November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

नयाँ वर्ष–२०८० : घुम्नै पर्ने लुम्बिनी प्रदेशका पाँच गन्तव्य

भैरहवा– सबै गन्तव्यको पूर्वाधार विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न सके लुम्बिनी प्रदेशले पर्यटनबाटै समृद्धि हासिल गर्न सक्ने धेरै आधार छन् । यो प्रदेशमा विश्व सम्पदा सूचिमा सुचिकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि राष्ट्रिय निकुञ्ज र ढोरपाटक सिकार आरक्षण समेत छन् । ‘हामीले लुम्बिनीलाई केन्द्रमा राखेर सबै पर्यटकीय स्थललाई जोड्न सक्यौं र विकास गर्यौ भने नागरिकको जीवनस्तर त उकासिन्छ नै प्रदेश समृद्ध बन्छ’, सिद्धार्थ होटल एशोसिएसनका बरिष्ठ उपाध्यक्ष किशोर जोशी भन्छन्’, ‘हामीले ठाउँ देख्यौं, त्यसलाई चिनेर पूर्वाधार विकास, प्रवद्र्धन र प्रचारप्रसार गर्न सकेनौं । एकीकृतरुपमा विकास गर्न नसक्दा प्रदेशका धेरै पर्यटकीय गन्तव्यमा पर्यटक पुग्न सकेका छैनन् ।’

Advertisement

उनकै भनाईलाई आधार मान्ने हो भने प्रदेश भित्रका धेरै गन्तव्य पूर्वाधार विकासबाट टाढा छन् । प्रचारप्रसार छैन । प्रवद्र्धन साँगुरिएको छ । रानिमहल, बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्वारी, सुपादेउराली, बाँके निकुञ्ज लगायत प्रदेशका धेरै गन्तव्यको प्रबद्र्धनमा खासै चासो दिइएको छैन । हिन्दू धर्मावलम्बीको प्रमुख गन्तव्य मध्येको प्यूठानको स्वर्गद्वारीमा अझै राम्रो पूर्वाधार विकास हुन सकेको छैन । कच्ची र खाल्डाखुल्डी सडकले हिउँदमा केही पर्यटक पुगे पनि वर्खामा पर्यटक पुग्नै मुस्किल छ ।

Advertisement

‘सडक संजालकै कारण यहाँ चाहेजति पर्यटक आउन सकेका छैनन्, सडक मात्रै राम्रो बनाउने हो भने दोब्बर पर्यटक भित्रिन्छन्’, मन्दिरका पुजारी बाबुराम न्यौपानेले भने । प्रदेशमा राजा शुद्धोधनको दरबार तिलौराकोट, बुद्ध मावली देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम, गोटीहवा, निग्लिहवा, जितगढी किल्ला, मणिमुकुन्द उद्यान, रिडीधाम, गुरिल्ला पदमार्ग, धारापानी र पाल्पा दरबार, गौमुखी, जगदीशपुर ताललगायत थुप्रै पवित्र धार्मिक तथा ऐतिहासिक सम्पदाहरुका साथै बर्दिया, बाँके राष्ट्रिय निकुञ्ज, जलजला संरक्षित क्षेत्र, ढोरपाटन शिकार आरक्ष जस्ता प्रकृतिका मनोरम दृष्यले सजिएका स्थल छन् । यस्तै, भैरवस्थान, गुल्मीको रिडी, अर्घाखाँचीको सुपादेउराली, चरिंगे दह, भोटेदह, चमेरे गुफा, बराह मन्दिरलगायतका पर्यटकीय गन्तब्यहरु प्रशस्त छन् । यी गन्तव्यहरुलाई लुम्बिनीसँग जोडेर यहाँ आउने पर्यटकलाई ती स्थान र त्यहाँ पुग्ने पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाउन सकेमात्रै पर्यटन क्षेत्रले फड्को मार्ने व्यवसायी बताउँछन् ।

लुम्बिनी
लुम्बिनी प्रदेशको मात्रै नभई मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो । बुद्ध जन्मस्थल भएकाले यो धार्मिक पर्यटनसँगै शान्तिमार्गी केन्द्र हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र उत्कृष्ट स्थल मानिन्छ । गौतम बुद्धको बारेमा सबैकुरा थाहा पाउन यहाँ आएपछि सहजै सकिन्छ । लुम्बिनी सडक तथा हवाई मार्गबाट सहजै पुगिन्छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरु एकपटक जसरी पनि लुम्बिनी पुग्नु पर्छ भन्ने मान्यताका साथ यहाँ घुम्न आउने गर्दछन् । कोरोना अघि यहाँ वार्षिक १६ लाखको हाराहारी आन्तरिक तथा बाह्य पर्यटक आउँथे । प्रदेश राजधानी दाङबाट करिब एक सय किलोमिटर दूरीमा लुम्बिनी पर्छ ।

यहाँ पवित्र मायादेवी मन्दिर, विभिन्न गुम्बा र बुद्ध मूर्ति देख्न सकिन्छ । पवित्र उद्यान भित्र बनेको केन्द्रिय नहरमा बोटिङको व्यवस्था छ । यहाँ आकर्षक बगैँचा समेत छ । बाह्रैमास बलिरहने शान्ति दीपले यहाँको वातावरणलाई झनै मनमोहक बनाएको छ । सरकारले लुम्बिनीको एकीकृत विकास गर्ने योजना अघि सारेको छ । बृहत्तर लुम्बिनीको एकीकृत विकासबाटै पर्यटक भित्र्याउने योजना सरकारको छ । तर, त्यो अझै पूरा हुन सकेको छैन । लुम्बिनीको सामिप्यतामा गौतमबुद्ध विमानस्थल छ । यसले यात्रालाई अझै सहज बनाइदिएको छ । लुम्बिनी पुग्न चारैतर्फ फराकिला सडक छन् ।

स्वर्गद्वारी
धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी प्यूठान जिल्लामा पर्छ । यहाँ नपुग्ने हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुँदैन भन्ने विश्वास गरिन्छ । प्रदेश राजधानी दाङबाट करिब ८५ किलोमीटरको दूरी यात्रापछि पुग्न सकिन्छ । यो अग्लो लेकमा पर्छ । परापूर्वक कालमा ऋषिमुनिहरुले यसै ठाउँमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्वारी राखिएको किम्बदन्ती छ । यो नेपालकै पवित्र धामहरु मध्यको एक धाम पर्छ । यहाँ रहेका मठमन्दिरमा पूजाआजा गरिन्छ ।

‘यहाँ आउने जो कोहीलाई स्वर्गद्वारी प्रभूका पाइला, गुफा र मठमन्दिरले मनै लोभ्याउँछ । यहाँबाट हिमशृङ्खला समेत देख्न सकिने भएकाले यो निकै महत्वपूर्ण क्षेत्र हो’, बाबुरा पुजारी न्यौपानेले भने । खासगरी यो धाम भारतीय पर्यटकको आकर्षक स्थल मानिन्छ । सडकमार्ग सहज भए यहाँ वार्षिक १० लाख पर्यटक भित्र्याउन सकिने बताइन्छ । यहाँ अहिले पनि आन्तरिक तथा बाह्य गरी करिब २ लाखको हाराहारीमा पर्यटक पुग्छन् । खासगरी बैशाख र कार्तिक पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्छ । यस्तै, प्यूठानमा प्रत्येक वर्ष माघ १ गते मेला लाग्ने अर्को धार्मिक स्थल गौमुखी पनि छ । यहाँ रहेको गुफामा नुहाउन धेरै पुग्छन् । यहाँ नुहाएर वर मागे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
पर्यापर्यटन तथा जंगलसफारीका लागि महत्वपूर्ण मानिने यो प्रदेशको सबैभन्दा ठूलो निकुञ्ज हो । बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आकर्षण मानिन्छ । यहाँ विगतमा वार्षिक ५० हजार पर्यटक पुगेको तथ्यांक छ । कर्णाली र बबई नदीको केही भाग यस निकुञ्जमा पर्छ । यहाँ ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरु भएको बताइन्छ । यस निकुञ्चमा पाटे बाघ, एक सिंगे गैंडा, जरायो, चित्तल, चितुवा, घोडगधा, लगुना, बाह्रसिङ्गे र जंगली हात्तीलगायत छन् । जलचरहरुमा घडियाल गोही, मगर गोही, सोंस र थरिथरीका माछा छन् ।

पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ । ‘जंगली जनावर हेर्न, चराचुरुङ्गीको आवाजसँग रमाउने विदेशीहरु यहाँ बढी आउँछन्’, पर्यटन व्यवसायी रामजी ज्ञवाली भन्छन्, ‘सरकारले विशेष ध्यान दिने हो र लुम्बिनी आउने पर्यटकलाई एकपटक घुमाउन सक्ने हो भने यो निकुञ्ज नेपालकै मुख्य गन्तव्य बन्न सक्छ ।’ पर्यटकको बसाईँ लम्ब्याउन यो निकुञ्ज निकै महत्वपूर्ण मान्छि । यहाँ आउने पर्यटक कम्तिमा २ दुई दिन यतै भुल्छन् । ‘हामीले पर्यटकको बसाईँ थोरै भयो भन्छौं तर यो निकुञ्जको प्रबद्र्धनमा खासै ध्यान दिएका छैनौं’, उनले भने, ‘पर्यटकले नयाँ कुरा हेर्न खोज्छ, त्यसैअनुसारको आतिथ्यता चाहिन्छ, त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँका होटल उत्कृष्ट ठाउँ हुन् ।’ प्रदेश राजधानी भालुबाङबाट करिब २ सय किमीमा निकुञ्ज पर्छ ।

बाँके राष्ट्रिय निकुञ्ज
बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्ग किलोमीटर क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा इकोसिष्टम, वनस्पति प्रजाति, विभिन्न प्रजातिका स्तनधारीहरु, विभिन्न प्रकारका चरा, माछा तथा सरीसृप तगायतका उभयचरहरु छन् । यो निकुञ्ज पर्या पर्यटन तथा एक पर्यटकीय स्थल हो । पूर्वमा शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्गमा रहेको निकुञ्जमा पाटेबाघ तथा हात्तीको बासस्थान पर्याप्त छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको यो निकुञ्जमा ठूला वन्यजन्तुहरुको बासस्थान समेत छ । यहाँ प्रचारप्रसारको अभावमा न्यून पर्यटक पुग्ने गरेका छन् । यदि सरकारले यहाँको प्रबद्र्धन गरी लुम्बिनी तथा अन्य निकुञ्ज र धार्मिक स्थलसँग जोडेर विकास गरेमा पर्यटक अधिक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन् । प्रदेश राजधानीबाट एक सय २० किलोमिटरमा निकुञ्ज पर्छ ।

रानीमहल
पाल्पामा रहेको रानीमहल नेपालको ताजमहल भनेर चिनिन्छ । सफा, स्वच्छ वातावरण र जताततै हरियालीले यहाँ पुग्ने जोकोहीको मनै लोभ्याउँछ । कालीगण्डकी र बराङ्दी नदीको संगमस्थलमा अवस्थित रानीमहलमा चल्ने सिरसिरे हावाले झनै आनन्द थपिदिन्छ । यहाँ खासगरी आन्तरिक पर्यटकको आकर्षण छ । पूर्वाधार अभाममा पर्यटक पुग्न सकेका छैनन् । यहाँ पुग्न सडकमार्ग अहिले सह जबनेको छ । चारैतिर पहाडले घेरिएको र नदीको किनारमा निर्मित यो रानीमहल भारतको ताजमहल भन्दा निकै राम्रो भएको दावी गरिन्छ । मानव निर्मित रानीमहल प्रकृतिले सजिएको सुन्दर बगैँचासरी छ । यो ठाउँमा प्रेमको प्रतीक पनि मान्छि । यसको नजिकै रहेको श्रीनगरले पनि पर्यटकको मन तान्ने गरेको छ । वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ«े्र, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । प्रदेश राजधानीबाट रानीमाहल १ सय ७० किलोमिटरको दूरीमा पर्छ ।