November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रोजगारीसँगै सिंचाई सुविधाले खुशी

कपिलवस्तु– शारिरीक रुपमा अपाङ्गता भएका शुद्धोधन गाउँपालिका–३, पिपरहवाका श्रीपति पासी अहिले खुसी छन् । बाँया हातको कुमदेखि तल पट्टिको भाग गुमाएका उनको मजदुरी गर्न नपाउँदा चुलोचौको ठप्प थियो । फरक क्षमताका हुँदाहुँदै पनि अहिले ज्याकेट, गमबुट र पंजा लगाएर चलनचल्तीभन्दा धेरै ज्याला पाएर रोजगारी पाउँदा घरमा चुल्हो बल्न सहयोग पुग्दा खुसी भएका छन् । त्यत्तीमात्रै हैन् ३ कठ्ठा खेतमा सिंचाई पुगेर गहुँबाली राम्रो भएपछि प्रफुल्ल छन् ।

Advertisement

शुद्धोधन–३, असुरैनाकी नैनमती पासी पनि हेलमेट, ज्याकेट, पंजा र गमबुट लगाएर नहर सरसफाई र मर्मतमा खटिएकी छिन् । ‘काममा खटिँदा राम्रो ज्याला पाएकी छु,’ उनले भनिन्, ‘सुरक्षित तरिकाले काम गर्न पाउँदा आनन्दित बनेकी छिन् ।’ आफैले मर्मत गरेको कुलोबाट आफनै खेतमा सिंचाई पुगेर गहुँबाली सप्रिदा उत्तिकै खुसी बनेकी छिन् । शुद्धोधन गाउँपालिकाको लाइफलाइन मानिने भुतहा बाँधको नहर सरसफाई र मर्मतसंभार गरि पानी बग्न थालेपछि कृषक खुसी बनेका छन् ।

Advertisement

नहर सरसफाई भएर चिरिच्याट्ट बनेको छ । एकातिर नहर सरफाई गर्न रोजगारी र अर्को तर्फ आफैले मर्मत गरेको नहरबाट सिंचाई गर्ने सुविधा पाएपछि कृषकहरु दंग परेका छन् । नहरमा बालुवा, प्लास्टिक, फोहरको थुप्रो लागेर, पुरिएर र ठाउँठाउँमा टुटफुट भएर पानी बग्न छाडेको थियो ।

पंचालयकालदेखि नै नन्दनगर नजिक शुद्धोधन १ मा बन्न थालेको भुतहा बाध भत्किँदै बन्दै झण्डै दुई दशकपछि ०७४ मा आएर बनेको थियो । १० करोड लागतमा ७ सय हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउन बनाइएको बाँध ४ वर्ष नपुग्दै जीर्ण बनेको थियो । मर्मत सम्भारको अभावमा नहरमा पानी बग्न छाडेको थियो । ठाउँठाउँमा टुटफुट भई पानी बाहिर बगेर खेर गइरहेको थियो । करोडौंको लगानी खेर गइरहेको र घरआँगन अघि रहेको कुलोबाट सिंचाई गर्न नपाएको कृषकको दुःख पीडा देख्दा केही गर्न पर्छ भन्ने लागेर मर्मत संभारको योजना बनाएको लिडो नेपालका अध्यक्ष अतहर कमालले बताए ।

कोभिड काकारण रोजगारी गुमेको थियो । गरिब विपन्न प्रभावित स्थानीयलाई नै सहभागी गराउन सके उनीहरुको दैनिकी सहज बन्ने र मर्मत सम्भार दिगो हुने हुँदा नहरका उपभोत्ताबाटै मर्मत सम्भार र व्यवस्थापन गराइएको थियो । कामका लागि नगद कार्यक्रम योजना बनाई एक सय जना मजदुरले २० दिन काम गरेर नहर सरसफाई गरेका छन् । उनीहरुलाई जिल्ला दररेट भन्दा बढी दैनिक ७ सयका दरले ज्याला दिइएको छ । उनीहरुले १४ हजार एक मुस्ट ज्याला पाएका छन् । ज्याला मजदुरकै नाममा बैंक खाता खोलेर पठाइएको छ । मजदुरको पहुँच बैंकसम्म पुग्दा पनि उनीहरु खुसी बनेका छन् ।

शुद्धोधन गाउँपालिकाका एक सय कोभिड संक्रमण प्रभावित श्रमिक र मजदुरलाई कोभिड जिविकोपार्जन पुनर्लाभ सहयोग परियोजनामा कामका लागि नगद कार्यक्रम अन्तर्गत प्रति व्यक्ति २० श्रम दिन बराबरको रोजगारी दिइएको हो । भुतहा बाधदेखि भारतको सीमा जोडिएको हथिहवासम्मको ७ किमि मूल नहर सरसफाई गरिएको छ । उक्त नहर दुईदेखि तीन मिटर चौडा छ । त्यस्तै नन्दनगरदेखि सिसहनियासम्म ३ किमि सहायक नहर पनि सरसफाई गरिएको छ । यो नहर एक मिटर चौडा छ ।

दुबै नहरमा जमिनको भागमाथी १० सेन्टीमिटरदेखि एक मिटरसम्मका फोहर, माटो सरसफाई गरेर सफा र चिटिक्कको बनाइएको छ । भत्किएको डिललाई मर्मत गरिएको छ । मर्मतपछि नहरमा सललल पानी बग्न थालेको देख्दा कर्महवाका कृषक विश्वम्भर चाई खुसी बनेका छन् । ‘१९ विहगामा गहुँ लगाएको थिए,’ उनले भने्, ‘सिंचाई अभावमा बाली सप्रिन सकेको थिएन् ।’ अहिले नहरमा पानी बगेको देख्दा सपना जस्तो लागेको छ । ‘त्यही पानी खेतमा पुग्दा गहुँ हर्लक्क बढेको देख्दा खुसीको सीमा छैन् । अब ९० क्विन्टल गहुँ फल्छ । ४ लाख ५० हजार कमाई हुने भएपछि योजना बनाउन थालिसकेको छु’, उनले भने ।

मजदुरको कामलाई सुरक्षित बनाउन सबैलाई हेल्मेट, बुट, ग्लोब्स र ज्याकेट लगायतका सुरक्षा सामाग्री दिइएको छ । त्यस्तै उनीहरुलाई कामलाई ब्यवस्थित गर्न हसिया, कोदालो र बेल्चा पनि दिइएको थियो । ती सबै सामग्री चुलौचौको सहज बनाउन उनीहरुलाई निःशुल्क प्रदान गरिएको छ । एक अपाङग, ६ महिला र ९४ पुरुष श्रमिक काममा खटिएका थिए । उनीहरु सबै उक्त सिंचाई योजनाका उपभोक्ता हुन् । उनीहरुको कामपछि गाउँपालिकाका चार वडाको ३० गाउँका कृषक लाभान्वित भएको कार्यक्रमका इञ्जिनियर राजु यादवले बताए । ‘दुई वर्ष यता सिंचाई रोकिएको थियो,’ स्थानीय जीतबहादुर यादवले भने्, ‘नहर सफा गर्दा रोजगारी पनि पाए र सिंचाई सुविधाले निरन्तरता पाउँदा निक्कै खुसी छु ।’ बाँधदेखि सीमासँगै बाहै्रमासे पानीको बहाब पुग्ने बनेको हुँदा यसले धेरै जना लाभान्वित हुने उनले बताए ।