November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: उडानका पक्रिया पूरा गर्न काठमाडौं धाउनुपर्ने बाध्यता

भैरहवा– यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैदेशिक रोगजारीमा जाने सर्वसाधरणले आवश्यक पक्रिया पूरा गर्न संघीय राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छैन । यहँस्थित श्रम तथा रोजगार कार्यालयले बैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान गरिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिना पूरा भइसक्दा म्यानपावर, भीसा सेन्टर र मेडिकल जाँचका काम नहुँदा मर्का छ ।

Advertisement

स्थानीय स्तरबाट बैदेशिक रोजगारीमा उड्नका लागि आवश्यक सबै पक्रिया पूरा नहुने भएपछि सर्वसाधरण अहिले काठमाडौं धाउन बाध्य छन् । विमानस्थलसँगै गत असारमा तत्कालीन श्रम मन्त्री किसान श्रेष्ठको पहलमा भैरहवामै श्रम कार्यालय सञ्चालनमा आएको थियो । उक्त कार्यालयबाट अहिले तीन प्रकारका श्रम स्वीकृति प्रदान भइरहेको यहाँस्थित श्रम तथा रोजगार कार्यालय शाखा प्रमुख केशवराज भट्टराईले बताए ।

Advertisement

उनका अनुसार २०७५ सालबाट बुटवलस्थित कार्यालयबाट पुनः श्रम स्वीकृति प्रदान गर्न थालिएको हो । ‘एकपटक बिदेश बसेर फर्किएकाले पुनः जान चाहेमा श्रम कागजात नविकरणको काम पहिल्यैदेखि भइरहेको हो,’ भट्टराईले भने, ‘अहिले संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिन थालेका छौं ।’

उनका अनुसार गत असार एक गतेबाट संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएको हो । त्यसका लागि विभिन्न म्यान पावर कम्पनीमार्फत् आवेदन आउने गरेका छन् । ‘गत कार्तिक ३ गतेबाट व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न थालेका छौं,’ उनले भने, ‘अनलाइनबाटै आवेदन गर्न मिल्ने भएकाले मुलुकभरिबाट श्रम स्वीकृृति लिने छन् ।’ श्रम स्वीकृतिका लागि कानुनी व्यवस्था र अधिकार प्रत्यायोजन भए पनि प्रशस्त आवेदन प्राप्त नभएको उनले बताए ।

यहाँस्थित कार्यालयबाट पुनः श्रम स्वीकृति लिने धेरै छन् । अहिले तीन–चारवटा म्यान पावर कम्पनीले संस्थागत श्रम स्वीकृतिको काम गरिरहेका छन् । ‘व्यक्तिगत श्रमस्वीकृतिका लागि सरदर दिनमा ३–४ वटा आवेदन प्राप्त हुन्छन्,’ उनले भने, ‘भैरहवाका लागि दैनिक ५० टोकन छुट्याए पनि पूरा हुँदैनन् ।’ श्रम स्वीकृतिका लागि धेरै जना नआउनुमा म्यान पावर कम्पनी, भिसा र मेडिकल जाँच सेन्टरको अभाव कारण भएको उनले बताए ।

‘अहिलेसम्म धेरै नेपालीको श्रम गन्तव्य खाडी मुलुक हुन्,’ उनले भने, ‘धेरै श्रमिक जाने कतार, साउदी अरब र मलेसियाका काठमाडौंमा आफ्नै मेडिकल जाँच र भिसा सेन्टर छन्, ती मुलुकले अनुमती दिएका त्यस्ता सेन्टरका साखा भैरहवामा नहुँदा समस्या भइरहेको छ ।’ यहाँबाट श्रम स्विकृति लिएपनि बाँकी काम पूरा गर्न काठमाडौं जानु पर्छ । काठमाडौंमा पक्रिया पूरा गरेका व्यक्ति उतैबाट गन्तव्यमा उड्छन् । फर्केर भैरहवा आउँदा खर्चिलो र झण्झटिलो हुन्छ ।

पहिलो यहाँ ६–७ वटा म्यानपावर कम्पनीका शाखा थिए । अहिले शाखा सञ्चालनका लागि १५ हाराहारी कम्पनीले अनुमति लिएका छन् । ‘म्यान पावर कम्पनीले बैदेशिक रोजगारीमा जानेको अन्तर्वार्ता यहाँ लिइरहेका छैनन्,’ भट्टराईले भने, ‘अन्तर्वार्ता दिन काठमाडौं गएका व्यक्तिले बाँकी पक्रिया उतै पूरा गरेर जान्छन् ।’ सरकारले बैदेशिक रोजगारीमा जाने व्यक्तिको नागरिकता हेरेर आवश्यक पक्रिया उनीहरुकै क्षेत्रमा पूरा गर्ने व्यवस्था गर्नु पर्ने उनले बताए ।

‘अनलाइनबाट श्रम स्वीकृतिका लागि पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका व्यक्तिले भैरहवामा आवेदन दिन्छन्,’ उनले भने, ‘श्रम स्वीकृति प्राप्त गरेपछि ती व्यक्ति जहाज चढ्न भैरहवा आउँछन् भन्ने छैन ।’ यहाँस्थित श्रम कार्यालयको क्षमता बिस्तार गरिएको छैन । आवश्यक उपकरण र जनशक्ति अभाव छ । ‘कार्यालयको संरचना र जनशक्तिको समस्या छ,’ भट्टराईले भने, ‘सीमित दरबन्दी अनुसार काम गरिरहेका छौं ।’

यहाँस्थित ट्राभल व्यवसायी सन्जय बजिमयले म्यानपावर कम्पनीका शाखा दर्ता नहुँदा समस्या भइरहेको बताए । ‘म्यानपावरका शाखा दर्ता गर्न प्रदेश सरकार तयार देखिएन,’ उनले भने, ‘नयाँ दतौ पाँच करोड धरौंटी राख्नुपर्छ ।’ दूताबासबाट सिधै आएका बाहेक व्यक्तिका लागि श्रम लगायत काम गर्न म्यानपावर कम्पनी चाहिने उनले बताए ।

‘म्यानपावर कम्पनी यहाँ नआए सेवाग्राही सिधै भैरहवा आउँदैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा व्यक्तिगत श्रम स्वीकृति लिने आउँछन् । संस्थागतको संख्या बढ्दैन ।’ बैदेशिक रोजगार व्यवसायी महासंघसित पाँचवटा भए पनि म्यानपावरका शाखा पठाउन अनुरोध गरेको उनले बताए । ‘यहाँ कार्यालय राख्न सघाउँछौं भनेको हो,’ उनले भने, ‘तर, चासो नै दिएनन् ।’

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोबिन्दप्रसाद दाहालले सुरुमा धेरै विमान कम्पनीले यहाँबाट उडान भर्न चासो दिएको बताए । धेरै कम्पनीका प्रतिनिधि यहाँको अवस्था बुझ्न आएका थिए । ‘अहिले पनि सरदर डेढ सय यात्रु हुन्छन्,’ उनले भने, ‘तर, अहिले काठमाडौंबाट यात्रु यहाँ ल्याएर उडाउनु परिरहेको छ ।’ श्रम कार्यालय सञ्चालनमा आए पनि भिसा सेन्टर, मेडिकल जाँच, म्यानपावर कम्पनी, ओरिन्टेशन र बीमा कार्यालय नहुँदा समस्या भइरहेको उनले बताए ।

अहिले पूर्व पश्चिमबाट आउने यात्रुलाई सडकले समस्या भइरहेको उनले बताए । ‘चितवनबाट चार घण्टामा काठमाडौं पुगिन्छ,’ उनले भने, ‘चितवनबाट भैरहवा आउन पाँच घण्टा लाग्छ ।’ केही दिन अघिसम्मे उडान भरिरहेका जजिरा र हिमालयन एयरलायन्सले अधिकांश समय काठमाडौंबाट बसमा यात्रु भैरहवा ल्याउने गरेका थिए । उनीहरु रातभरि विमानस्थलमा बसेर बिहान उड्छन् ।

कोरोना महामारीका कारण बौद्ध धर्मावलम्बी मुलुकबाट उडान हुन सकेका छैनन् । लुम्बिनी आउने पर्यटक भारत हुँदैं आइरहेका छन् । ‘लुम्बिनी लक्षित गरेर चाटर्ड उडान हुन सकेका छैनन्,’ दाहालले भने, ‘अहिले यहाँबाट उड्ने र ओर्लिने श्रमिक हुन् । लुम्बिनीमा आउने पर्यटक बढेमात्रै यो विमानस्थलको औचित्य पुष्टि हुन्छ ।’ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत जेठ २ गते बुद्ध जयन्तीमा विमानस्थल उद्घाटन गरेका थए । त्यही दिनबाट कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो ।

बैदेशिक रोजगारीकालागि काठमाडौंमा श्रम लगायत पक्रिया पूरा गरेका श्रमिकलाई उक्त एयरले यहाँबाट लैजाने र उताबाट त्यस्तै व्यक्ति ल्याउने गरेको थियो । यहाँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र नीजि क्षेत्रका लगानीकर्ता उत्साहित थिए । विमानस्थलका महाप्रबन्धक दाहालले विमान कम्पनीलाई यात्रुको अभाव नभएको बताए । उनका अनुसार यात्रुको संख्या बृद्धि भएपछि जजिरा एयरले गत भदौं ३१ गतेबाट दैनिक उडान सुरु गरेको थियो ।

महाप्रवन्धक दाहालका अनुसार हिमालयन एयरलायन्सले गत कार्तिक १७ गतेदेखि यहाँबाट दैनिक मलेसिया चार्टर्ड उडान सुरु गरेको थियो । ‘अहिले खराब मौसमका कारण जजिरा र हिमालयनले केही समयका लागि उडान स्थगित गरेका छन्,’ उनले भने, ‘हुस्सु र बाक्लो कुहिरोले गर्दा उडान, अवतरणमा समस्या भएको हो ।’ उनका अनुसार यहाँबाट २०२२ मे १६ तारिखदेखि डिसेम्बर १८ सम्म विभिन्न कम्पनीबाट १ सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यत्तिकैं संख्यामा विमान अवतरण भएका छन् । ती उडान–अवतरणबाट उक्त अवधिमा १३ हजार ५ सय ९३ यात्रु यहाँ आएका छन । यहाँबाट १८ हजार २५ यात्रु बाहिरिएका छन् ।