बेलहिया–सुनौली नाका: आवागमन र कारोबार बढ्ने तर व्यवस्थित नहुने



भैरहवा– नेपाल–भारतबीच यात्रुको आवागमन र व्यापारिक कारोबार अत्यधिक रुपमा हुने गरेको बेलहिया–सुनौली सीमानाका व्यवस्थित बन्न सकेको छैन । सीमावर्ती भारतीय सुरक्षाकर्मी, भन्सार, अध्यागमन लगायतका निकायले सडकमैं गर्ने गरेको यात्रु र गाडीको चेकजाँचले जुनसुकै वेला पनि सडक जाम हुँदा आम सर्वसाधारण यात्रु र पर्यटक समस्यामा पर्ने गरेका छन् ।
दशगजा सीमानामा फोहर र दुर्गन्ध, धुलो, गाडीवाला र रेक्सावालाको तानातान, भारततर्फ सरकारी कर्मचारीबाट नेपाली यात्रुमाथि गरिने दुव्र्यवहार र परिचयपत्रको नाममा हुने अवैध असुलीले सीमानाकामा यात्रुहरु प्रताण्डित हुने गरेका छन् । भारतीय सुरक्षाकर्मीले आफ्नो मुलुकमा प्रवेश गर्ने यात्रु र गाडीमाथि उपकरणसहित अपनाउने गरेको सुरक्षा प्रक्रिया नेपाली पक्षले लागु नगर्दा सुरक्षा चुनौती बढेको छ ।
‘केही बर्ष अगाडि जस्तै सर्वसाधारण यात्रुसँग भारततर्फ हुने गरेको दुव्र्यवहार र खुलेआम अवैध असुलीका घटना पछिल्ला दिनमा कम हुने गरे पनि चाडपर्व र रातको समयमा अहिले पनि हुने गरेको गुनासा आउने गरेका छन्’, नेपाल–भारत मैत्री समाजका अध्यक्ष तथा स्थानीयबासी डा.शान्तकुमार शर्माले भने, ‘यात्रुमाथि गरिने दुव्र्यहार रोक्न वारम्बार भारतीय उच्च सुरक्षा अधिकारीको ध्यानकर्षण गराउने गरेका छौं ।’
उनकाअनुसार उच्च सुरक्षा अधिकारीको ध्यानकर्षण गराउँदा केही दिन रोकिए जस्तो भए पनि केही दिनपछि पहिलाकै पुनराबृत्ति हुने गर्छ । भारतबाट नेपालतर्फ आउँदा सीमानाकामा सुरक्षा चेकजाँचबिना नै खुलेआम आगमन भैरहँदा नेपालतर्फ सुरक्षा प्रक्रिया फितलो भएको अनुभूति हुने गरेको उनले बताए । बिना चेकजाँच र सुरक्षा उपकरण नेपालतर्फ नराखिनुले नेपाल प्रवेश गरेको महशुस पनि नहुने उनले बताए ।
बेलहिया–सुनौली नाकाबाट भारततर्फ प्रवेश गर्दा प्रत्येक यात्रु र गाडीलाई दशगजा सीमानामा तैनाथ भारतीय एसएसबीका सुरक्षाकर्मीले बिना चेकजाँच जान दिँदैनन् । प्रत्येक यात्रुले त्यहाँ राखिएको सुरक्षा यन्त्र ‘वाक थ्रु’ को प्रयोग गर्नैपर्ने हुन्छ । सामानसहितको झोलालाई उनीहरुले खोलेर खानतलासी गर्ने गर्छन् । यात्रुसहितका पर्यटक बस, साना गाडीबाट यात्रु ओर्लेर चेकजाँच गराउनु पर्ने हुन्छ । नेपाल सामान छाडेर फर्केका भारतीय मालवाहक गाडीसमेतको मेशिनले स्क्यानिङ्ग गरेरमात्रै भारततर्फ प्रवेश अनुमती पाउने गर्छन् ।
नेपालतर्फ भने यस खालको सुरक्षा उपकरण र प्रक्रिया छैन । नेपालतर्फ सीमाना नजिकै नेपाल प्रहरीले गर्ने गरेको चेकजाँच र खानतलासी करिब दश बर्ष अघिदेखि बन्द गरिएको छ । भैरहवा भन्सार कार्यालयको यात्रु शाखा अगाडि भन्सार कर्मचारी र भन्सारको गस्तीमा तैनाथ नेपालको सशस्त्र प्रहरीले भन्सार राजश्व प्रयोजनका लागि सामान्य चेकजाँच गर्ने गर्छन् । भन्सार छलेर सामान जान नपाओस् भन्ने अभिप्रयाले त्यहाँ गरिने चेकजाँचले सुरक्षाको विषयले उति प्राथमिकता पाउँदैन ।
‘रुपन्देहीसँग जोडिएको सुनौली नाका बिश्वकै मान्छे आवतजावत गर्ने प्रमुख नाका भएकाले प्रवेश नाकालाई व्यवस्थित गर्न अति जरुरी छ’, रुपन्देहीमा कार्यरत एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘सीमानाकामा यात्रुलाई सुबिधा र सुरक्षा प्रभावकारी बनाउने पुर्वाधारहरु उपलब्ध छैनन् ।’ नेपालतर्फ पनि यात्रुलाई ‘वाक थ्रु’ र सवारी गाडी, मालवाहक गाडीलाई स्क्यानिङ्ग गर्ने उपकरण तत्कालै लागु गर्न जरुरी भएको उनले बताए । उनकाअनुसार सहजै रुपमा सीमानाकाबाट हुने आवागमनले सुरक्षा चुनौती बढाउँछ ।
सुनौली नाका नेपाल र भारतबीच हुने आवागमनमा सर्वाधिक यात्रुले प्रयोग गर्ने नाका हो । स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक सर्वाधिक नेपाल भित्रिने मुख्य नाका पनि हो । लुम्बिनीका कारण श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम, दक्षिण कोरिया, जापान, कम्बोडिया, सिंगापुर लगायतका पर्यटकको संख्या अत्यधिक छ । रोजगारी, व्यापारिक कारोबार, उपचार, अध्ययन भ्रमण र तीर्थ यात्राका लागि यस नाकाबाट अत्यधिक नेपाली भारत जाने गर्छन् । व्यापारिक कारोबार, भ्रमण र तीर्थका लागि भारतीय नेपाल आउने गर्छन् ।
भारतीय साना गाडी नेपालबाट भारततर्फ जाने यात्रुको खोजीमा नेपालमा आएर पार्किङ्ग गर्छन् । दशगजा सीमाना भन्दा ५ सय मिटर वर नेपालबाटै उनीहरुले नेपाली यात्रु भरेर भारततर्फ लैजाने गर्छन् । भारतबाट फर्किंदा सीमानादेखि १ किमी पर भारतको सुनौली बसपार्कबाट रिक्सावालाले नेपाल आउने यात्रुलाई तानातान गर्दै सास्ती दिने गर्छन् । नेपालतर्फ पनि बसपार्क क्षेत्रमा कमिशनका लागि बिचौलियाले यात्रु र पर्यटकलाई तानातान गर्ने गर्छन् ।
नेपाल–भारतबीचको दशगजा सीमानासम्म सहजै पुग्न सकिने सडकको संजाल बिस्तार हुँदै जानु र खुल्ला सीमाना नियन्त्रण तथा प्रभावकारी ढंगले अनुगमन गर्ने प्रणालीको विकास हुन नसक्दा सुरक्षा अवस्था अझ जटिल बन्दै जान थालेको सरोकारवाला बताउँछन् । भारतसँगको खुल्ला सीमाना व्यवस्थित र मुख्य नाकाहरुमा आवतजावत गर्ने व्यक्तिको प्रमाणिकरण र नाकामा एक्सरे मेशिन नराख्दासम्म नेपालतर्फ सुरक्षा व्यवस्था चुनौतिपूर्ण नै कायम रहने पर्यटन व्यवसायी तथा सोशाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष संजय बजिमय बताउँछन् ।
‘मूल नाकाबाट पनि कुन व्यक्ति आयो ? उसले के–के सामान ल्यायो ? भन्ने वारेमा त एकीन हुँदैन भने खुल्ला सीमानाको सहस्रौं चोरी नाकाबाट हुने गतिबीधिका वारेमा राज्य अन्यौलमा रहनुको बिकल्पै छैन’ बजिमयले भने, ‘खुल्ला सिमानालाई व्यवस्थित नगरेसम्म र मुल नाकामापनि एक्सेर लगायतका उपकरण राखेर सिमाबाट आवत जावत गर्नेको पहिचान नराखेसम्म अपराधिकरणको श्रृंखला कायमैं रहन्छ ।’








प्रतिकृया दिनुहोस्