क्वाँ पुग्छौ । त्यसपछी कार्तिक पहिलो साता भाडकुना, सिपै हुदै मंसिरमा वेसीको वन खुल्छ र गाउँ झर्छौं ।’
तकसेरा र आसपासको वन खुलेपछी असारसम्म वेशीमै रहने गाई गोठालाहरुको दैनिकी भेडागोठालाहरुको भन्दा केही सहज हुने गरेको उनीहरु बताउँछन् । आफूले पालेका पशु–चौपायालाई घाँख खुवाउन र त्यसैलाई आम्दनी बनाएइरहेका रुकुम पूर्वको हिमाली भेगका किसानको यो प्रकारको कष्ठकर दैनिकीलाइ सहज बनाउन स्थानीय सरकारले बिशेष योजना बनाउने बताउँदैं पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले भने, ‘गोठालाहरुको स्वास्थ्य र सुरक्षाका साथै उनीहरुका घर परिवार र सन्ततीहरुको पढाई–लेखाई तथा अन्य आधारभूत आवश्यकताको परिपूर्तीमा बिशेष ध्यान दिन जरुरी छ । अब यो परम्परागत तरिकाले हुँदैन । यसलाई समयानुकुल बनाउनु पर्छ । त्यसका लागी हामी पहल थाल्छौ ।’








प्रतिकृया दिनुहोस्