राजमार्गका रात्री बजारको त्यो रौनक



कपिलवस्तु– जिल्लाको बुद्धभूमि नगरपालिका, गोरुसिंगेका होटल व्यवसायी टेकनारायण जोशीले राति कुर्दाकुर्दा बस नआएपछि बाटोमा गएर कान थापेर सुन्थे । टेलिफोन थिएन् । मोबाइल थिएन् । यात्रुका लागि पकाएको खाना फालिने होकी भनेर चिन्ता हुन्थ्यो । उपाय केही थिएन् ।
‘बस आयो आएन् भनेर कसरी थाहा पाउने ? त्यही भएर बाटोमा कान थाप्थ्यौं’, उनले भने, ‘१५–२० किमी पर बस आएको भए स्वाई आवाज आउँथ्यो । त्यसैले थाहा पाएर खुसी हुन्थ्यौं । यता होटल आएर खानाको तयारी गथ्र्यौ ।’ ०५२–५३ सालतिर यसै गरेर व्यापार गर्दै आएका थिए उनीहरु । ०३४ सालदेखि पूर्व–पश्चिम राजमार्गको गोरुसिंगेमा खानाको होटल संचालन गर्दै आएका जोशी अहिले पनि व्यवसायमै छन् । उनका जस्तै साना ठूला २५ बढी होटल गोरुसिंगेमा संचालनमा छन् ।
गोरुसिंगे जस्तै पश्चिमको चन्द्रौटामा पनि उस्तै ३०–३५ होटल संचालनमा छ । दुबै ठाउँका होटलले यात्रुलाई रात्रिकालिन खाना खुवाउने सेवा दिइरहेका छन् । मध्यरातसम्म चहलपहलै हुन्छ । दुबै ठाउँमा होटल व्यवसाय राति एक–डेढ बजेसम्म खुल्ने गर्छन् । गोरुसिंगेमा राति १२–साढे १२ बजेसम्म बढी चहलपहल हुन्छ । चन्द्रौटामा राति एक बजेसम्म चहलपहल हुन्छ ।
डेढबजेपछि बजार विस्तारै बन्द हुन थाल्छन् । चन्द्रौटामा विषेश गरि पश्चिमबाट राजधानी र पूर्व जाने सबारीसाधनका यात्रुले यहाँको स्वाद चाख्ने गर्दछन् । उता राजधानीबाट पश्चिमका लागि दिउँसो छुट्ने र पूर्वबाट आउने सवारीसाधनका यात्रुले पनि यहाँको व्यापार व्यवसाय बढाएको लेखनाथ होटल संचालक लेखनाथ पाण्डेले बताए । ‘४५ वर्षदेखि गोरुसिंगेमा होटलको सेवा दिइरहेको छु । माओबादी द्वन्द्व बेला होटल व्यवसाय मारमा पर्यो,’ उनले भने्, ‘सम्साँझै बजार बन्द हुन थाल्यो ।’
गोरुसिंगे बजारमा सेनाको गण हुँदा बढी चेकजाँच हुन्थ्यो । निगरानी बढ्यो । यसले समस्या थप्दा होटल व्यवसाय बढी प्रभावित थियो । साँझ विहानको चुलोचौको गाह्रो बन्यो । ‘द्वन्द्वका बेला ०६१–६२ तिर गोरुसिंगेमा होटल चलाउने अवस्था नभएपछि नवलपरासीको बर्दघाट गएर ९ महिना होटल खोलेर सेवा दियौं’, पाण्डेले भने । अवस्था सहज भएपछि फेरि गोरुसिंगेबाट सेवा दिइरहेका उनले बताए । ‘चल्तीको बाटो हुँदा यहाँ लगभग मुलुकका सबै जिल्लाका यात्रुलाई खाना ख्वाउन पाउदा खुसी छु’, उनले भने । द्वन्द्वका बेला समस्या भएपछि ०६४–६५ बाट फेरि गोरुसिंगे गुल्जार हुन थालेको उनले बताए ।
०२७–२८ सालमा पूर्व पश्चिम राजमार्ग बनाउँदा ठेकेदार मजदुरको मुकाम थियो चन्द्रौटा । तम्मु टाँगेर उनीहरु बसेका थिए । ‘बुटवलबाट हिँडेपछि पानी पिउने ठाउँ चन्द्रौटा थियो’, चन्द्रौटास्थित शिवपुरका होटल हाइवेका संचालक ढुण्डीराज अधिकारीले भने, ‘०६४ सालतिरबाट यहाँ रात्रि यात्रु बस र ट्रकले खाना खान थाले ।’ त्यत्तीबेलादेखि चलेको रात्रि बजार अहिले पनि उत्तिकै चलहपहल रहेको उनले बताए ।
पुर्व–पश्चिम राजमार्ग भएकाले गतिलो बस बिसौनी थियो । भारत, दाङ र बुटवलतिर जाने यात्रु यही आउँथे । ३ तिरका यात्रु गन्तब्यमा जाने आउने हुँदा जिल्लाकै राम्रो चहलपहल भएको बस स्टप बन्यो । चारैतिर जाने बाटोको पहुँच हुँदा ०५०–५१ देखि विस्तार पहाडबाट बसाइँसराइँ आउने क्रम बढ्यो । चन्द्रौटाको विकाससँगै रात्रि बजारले रौनकता थपेको छ ।








प्रतिकृया दिनुहोस्