सालझण्डी–ढोरपाटन सडक निर्माण सुस्त



भैरहवा– मुलुकको एकमात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटनमा शिकार खेल्न आउजाउ गर्ने विदेशी पर्यटकलाई सहजतासँगै पहाडी जिल्लाको ग्रामीण भेगलाई तराइसँग पहुँच पुर्याउने उद्देश्यले शुरु भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक सुस्त गतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएको १३ वर्षसम्म २५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।
उक्त सडकको निर्माण २०६६ सालबाट सुरु गरिएको थियो । १ सय ९७ किलोमिटर लम्बाई भएको सडकको १८ किलोमिटर मात्रै पिच भएको छ । अर्घाखाँची सदरमुकामको चुत्रावेशी बजार क्षेत्रमा विवाद भएपछि ट्रयाक खुल्न सकेको छैन । अहिलेसम्म २ अर्ब ७० करोड रुपैयाँ लगानी भैसकेको छ । १ सय ९७ किमी मध्ये सालझण्डीको कञ्चनखोला ५ किमी र अर्घाखाँचीमा १४ किमी सडक पिच भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाले जनाएको छ । चुत्रावेशीको बजार क्षेत्रको करिब एक किलोमिटर बाहेक अरु सबैतिर ट्रयाक खुलेको छ ।
रुपन्देहीको सालझण्डी क्षेत्रमा ५ किमी, पाल्पाको छहरा–खुर्साने–ढुंग्रीखोला, अर्घाखाँचीको पाणिनि र मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिका क्षेत्र, गुल्मीको मदाने र मालिका गाउँपालिका, बाग्लुङको बडिगाड र निसीखोला गाउँपालिका सहित ढोरपाटनसम्म ग्रामीण बस्तीलाई समेट्छ । ढोरपाटनदेखि सालझण्डीसम्म यात्रा गर्दा तराई, पहाड र हिमालको विविधता देखाउँछ । जहाँ अधिकांश ग्रामीण बस्तीसँग साक्षत्कार हुन्छ । सुन्दर पहाडका बस्ती, मनोरम दृश्य, तराइको भूगोल र हिमालका दृश्यवालोकनले मोहित बनाउँछ । समुन्द्री सतहदेखि ४ सय २९ सय ५० मिटर उचाई छ ।
‘रुपन्देहीको सालझण्डीदेखि पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ हुँदै ढोरपाटनसम्म आउजाउ गर्दा मनोरम दृश्य देख्दा रमाइलो नै हुन्छ,’ मालारानी गाउँपालिकाका पूर्वअध्यक्ष बालकृष्ण आचार्यले भने, ‘यो पर्यटकीय र आर्थिक समृद्धिको सडक पनि हो ।’ गाउँमा खर, ढुंगा र जस्तापाताले छाएको कच्ची र पक्की घर, गाउँबस्ती, पाखापखेरा र खेतबारीमा खेतीपाति देखिन्छ । सडक पुरा भएर गाडी चल्न थालेपछि ढोरपाटन शिकार आरक्षणका लागि यही बाटो आउजाउ गर्ने र डाँडाकाँडामा रिसोर्ट खुल्ने, कृषि उद्यम विस्तार हुने र धेरै युवा कृषि, पर्यटन उद्यमबाट स्वरोजगार बन्ने आशा रहेको आचार्यले बताए ।
पटैटी, मैदानका स्थानीयलाई बुटवल आउजाउ गर्न पाल्पा तानसेनको बाटो हिँड्नु पर्दा भाडा महंगो, बाटो अप्ठयारो र समय धेरै लाग्थ्यो । ढोरपाटन भएपछि गाउँमा उत्पादन भएको तरकारी आफै बुटवल, सालझण्डी बजार लगेर बिक्री गरेर आवश्यक सामान पनि ल्याएर बेलुका आइपुगिने मैदानका सामाजिक अगुवा टोपलाल गैरेले बताए । ‘प्रचार गरिए जस्तो गरी त बाटो बनेको छैन, ग्राभेल गरेको पनि भत्केको छ,’ उनले भने, ‘भविष्यमा बाटो सबै पिच होला भन्ने आशा छ । अहिले कच्चीबाटो पटैटी–सालझण्डी आउजाउ हुन्छ, गाउँमा कृषि उत्पादन बढ्ेको छ ।’
तराइसँग नजिक भएकाले गर्मी छल्न पहाड आउने पर्यटनले डाँडाकाँडा भरिभराउन हुने र यहाँ रिसोर्ट खुल्नेछन् । कृषि उत्पादन, दूध, खसीबोका उत्पादनमा वृद्धि हुँदा बसाइँसराई रोकिने र युवा गाउँमै स्वरोजगार हुने आशा पलाएको गैरेले बताए । ‘मैदान र पटैटीवासीलाई यातायातको पहुँचले धेरै लाभ भएको छ,’ उनले भने, ‘उर्वभरभूमि भएकाले अहिल्यैदेखि कृषि उत्पादनतिर युवा लागेका छन् । राम्रो जग्गा रिसोर्ट खोल्न र कृषि गर्न किनबेच भैसकेको छ, यो सडक पुरा भएर नियमित गाडी चल्दा यस क्षेत्र आर्थिक रुपमा कायपलट बन्न भन्ने आशा गरेका छौं ।’
गुल्मीको पुर्काेदह, सिर्नेनी, मदाने लगायतका बस्तीबाट अहिले बजार गर्न अर्घाखाँची सदरमुकाम आउजाउ गर्छन् । तम्घास भन्दा सन्धिखर्क दुरीका हिसाबले धेरै नजिक छ । ढोरपाटन बाटोमा गाडी चलेपछि तम्घास, पाल्पाबाट भन्दा यतैबाट धेरै छोटो, सुरक्षित र सहज हुने पुर्काेटदहका स्थानीय थम्मन कुँवरले बताए । बाग्लुङका स्थानीय पनि ढोरपाटन छोटो बाटो उपयोग गरेर बुटवल, काठमाडौ आउजाउ गर्छन् । ‘ढोरपाटन सडकको असपास क्षेत्रमा जग्गाको महत्व बढेको छ, रिसोर्टको लागि डाँडाकाँडा बुकिङ भैसकेका छन्,’ उनले भने, ‘ढोरपाटन शिकार आरक्षण पुग्ने विदेशी र स्वदेशी पर्यटन यात्रा गर्दा बास बस्ने, खाजा खुवाउने ठाउँमा रिसोर्ट सञ्चालन हुँदा यहाँ कृषि उत्पादनले पनि युवालाई रोजगारी दिनेछ । पर्यटकीय मात्रै नभएर ग्रामीण भेगमा तराई र काठमाडौसम्म सहज पहुँच पुर्याउन हामीलाई ठूलो मद्दत पुग्छ ।’
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीकोे सालझण्डीबाट ५ किमी तराइको भुगोल अवलोकन गर्न सकिन्छ । पहाडमा पाल्पाको खुर्साने, छहरा, ढुंगीखोला क्षेत्र बस्ती र जंगल छ । अर्घाखाँचीको पटैटीमा घना बस्ती छ । यहाँबाट करिब १० किमी पूर्वमा संस्कृत व्याकरणको उद्गम थालो पाणिनि तपोभूमी रहेको छ । पटैटी डाँडाबाट ओरालो लागेपछि मैदान र पालीको बीच तलपट्टी पाणिनि गाउँपालिकाको केन्द्र दुर्गाफाँट रहेको छ । पाणिनिका स्थानीय यहीबाटो हुँदै सालझण्डीबाट बुटवल र तराई आउजाउ गर्छन् । बस, जिप, ट्रक दैनिक चल्छन् ।
बलेवाङ हुँदै सदरमुकाम सन्धिखर्क व्यवस्थित बजार छ । चालु आर्थिक वर्ष सडक निर्माणको लागि ४० करोड रुपैयाँ बजेट छ । जसबाट कञ्चनखोला–खुर्साने १३ किमी, खुर्सार्ने देखि अर्घाखाँचीको मैदानसम्म २२ किमी सडक निर्माण गर्ने लक्ष्य छ । पुर्काेटदह–बाझकटेरी–बुर्तीवाङसम्म ठेक्का हुँदैछ । यसवर्ष बजेट थोरै भएको आयोजनाले जनाएको छ ।








प्रतिकृया दिनुहोस्