नेता पर्खिंदै पाल्पा



पाल्पा– ‘अहिलेसम्म केन्द्रको सन्देश बोकेर आउने नेता मात्रै भए,’ पाल्पाका इतिहाँसका जानकार निर्मल श्रेष्ठले भने, ‘यहाँबाट नेतृत्वमा हस्तक्षेप गर्ने कोही भएन ।’ लामो समयदेखि जिल्लामा नयाँ बिचार बोकेका व्यक्ति नभएको उनले बताए । ‘इतिहासमा यहाँबाट कन्त्युरी, खस, सेन साम्राज्य सञ्चालन भएका थिए,’ उनले भने, ‘राणाकालमा कुल ३५ मध्ये ९ जिल्लाको शासन यहीबाट हुन्थ्यो ।’ उनका अनुसार पाल्पा गौंडाबाट पश्चिम डोटी र उत्तरमा मुस्ताङसम्म रेखदेख हुन्थ्यो ।
सदरमुकाम तानसेनसँगै जिल्लाभर इतिहास झल्काउने पुरातात्विक सम्पदा रहेका छन् । ‘हिमालपार व्यापार यही बाटो हुन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिलेको कालीगण्डकी कोरीडोर त्यही नुन बाटो हो ।’ चीनको ल्हासाबाट सामानहरु पाल्पा–बुटवल हुँदै भारत पुग्थे । भारतबाट बुटवल–पाल्पा हुँदैं ल्हासा व्यापार हुने गरेको उनले बताए ।
‘बहुदलको सुरुवाती कालसम्मै पाल्पा शिक्षा, इतिहास, संस्कृतिको केन्द्र थियो,’ उनले भने, ‘पोखरा, भैरहवा र बुटवलबाट समेत विद्यालय र क्याम्पस पढ्न यहाँ आउथे ।’ आसपासका गुल्मी, स्याङजा र बागलुङबाट पढ्न आउने विद्यार्थी धेरै हुन्थे । उनका अनुसार यहाँबाट भारतको बलरामपुर र वनारस पढ्न जाने गरेका थिए । ‘त्यसको कारण राणाको भारतीयसितको सम्बन्ध हो,’ उनले भने, ‘त्यही सम्बन्धका कारण भारत पढ्न जाने धेरै हुन्थे ।’
जिल्ला शैक्षिक केन्द्र बनेपछि सदरमुकामका टोलटोलमा पुस्तकालय रहेको उनले बताए । ‘यहाँ नेपाल–भारत सांस्कृतिक, रसियन र पिसकोरको पुस्ताकालय खुलेका थिए,’ उनले सुनाए, ‘हरेक टोलमा पुस्तकालय रहेकाले पढाईको केन्द्र थियो ।’ उनका अनुसार यहाँ सेन वंशले करिब ६ सय वर्ष राज्य चलाएका थिए । ‘पाल्पाली सभ्यता भनेकै सेन परम्परा हो,’ उनले भने, ‘त्यसबेला पाल्पाको बैभव विशाल थियो । दक्षिणमा गंगा तिर, पूर्वमा मकवानपुर, गोरखा, लमजुङ सेन राज्यकै मातहत थिए ।’
उनका अनुसार जिल्लामा २००७ सालपछि राष्ट्रिय स्तरका व्यक्तित्व रहेका थिए । ‘केशरजंग रायमाझी र कमलराज रेग्मी वामपन्थी पृष्ठभूमिका हुनुहुन्थ्यो,’ उनले भने, ‘टंकनाथ काफ्ले लगायत कांग्रेस हुनुहुन्थ्यो ।’ बहुदलपछि राष्ट्रिय स्तरको नेताको कमी खड्केको उनले बताए । २०५१ सालमा साविक पाल्पा क्षेत्र नम्बर ३ बाट चुनाव जितेका बिष्णु पौडेल एमालेको राजनीतिमा स्थापित छन् । त्यसबेला यहाँबाट चुनाव जितेर पौडेल युवा तथा खेलकुद मन्त्री भएका थिए । त्यसपछिका निर्वाचनमा पौडेल रुपन्देही झरे ।
नेकपा एकीकृत समाजबादीका नेता सोमप्रसाद पाण्डे यहीबाट राजनीति गरिरहेका छन् । यसपाली पाण्डे छैठौं पटक चुनावी प्रतिष्पर्धामा रहेका पाण्डे पराजित भए । पाण्डे २०७२ सालमा उद्योगमन्त्री भएका थिए । जिल्लाबाट खिलराज रेग्मी प्रधानन्यायाधीश र मन्त्रिपरिषद अध्यक्ष बने । रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बनेका थिए । पृथ्वीराज लिगल र मोहनमान सैंजु योजना आयोगका उपाध्यक्ष बनेको पाइन्छ । स्वर्गीय माधव घिमिरे मुख्य सचिव बनेका थिए । जिल्लाबाट प्रशासनिक नेतृत्वको उच्च तहमा पुग्नेको संख्या धेरै छ ।
यहाँस्थित त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख टं प्रसाद भट्टराई बहुदलपछि ‘यही बस्छु, यही गर्छु’ भन्ने नेतृत्व पैदा नभएको बताउँछन् । उनका अनुसार यहाँ राजनीति गरेर स्थापित भएपछि जिल्ला छाडने परम्परा छ । जसले गर्दा लामो समय प्रशासनिक, शैक्षिक र व्यापारिक केन्द्र रहेको जिल्ला सुनसान जस्तै हुन्छ । ‘राजनीतिक परिवर्तनसँगै आशा, अपेक्षा धेरै थिए,’ उनले भने, ‘राजनीतिमा पुस्तान्तरण भएन । सुरुदेखि अहिलेसम्म एउटै अनुहार छन् । यी नेताबाट के होला र भन्ने अवस्था आयो ।’
उनका अनुसार यहाँ २०११ सालमा क्याम्पस स्थापना भएको हो । ‘पहिले पाल्पा र आसपासबाट विद्यार्थी यही केन्द्रित हुन्थे,’ उनले भने, ‘अहिले घटेका छन् ।’ बसाइँ सर्ने क्रमले जन्मठाउँप्रति अविश्वास बढाएको उनले बताए । ‘यहाँ पैतृक सम्पति बेचेर पनि अपेक्षा पूरा हुँदैनन,’ उनले भने, ‘त्यसैले स्नाकोत्तर तहसम्म पढेका युवा पनि विदेश पलायन भइरहेका छन् ।’
जनशक्ति पलायन नरोकेसम्म राजनीतिमा पुस्तान्तरणको सम्भावना नरहेको उनले बताए । ‘युवा किन टिक्दैनन, कसैले खोज्दैन,’ उनले भने, ‘यस्तो अवस्थामा चुनावले मात्र उपलब्धि हुँदैन । राजनीतिक शुद्धिकरण जरुरी छ ।’ त्रिभुवन बहुमुखी क्याम्पसका उप–प्रध्यापक सन्तोष खनाल ०४८ सालयता लामो समय निर्वाचनमा सहभागी भएर पनि उम्मेदवारका एजेण्डा कुलो, धारा र करेसाभन्दा माथि नउठेको सुनाउँछन् ।
‘पाल्पाको वैभव धान्नका लागि आवश्यक योजना छैनन,’ उनले भने, ‘जिल्लाको अवस्था परिवर्तन गर्ने ठूला विकास आयोजनाको कुरै हुँदैन ।’ घोषणापत्रमा कार्यक्रम समेटिए पनि कार्यान्वयन नहुने गरेको उनले बताए । ‘सिद्धबाबा खण्डले जिल्लाको ‘लाइफ लाइन’ ठप्प छ,’ उनले भने, ‘पछिल्ला पाँचवटा बजेटमा सिद्धबाबामा सुरुङमार्ग निर्माण छुटेको छैन । सुरुका तीनवटामा प्राथमिता दिइएको थियो । पछिल्ला दुईवटामा निर्माणलाई प्राथमिकता दिइएको छ ।’
तर, सुरुङमार्ग पूरा हुन कम्तिमा १० वर्ष लाग्ने देखिएकाले वैकल्पिक मार्ग निर्माण गरिनु पर्नेमा उनले जोड दिए । तराईका जिल्लाबाट छोटो दूरीमा रहेको तानसेनलाई पर्यटकीय ‘हिल स्टेशन’का रुपमा बिकास गर्नेबारे बहस सुनिन्छ । ‘तर, सडकको अवस्थाले गर्दा हिलस्टेशनको योजना अधुरै छ,’ उनले भने, ‘सिद्धबाबाका कारण पर्यटन विकास ठप्प छ ।’ यसपक जितेका नेताले गरेर देखाउनु पर्ने यहाँका मतदाताको भनाई छ । ‘हामी काम गर्ने नेताको प्रतीक्षामा छौं’, पाल्पाका शिव कुँवरले भने, ‘पहिला जितेकाले पनि खासै गरेनन्, अहिलेकाले पनि गरेनन् भने यहाँको पीडा ज्यूँका त्यूँ हुने भयो । त्यसैले हामी गर्ने नेता खोजिरहेका छौं ।’








प्रतिकृया दिनुहोस्