November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

डाँडैमा बल्कोट पौवा

भैरहवा- अर्घाखाँचीस्थित बल्कोट पौवा पर्यटकीय गन्तव्य बनेको छ । लामो समय अलपत्र रहेको थियो । पछिल्लो पटक स्थानीय सरकारले यसको मर्मत र रेखदेख गरेपछि आकर्षक बनेको छ । अहिले यहाँ घुमफिर गर्ने बढेका छन् । पुरातात्विक स्थल भएकाले यसको इतिहास र निर्माणबारे चासो राख्ने धेरै छन् । परम्परागत शैलीमा डाँडाको टुप्पोमा पौवा निर्माण गरिएको छ ।

Advertisement

यसलाई बल्कोट पौवा (परशुरामेश्वर गुठी) भनिन्छ । यहाँका पाका मानिसका अनुसार यसको ऐतिहासिक महत्व छ । इतिहासप्रति रुचि राख्ने नारायण भट्टराईका अनुसार पौवामा जंगबहादुर राणाको न्वारान यहीं भएको बताइन्छ । जंगबहादुरका बुबा बालनरसिंह आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानका प्रमुख थिए । जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाको विवाद बढेपछि १८६९ मा उनलाई जुम्ला खटाइयो ।

Advertisement

श्रीमती गणेशकुमारीलाई जुम्ला लिएर गए । जुम्लामै उनी गर्भवती भइन् । त्यसबेला गर्भवती माइती जाने चलन थियो । जुम्लाबाट माइती गोरखा जाने क्रममा वाङ्लाको मथुरामा आइपुग्दा गणेशकुमारी बिरामी परिन् । वि.स. १८७४ असार ७ गते मथुरा जंगलमा सात महिनामै जंगबहादुरको जन्म भयो ।

जंगबहादुरको न्वारानको नाम वीरनरसिंह कुंवर हो । पौवा नजिकैको मथुरा लाम्पाटीमा जन्मेका राणाको खनाल थरका ब्राह्मणले न्वारान गरिदिएका हुन् । मामा माथवरसिंह थापाले जंगबहादुर नाम राखिदिएको बताइन्छ । जंगबहादुरले राजा सुरेन्द्रबाट राणा उपाधि पाएका हुन् । राणा उनको थर थिएन । कालान्तरमा यो उनको थर हुन पुग्यो । श्री ३ महाराज प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनकसिंह टण्डनको नेतृत्वमा कालिगढले आधुनिक कलात्मक शैलीमा बनाएको बल्कोट पौवा र त्यसभित्रका मठमन्दिर असाध्यै सुन्दर र आकर्षक छन् ।

निर्माण सम्पन्न गर्न १० वर्ष लागेको थियो । यहाँका झ्यालढोका लगायतमा विभिन्न कलाकृति सजिएका छन् । जंगबहादुर राणा प्रधानमन्त्री भएपछि आफ्ना जेठान सनकसिंह टण्डनलाई पठाएर आफू जन्मेको ठाउँ मथुरामा उनले दरबार बनाउन लगाएका थिए । कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरबार नेपालमै नौलो मानिन्छ । दरबार नजिकै मथुराधाम रहेको छ । उक्त स्थानमा द्वापर युगमा भगवान् श्रीकृष्णले बाललीला गरेको किम्वदन्ती छ ।

योगी नरहरिनाथले मथुरामा कोटिहोम लगाई यस स्थानको महिमा अझ उचो बनाउने काम गरेका थिए । पौवाको विषयमा तत्कालीन राजा श्री ५ सुरेन्द्र शाहको पालामा चारवटा लालमोहर लगाएका थिए । कर्नेल टण्डनको पालामा बल्कोट पौवा, मथुरा लामपाटी पौवा, गुल्मी र पाल्पाको सिमानामा रहेको मनवाक पौवा, ऋषिको बगैंचा, पाल्पा अर्गली बगैंचा, जोर्तेको पौवा र बाटाका गौमुखी धाराहरू निर्माण भएका थिए ।

पौवा निर्माण गर्ने सनकसिंह परशुराम खत्रीका जेठा छोरा हुन् । सनकसिंहले उक्त मन्दिर निर्माणका लागि ३ सय २७ रोपनी ११ आना ३ पैसा जग्गा खरिद गरेका थिए । थप ४३ रोपनी जग्गा सरकारबाट दिइएकोथियो । ‘बल्कोट पौवालाई रंगरोगन, चर्किएका संरचना पुनःमर्मत गरेर आकर्षक बनाइएको छ,’ छत्रदेव गाउँपालिका–२ का पूर्ववडाध्यक्ष राजेशकुमार पन्थीले भने, ‘भुइँमा पनि टायल र ढुंगा बिछ्याइएको छ ।’ जीर्ण बन्दै गएको पौवालाई महायज्ञ लगाएर आर्थिक संकलन गरी मर्मत सम्भार गरिएको छ ।

वाल, गेट, मठमन्दिर सबै संरचना पुनःनिर्माण गरिएका हुन् । पौवा निर्माण गर्ने सनकसिंहको यहाँ सालिक बनाइएको छ । डा.गोविन्द टण्डन, चन्द्र टण्डन र जयबहादुर टण्डनले आर्थिक संकलन गरेर सालिक निर्माण गरेका हुन् । पौवाको अर्काे भवनमा वडा कार्यालय छ । इतिहासका जानकार भट्टराईका अनुसार राणाले आफू जन्मेको ठाउँ मथुरामा दरबार र न्वारान गरेको बल्कोटमा पौवा निर्माण गर्न लगाएका हुन् ।

‘इतिहास हो, राजनीतिक वृत्तमा जंगबहादुरको नाम बेलाबेला आइरहन्छ,’ उनले भने, ‘यसलाई संरक्षण गरिराख्नुपर्छ । इतिहासको अध्ययन स्थल, धार्मिक पर्यटकीय गन्तव्य रहेको छ ।’ धार्मिक, पर्यटकीय र इतिहासका हिसाबले बल्कोट पौवाको बेग्लै महत्व रहेको छ । माओवादी द्वन्द्वका बेला पौवामा रहेका मूर्ति, घण्टा चोरी भएका थिए । पौवाभित्र बैठक बस्न मिल्ने हल छ । पुरानो तर आधुनिक तरिकाले निर्माण भएको पौवा हेर्न टाढाटाढाबाट समेत पर्यटक आउँछन् ।

अहिले बल्कोट पौवा छत्रदेव गाउँपालिका र प्रदेश सरकारको सहयोगमा मर्मत सम्भार गरी चिटिक्क पारेपछि थप आकर्षक बनेको छ । पछिल्लो समय पौवामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ । काष्ठकलाको अद्भुत नमुना रहेको पौवासँगै सत्तल बुर्जा मन्दिर तथा बगैंचा, विशाल घण्टा यहाँका थप आकर्षक हुन् । जिल्लाको पूर्वी क्षेत्रको बल्कोट गाउँको अग्लो भूभागमा रहेको पौवालाई संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन र ऐतिहासिक महत्व बुझाउन आफूहरूले विशेष काम गरिरहेको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । ‘महत्वपूर्ण बल्कोट पौवा हाम्रो चिनारी पनि हो,’ उनले भने, ‘यसको संरक्षण गर्न कुनै कसर बाँकी राख्दैनौं ।’