कक्रक्क ठूला योजना



भैरहवा– सरकारी उदासिनताले रुपन्देहीमा निर्माण सम्पन्न भएका गौरवका तथा ठूला आयोजना पूर्ण क्षमतामा संचालनमा आउन सकेका छैनन् । अर्बौं लगानी भएका योजना संचालनमा सरकारको कुनै ठोस नीति छैन । योजना ल्याउने, बनाउने र यत्तिकै थन्क्याउने सरकारी नीतिले अर्बौं लगानी भएका योजना बालुवामा पानी हाले सरह भएका छन् ।
ठूला योजनालाई लक्षित गरेर लगानी गरेका व्यवसायी पनि निराश छन् । ‘योजना बनाउने तर संचलन राम्रोसँग नगर्ने सरकारको प्रवृत्ति नै भयो’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने, ‘यसको एउटा ज्वलन्त उदाहरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो ।’ उनका अनुसार विमानस्थललाई लक्षित गरेर व्यवसायीले आधा खर्ब लगानी यस क्षेत्रमा गरेका छन् । तर, विमानस्थल पूर्णक्षमतामा संचालन नहुँदा निजी क्षेत्रको लगानी जोखिममा छ ।
विमानस्थल त उदाहरण मात्रै हो । रुपन्देहीमा करोडौं, अर्बौं लगानी भएर निर्माण गरिएका धेरै योजना संचालनमा नआउँदा अलपत्र छन् । यसले राज्यले योजना बनाउने तर कार्यान्वयन र संचालन गर्न नसक्ने विगतदेखिको वास्तविकतालाई पुनः मलजल गरेको छ । लुम्बिनी प्रदेशकै आर्थिक हबको रुपमा विकास गर्ने भन्दै रुपन्देहीमा अर्बौं लगानी गरेर आयोजना निर्माण गरिएको छ । भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर बर्सेनि यहाँ लगानी थपिँदो छ ।
रुपन्देहीमासरकारी लगानीसँगै निजी क्षेत्रको लागानी पनि उल्लेख्य रुपमा छ । तर, यस लगानीबाट सरकारले प्रतिफल उठाउनतर्फ सोच्न नसक्दा अर्बौं रुपैयाँ वालुवामा पानी जस्तै भएको छ । ४० अर्ब रूपैयाँ खर्चेर भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन जस्तै छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बनेको विमानस्थलको क्षमता दैनिक ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने छ । तर, आठ वर्ष लगाएर बनेको विमानस्थलमा अहिले दैनिक एउटा पनि अन्तर्राष्ट्रिय उडान नियमित छैन ।
गएको वैशाखमा ठूलो तामझामका साथ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका विमानस्थलको प्रतिमहिना दुई करोड प्रतिमहिना खर्च छ । दैनिक ५ वटा अन्तर्राष्ट्रिय उडान भए मात्र सञ्चालन खर्च धान्न सकिने अवस्था नभए सञ्चालन खर्च पनि उठ्दैन । ‘अहिले विमानस्थल घाटामै संचालित छ तर कालान्तरमा यसले मुलुकलाई धेरै नाफा दिनेछ’, विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भने, ‘विस्तारै अन्य विमान कम्पनीले पनि यहाँबाट उडान भर्न चासो दिइरहेका छन्, अहिले विमानस्थल पूर्ण क्षमतामा नचले पनि कालान्तरमा यसको भविष्य निकै राम्रो छ । निजी क्षेत्र र सरकार दुबैले यसबाट राम्रो फाइदा लिने पक्का छ ।’
विमानस्थलमा आउने विमानहरूले भारतीय आकाश प्रयोग गर्नुपर्छ । भारतले रूट अनुमति नदिनुका साथै विमानस्थलमा चाहिने उपयुक्त उपकरण जडानमा समेत सहजीकरण गरिदिएको छैन । अहिले कुवेतको जजिरा एयरले सातामा तीन उाडन भर्नुबाहेक विमानस्थल सुनसान छ । यता, उत्पादनको ६० प्रतिशत निर्यात गर्ने उद्देश्यसहित रूपन्देहीको तत्कालीन बगाहा गाविस हाल रोहिणी गाउँपालिकामा सञ्चालनमा आएको विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण क्षमतामा नचलेपछि भवनहरू जीर्ण बन्न थालेका छन् । राज्यले सेज निर्माण गर्न ८५ करोड रूपैयाँ खर्चिएको थियो ।
राज्यको उदासिनताकै कारण सेज अझै पूर्ण क्षमतामा चल्न सकेको छैन । सबै किसिमका सेवा उपलब्ध गराएर मुलुकबाट निर्यात प्रबद्र्धन गर्ने भनिएको सेजमा कुनै सुविधा नै अझै उपलब्ध हुन सकेको छैन । यसैकारण पनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । लगानीकर्ता आकर्षित नहुँदा यहाँको लगानी पनि बालुवामा पानी हाले सरह नै भएको छ । केही उद्योगहरु अहिले निर्माण त भएका छन्, तर ती उद्योगहरुलाई पनि सरकारले सुविधा उपलब्ध गराउन सकेको छैन ।
बुटवलमा रहेको, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि बन्यो तर संचालन हुन सकेको छैन । सम्मेलन केन्द्र सञ्चालन कार्यविधिलाई पूर्णरूप दिन नसक्दा अप्ठ्यारो अवस्था सिर्जना भएको छ । आयोजना बन्ने तर सञ्चालन र प्रयोग हुन नसक्दा यस क्षेत्रका व्यवसायीहरु भने चिन्तित बनेका छन् । यहाँ एक अर्ब लगानी गरिएको छ ।
विश्व शान्तिभूमि लुम्बिनीमा पाँच हजार मानिसहरू एकसाथ अट्न सक्ने क्षमताको बहुउपयोगी ध्यान केन्द्र बनेको छ । यो पनि त्यती प्रयोगमा छैन । झण्डै ६४ करोड लगानीमा निर्माण भएको ध्यान केन्द्र कसरी सञ्चालन गर्ने भनेर सञ्चालन कार्यविधि बनेको छैन । यसले गर्दा यसबाट लुम्बिनी विकास कोष र मुलुकले लाभ लिन सकेको छैन । बुटवल र लुम्बिनीको सम्मेलन केन्द्र बढीमा महिनामा एकपटक चल्छन् । त्यसपछि २९ दिन सुनसान हुन्छन् ।
यी केही उदाहरण हुन् । रुपन्देहीमा बन्दै गरेका आयोजनाहरु पनि थुपै्र छन् । यही बनिसकेका र बनिरहेका आयोजना देखेर यस क्षेत्रमा निजी क्षेत्रले समेत ठुलो लगानी गरिरहेको छ । तर, बनिसकेका अयोजनाहरु पनि सञ्चालन नहुँदा आफ्नो लगानी डुब्ने चिन्तामा लगानीकर्ताहरु छन् । लुम्बिनीमा आर्थिक भविष्य उज्यालो देखेर राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी गरिरहेको सरकारले लगानीको प्रतिफल प्राप्ति गर्नतर्फ भने अझै सोच्न सकेको देखिँदैन । निजी क्षेत्रबाट पटकपटक सरकारको ध्यानकर्षण हुँदासमेत तीन तहका सरकार तातेको पाइँदैन । जसले गर्दा राज्यले प्रतिफल उठाउन सकेको छैन ।








प्रतिकृया दिनुहोस्