सिमसार क्षेत्र संरक्षण गरिँदै



भैरहवा– रुपन्देहीका स्थानीय तह सिमसार क्षेत्रको संरक्षणमा जुटेका छन् । पानीका स्रोेतहरु सुक्दै जाँदा र जमिन सुख्खा हुन थालेपछि पालिकाहरुले आफ्नो क्षेत्रमा रहेका सिमसार र तालतलैयाहरुको संरक्षण शुरु गरेका हुन् । चुरेको दोहोनसँगै नदीहरुबाट आउने पानीको मुहान सुक्न थालेपछि अन्य स्रोतहरु कायम राखी जमिनलाई सुख्खा हुनबाट जोगाउन सिमसार क्षेत्र र तालहरुको खोजी गर्न थालिएको हो ।
सिमसार क्षेत्रले जमिनलाई ओसिलो बनाइ राख्ने मात्र होइन्, खेतियोग्य जमिनको पोषकतत्व नष्ट हुनबाट समेत रोक्ने गर्दछ । सिमसार क्षेत्र जैविक विविधताको भण्डार समेत हुन् । सिमसार क्षेत्रको दिर्घकालीन महत्व बुझ्न नसक्दा स्थानीयवासीबाट नै रुपन्देहीका सिमसार क्षेत्र अतिक्रमणमा पर्दै आएका छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिको तथ्यांक अनुसार रुपन्देहीमा साना ठूला गरी २ सय ८९ वटा ताल, तलैया, सिमसार र जलासय क्षेत्र छन् ।
कञ्चन गाउंाँलिकामा रहेको गजेडी दानापुर र गैंडहवा गाउँपालिकामा रहेको गैंडहवा तालको संरक्षणका लागि स्थानीय तहहरुले चासो देखाएका छन् । कुल ३५ हेक्टर क्षेत्रफलमा फैलिएको गैंडहवा ताल र १९ हेक्टर क्षेत्रफलमा फैलिएको दानापुर ताललाई वरिपरीको खेतबारी सिंचाईमा प्रयोग गर्नुको साथै पर्यापर्यटनको रुपमा विकास गर्ने योजना बनिरहेको छ । जिल्लाका तालहरुमध्ये ठूलो तालको रुपमा रहेको गैंडहवा ताल क्षेत्रमा २ सय प्रजातिका चराचुरुङ्गी, २० प्रजातिका घस्रने वन्यजन्तु, निलगाई, कछुवा लगायतका जिवहरु पाइन्छन् ।
वरिपरी जंगल क्षेत्र रहेको गैंडहवा तालक्षेत्रमा लोपउन्मुख अवस्थामा रहेका भुंडिफोर, सारस लगायत लोपउन्मुख चरा र गिद्धहरुको बासस्थान छ । वर्षाको पानीसँगै बगेर जाने माटो र बालुवाले तालक्षेत्र पुरिँदै जान थालेपछि स्थानीयवासीले ताललाई तालकै रुपमा फर्काउन गाउँपालिकालाई आग्रह गरेका छन् । गैंडहवा तालमा जाने पर्यटकहरुलाई डुंगा सयर गराउँदै र वरिपरीको जंगल अवलोकन गराउने गरी योजना बनाईने गाउँपालिकाका अध्यक्ष सुरेन्दै पौडेलले बताए ।
जिल्लामा तिनाउ, दानव, कञ्चन, रोहिणी, कोठी, डण्डा, कजरार नदी पानीका मुख्य स्रोत हुन् । त्यसैगरी गैंडहवा, गजेडी, नन्द भाउजु, बढ्की र कर्महवा, सूर्यपुरा, पोखरा लगायत दर्जनौ कृतिम ताल तलैया छन् । जिल्ला भूसंरक्षण कार्यालय र जिल्ला वन कार्यालयको संयुक्त पहलमा जिल्लामा सिमसार क्षेत्र संरक्षणको लागि पहल सुरु भएकोमा पछिल्लो समय स्थानीय तहहरु आफै अग्रसर भएका छन् । गैंडहवा तालकै पानीले त्यस क्षेत्रको २० हेक्टर क्षेत्रफलमा सिंचाई हँुदै आएको छ । स्थानीय समुदायले आर्थिक श्रोतको खोजी गर्दै व्यवसायिक माछा पालन र डुङ्गा संचालन गर्दा विश्व सिमसार क्षेत्रमा सुचिकृत गजेडी तालमा भने जैविक वस्तुहरु नष्ट हुने खतरा बढेको छ ।
आयातित माछासँगै मानवीय क्रियाकलापका कारण तालमा पाइने सारस, साइबेरियन हांस, गिद्ध, जलहाँस, बकुल्ला लगायतका चराहरु बिस्तारै घट्दै गएका छन् । लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयले पनि सिमसार क्षेत्रहरुलाई अहिलकै अवस्थामा पर्यापर्यटनको रुपमा विकास गर्न सकिने भन्दै योजना बनाइरहेको छ । लामो समय तिनाउ नदीको अध्ययन गरिरहेका वातावरण इन्जिनियर डा.खेटराज दाहाल पछिल्ला वर्षहरुमा नदीहरुमा भइरहेको उत्खनन् र वनजंगलको फडानीको प्रभाव सिमसार क्षेत्र र तालतलैयाहरुमा देखिन थालेको बताउँछन् ।
नदीमाथिको उत्खनन् र बोटविरुवा कटानकै कारण तिनाउ, दानव, रोहिणी, डण्डा, कञ्चन नदीका मुहान, खोल्साखोल्सी र दलदलसहितको जमिनहरु नासिँदै गएको इन्जिनियर डा.दाहालकोे तर्क छ । पर्यावरणीय हिसावले महत्वपूर्ण मानिएको सिमसार क्षेत्र लोप भएमा त्यसमा आश्रित अन्य प्राणी र बनस्पतिको समेत लोप हुने खतरा बढेकाले यसको संरक्षण र प्रवद्र्धनमा लाग्नु पर्ने वातावरण इन्जिनियर डा.दाहालले बताए ।
पछिल्लो समय शुद्धोधन गाउँपालिकामास्थित दरबाह क्षेत्रमा रहेको पानीका स्रोतको उपयोग गर्दै कृत्रिम ताल निर्माणको काम सुरु भए पनि बजेट अभावमा काम रोकिएको छ । गाउँपालिले दरबाह क्षेत्रदेखि १८ किलोमिटर दक्षिणमा रहेको लुम्बिनीको नहरमा जोड्ने दिर्घकालीन योजनासहित उक्त ताल निर्माण सुरु गरेको थियो । प्राकृतिक रुपमा नै उत्पादन भएको पानीलाई दुबैतर्फ ड्याम निर्माण गरी गाउँपालिकाले जलयात्रा गराउने योजनासहित काम शुरु थियो । पालिका ४ वर्ष अघि ४० लाख रुपैयाँबाट डिपीआर तयार गरी तत्काल २ किलोमिटर क्षेत्रमा कृत्रिम ताल निर्माण सुरु गरेको थियो ।
५० देखि ७० फिट चौडाई र दुई किलोमिटर लम्बाईको ताल निर्माण योजना थियो । बजेट अभाव भए पछि काम रोकिएको र बजेट उपलब्ध गराउन प्रदेश सरकारसँग अनुरोध गरिएको प्रमुख प्रशसकीय अधिकृत झविलाल भट्टराईले बताए । दरबार क्षेत्रमा भ्यू टावर निर्माण, माछापालन गर्ने तथा गाउँपालिकाको समृद्धिका लागि लुम्बिनी आउने पर्यटकहरुलाई जलमार्ग हुँदै दरबार क्षेत्रमा ल्याउने योजना पालिकाको छ । पाँच वर्षसम्म १८ किलोमिटर टाढा रहेको लुम्विनी नहरमा पानी पुर्याउने गरी योजना बनाइए पनि बजेट अभावमा योजना अधुरो रहेको भट्टराईले बताए ।
यहाँ प्राकृतिक रुपमा मूलमार्फत् निरन्तर खडेरीको समयमा समेत पानी बग्ने भएकोले जलयात्रा लुम्बिनी आउने पर्यटकहरु मानपकडीसम्म ल्याउने दिर्घकालीन योजना रहेको छ । गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ लाई उक्त ताल क्षेत्रले समेट्ने छ । भ्युटावर निर्माण गरी लुम्बिनी अवलोकन गर्न सकिने, तालमा व्यवसायिक रुपमा माछापालन, डुंगा सयर लगायतका योजनाको लागि करिव १० करोड लागत अनुमान गरिएको छ । ‘पालिकासँग बजेट छैन, माथिल्लो निकायमा अनुरोध गरिरहेका छौं’, भट्टराईले भने, ‘बजेट उपलब्ध भयो भने आगामी चारपाँच वर्षमा योजना पूरा हुन्छ ।’
तलाउको संरक्षण गर्ने भन्दै दुई वर्ष अघि बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका सिमसार क्षेत्रभित्रका विभिन्न ७ तलाउलाई प्रकृति संरक्षणकर्मीहरुका नाममा नामाकरण गरिएको छ । यसले यी क्षेत्रमा संरक्षणमा सघाउ पुगेको लुम्बिनी विकास कोषले जनाएको छ । सिमसार क्षेत्रमा रहेका ७ तलाउलाई प्रकृतिविद् स्वर्गीय हर्क गुरुङ, डा.चन्द्र गुरुङ, डा.मिंग्मा नर्बु शेर्पा, हरिशरण नेपाली ‘काजी’, डा.तीर्थमान मास्के, डा.जर्ज अर्चिबल्ड र डा.घन गुरुङ सिमसार भनेर नामाकरण गरिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताउँछन् ।
डा.घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन् । हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष अघि ताप्लेजुङमा हेलिोकप्टर दुर्घटनामा परि निधन भएको थियो । सिमसार क्षेत्रको संरक्षणमा उनीहरुले पुर्याएको योगदानलाई सम्झीरहन तलाउलाई उनीहरुको नामबाट नामकरण गरिएको हो । ‘प्रकृति संरक्षण र जैविक विविधता कायम राख्न विकास कोषले काम गरिरहेको छ’, उनले भने, ‘बौद्धमार्गीको आस्थाको केन्द्रसँगै लुम्बिनी तालतलैया र चराचुरुङ्गीको अध्ययन स्थल बनिरहेको छ ।’








प्रतिकृया दिनुहोस्