गुल्जार कालिदह नाका



भैरहवा- पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्र कालिदह–ककरहवा नाकामा चहलपहल बढ्दै गएको छ । भारतीय पर्यटक ककरहवा–कालिदह नाका हुँदै लुम्बिनी आउने क्रम बढेपछि सीमा क्षेत्र गुल्जार बनेको हो । लुम्बिनी, गैडहवा, सैनामैना, कंचन लगायतका स्थानीय पनि दैनिक उपभोग्य सामान खरिदारिका लागि भारतीय बजार ककरहवा जाने गरेका छन् । बेलहिया–सुनौली नाका भन्दा कालिदह–ककरहवा हुँदै लुम्बिनी आउजाउ गर्न सहज भएपछि धेरै भारतीय पर्यटकले यही नाका प्रयोग गर्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।
कालिदह–ककरहवा नाका जिल्लाको दोस्रो ठूलो नाका हो । मानिसको आउजाउ हिसावले पनि बेलहिया–सुनौली नाका पछि यो दोस्रोमा पर्छ । व्यवसायीका अनुसार लुम्बिनी आउने भारतीय पर्यटक मध्ये २५–३० प्रतिशतले कालिदह–ककरहवा नाका प्रयोग गरिरहेका छन् । यो नाकाबाट लुम्बिनी १० किलोमिटर दूरीमा पर्छ । सुनौली–बेलहिया नाका हुँदै लुम्बिनी पुग्न २० किलोमिटर दूरी पर्छ । समयको बचत र छोटो दूरीका कारण धेरै भारतीयको रोजाई कालिदह–ककरहवा नाका परेको हो । भारतीयहरुले यो नाका प्रयोग गर्ने क्रम बढे पनि तेस्रो मुलुकका पर्यटकले भने सुनौली–बेलहिया नाका प्रयोग गरेर लुम्बिनी पुग्छन् ।
कालिदह नाकामा अध्यागमन कार्यालय छैन । अध्यागमन कार्यालयन नुहुँदा तेस्रो मुलुकका पर्यटक त्यहाँबाट नेपाल प्रवेश पाउँदैनन् । यसलै उनीहरुले सुनौली–बेलहिया नाका प्रयोग गर्नुपर्ने बाध्यता छ । भारतीयहरुलाई भने कुनै रोकतोक छैन । भारतीय पर्यटकले अधिक मात्रामा नाका प्रयोग गर्न थालेपछि कालिदह क्षेत्र ‘गुल्जार’ बनेको छ । सीमा क्षेत्रमा कारोबार पनि बढीरहेको स्थानीय सम्सुद्धिन धुनियाँ बताउँछन् । ‘नाकामै सुविधा सम्पन्न होटल छैनन्, नेपाली उत्पादन विक्रीका लागि पनि राखिएको त छैन तर चिया, नास्ता लगायत अन्य सामानको विक्री भने राम्रै छ’, उनले भने ।

कालिदह–ककरहवा नाकाबाट भारतीय बजार गोरखपुर १ सय ३ किमीको दूरीमा पर्छ । यस्तै, वाराणासी ३१८, सिद्धार्थनगर २५, बस्ती ९७ किमी दूरीमा पर्छ । यी ठाउँबाट लुम्बिनी आउजाउ गर्न नजिक पर्छ, जसले गर्दा भारतीयहरु यो नाका हुँदै बढी मात्रामा लुम्बिनी आउने गरेका छन् । लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कालिदह नाका हुँदै लुम्बिनी आउने भारतीयको संख्या बढ्दो क्रममा रहेको बताए ।
‘सहज भएर होला पछिल्ला दिनमा यो नाका प्रयोग गरेर आउने भारतीयहरु अधिक छन्, यो हाम्रा लागि राम्रो सन्देश हो’, उनले भने, ‘तर, यसरी आउने पर्यटकको बसाइँ नलम्बिँदा व्यवसायीले भने फाइदा लिन सकेका छैनन् ।’ होटल संघ लगायत लुम्बिनी क्षेत्रका व्यवसायी संघसंस्था, सामाजिक संघसंस्थाले कालिदह–ककरवा नाकालाई भन्सारका रुपमा खुलाउन पहल गरिरहेका छन् । यहाँ अहिले छोटी भन्सार छ । ठूला मालबाहक गाडी यो नाका प्रयोग गरेर आउजाउ गर्न पाउँदैनन् ।
व्यवसायीले भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न माग गरिरहेका छन् । ‘अध्यागमन कार्यालय बन्यो भने तेस्रो मुलुकका पर्यटक पनि यो नाका हुँदै लुम्बिनी आउन पाउँछन् भन्ने हाम्रो माग हो’, ज्ञवालीले भने । नाकाबाट साना गाडी, मोटरसाइकल, साइकलहरु आउजाउ गर्न दिइएको छ । अधिकाशंक भारतीय पर्यटक लुम्बिनी आएर उसैदिन फर्किने गरेको व्यवसायी बताउँछन् । ‘बिहान आएर लुम्बिनी घुमेर साँझ बास बस्न भारततर्फ नै फर्किनेहरु धेरै छन्, यसबाट हामीले फाइदै लिन सकेका छैनौं’, ज्ञवालीले भने ।

लुम्बिनी क्षेत्रका व्यवसायीले कालिदह नाका पूर्णरुपमा संचालन र अध्यागमन कार्यालय स्थापनाको माग गरिरहे पनि भैरहवा क्षेत्रका व्यवसायी भने यसको पक्षमा छैनन् । ‘एक त लुम्बिनीमा पर्यटकको बसाइँ लम्बिएन भन्ने चिन्तामा व्यवसायी छौं, अर्कातर्फ कालिदह नाकामा अध्यागमन राख्यौं भने पर्यटक लुम्बिनी आएर घुमेर उसैदिन भारततर्फ फर्किन्छन्, यसबाट व्यवसायी झनै समस्यामा हुन्छन्’, सिद्धार्थ होटल संघका बरिष्ठ उपाध्यक्ष किशोर जोशीले भने, ‘त्यसैले त्यहाँ अध्यागमन कार्यालय राख्नु हुँदैन ।’










प्रतिकृया दिनुहोस्