November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

भैरहवा–परासी खण्ड नयाँ औद्योगिक हब

भैरहवा– एक दशक अघिसम्म भैरहवा–परासी खण्डको परिचय– हुलाकी सडक मार्गको रुपमा मात्रै थियो । अब यसको परिचय यत्तिमै सीमित रहेन । यस क्षेत्र औद्योगिक हबकारुपमा विकसित हुँदै गएपछि हुलाकी सडक खण्डसँगै कोरिडोरका नामले पनि चिनिन थालेको छ । २०७० अघिसम्म भैरहवा–लुम्बिनी कोरिडोर र भैरहवा–बुटवल सडक खण्डको दाँयावाँया क्षेत्र ठूला उद्योग स्थापनाका लागि आकर्षक मानिन्थ्यो । तर, पछिल्लो समय यी क्षेत्रको विकल्पमा भैरहवा–परासी खण्डको छेउछाऊ उद्योगी–व्यवसायीको रोजाईमा परेको छ । यो क्षेत्र अहिले औद्योगिक कोरिडोरमा परिणत भएको छ ।

Advertisement

भैरहवा–बुटवल छेउछाउमा उद्योग खोल्न पर्याप्त जमिन नहुँदा र भैरहवा–लुम्बिनी खण्डमा नयाँ उद्योग लागि सरकारले स्वीकृति नदिँदा भैरहवा–परासी क्षेत्र उद्योगीको मुख्य रोजाईमा परेको हो । विश्वसम्पदा सूचीमा सूचिकृत लुम्बिनीमा प्रदूषण बढ्दै गएपछि भैरहवा–लुम्बिनी क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न सरकारले रोकेको हो । सरकारले मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने तयारी थालेको छ । तर, त्यहाँ काम अगाडि बढ्न सकेको छैन । त्यसैले उद्योगीहरुको रोजाईमा भैरहवा–परासी खण्ड परेको हो । पछिल्लो दशक यहाँ स्थापित उद्योगहरुमा मात्रै ६० अर्ब भन्दा बढीको लगानी भइसकेको उद्योगी बताउँछन् । साना तथा मझौला उद्योगमा पनि उत्तिकै लगानी छ ।

Advertisement

करोडदेखि अर्बौ लगानीसम्मका उद्योगहरु यहाँ स्थापित भई सञ्चालनमा आइसकेका छन् । करोड लगानीका साना उद्योग खोल्ने पनि धेरै छन् । लुम्बिनीमा प्रदूषण बढ्दै गएपछि भैरहवा–लुम्बिनी क्षेत्रमा १५ किमीभित्र उद्योग खोल्न नपाउने मापदण्ड राखिनु र भैरहवा–बुटवल खण्डको पूर्व–पश्चिम क्षेत्रमा जमिन नहुनु तथा अत्यधिक महंगो हुनुले पनि नयाँ औद्योगिक हबका रुपमा विकसित हुँदै गएको भैरहवा–परासी कोरिडोरमा लगानीकर्ताहरु आकर्षित भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालको बताए । ‘यहाँ जमिन अन्यत्रभन्दा केही सस्तो छ, सीमानाका नजिक हुँदा कच्चा पदार्थ आयात गर्न पनि सहज छ । त्यसैले पनि सबैको रोजाई यो क्षेत्र बन्दै गएको हो’, अग्रवालले भने ।

रुपन्देहीको भैरहवादेखि पश्चिम नवलपरासीको भूमही बाईपास सडक खण्डको दायाँबायाँ अहिले जताततै उद्योग देखिन्छन् । बिहान बेलुका श्रमिकहरु साइकलमा उद्योगतर्फ जाँदै गरेको लस्कर हेर्न लायक हुन्छ । जिल्ला बाहिरबाट पहिलो पटक यो सडक खण्डको भ्रमण गर्ने मानिसहरु यो क्षेत्र औद्योगिक क्षेत्र रहेछ भन्ने सोच्छन् । यो खण्डको पश्चिम नवलपरासीमा अहिलेसम्म औद्योगिक क्षेत्र निमार्ण भएको छैन् । तर औद्योगिक क्षेत्रमा भन्दा पनि उद्योग खुल्नेक्रम भने बढी छ । सानादेखि ठुला उद्योगहरुको आकर्षण बढ्दो छ । थप नयाँ उद्योगहरुका लागि भौतिक पूर्वाधारको काम धमाधम भैरहेको छ । केही उद्योग संचालनका लागि जग्गा खरिद गर्ने तयारीमा छन् । वास्र्तेनर वियर, पेप्सी, रुस्लान, हुलासको खाद्यान्न, श्री स्तील्स्, अटो मोवाइल्स, कागज कारखाना, सिमेन्ट कारखाना, एसियन कंक्रिटो, सिमेन्ट उद्योग, मदिरा, रड, विदेशी ब्राण्डका वियर, स्टील, पेय पदार्थ, खाद्यान्न ६ दर्जन बढी उद्योग संचालन छन् ।

१५ भन्दा बढी उद्योगले जग्गा खदिर गरेर राखेका छन् । भारतीय नाकासँग नजिक र पूर्व–पश्चिम राजमार्गको मध्य भागमा पर्ने भएकाले धमाधम ठुला लगानीका उद्योग खुल्नेक्रम बढेको हो । उद्योगले आफू अनुकुलको जग्गा किनेर धमाधम उद्योग संचालन गरिरहेका छन् । ‘पश्चिम नवलपरासीको दक्षिणी भेगमा उद्योग खोल्न लगानी कर्ता आकर्षित हुनुको कारण बजारीकरण र कच्चा पदार्थको आपूर्ति सहज हुनु नै मुख्य कारण हो । जुन उद्योग संचालनका लागि सबैभन्दा बढी महत्वपूर्ण पक्ष हो’, तिरुपती बालाजी एग्रो प्रालिका संचालक समितिका सदस्य प्रकाश यादबले भने, ‘भारतबाट कच्चा पदार्थको सहज आपूर्ति र उत्पादन भएको सामाग्री मुलुकभर एकै पटक र एउटै मूल्यमा बिक्री गर्न सकिने भएकाले हामीले भैरहवा–परासीमा खण्डमा नै उद्योग संचालन गरेका हौं ।’

यहाँ अझै दर्जनौँ उद्योगहरु खुल्ने क्रममा छन् । एक दशकमै कोरिडोर बन्न सफल यस क्षेत्रका उद्योगमा हजारौंले रोजगारी पाएका छन् । सरकारले नवलपरासीको महेशपुर भन्सारलाई मूल भन्सारको रुपमा सञ्चालन गरे पछि लगानी कर्ता थप आकर्षित भएका छन् । भैरहवा भन्सारले मात्र यस क्षेत्रमा आयात र निर्यात हुने बस्तुको भार थेग्न नसक्ने भन्दै नयाँ नाकाबाट थप सहज हुने भन्दै भूमही भैरहवाको वाइपास सडक वरपर उद्योग सञ्चालन भइरहेका छन् । भैरहवा भन्सारले मात्रै उद्योगका लागि आवश्यक कच्चा पदार्थ, उपकरण लगायतका मालबस्तु ढुवानी गर्दा महिनौ सुनौली नाकामा आएर थन्किने गर्दछ । तर, महेशपुर नाकामा एक दिनमा नै सामान आयात र निर्यात हुने गरेको छ । यसले ब्यवसायी र उद्योगी दुबै पक्षलाई कच्चा पदार्थको आयात र सामान निर्यातमा समेत सहजता भएको छ ।

पछिल्लो दुई वर्षमा मात्र भैरहवा–भूमही सडक खण्ड आसपासमा दुई दर्जन भन्दा बढी ठूला उद्योग थपिएको र अनय उद्योग पनि आउनेक्रम रहेको उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य तथा ब्यवसायी भीमबहादुर थापाले बताए । ‘मुलुकभरमा ठुला लगानी कर्ताले पहिलो प्राथमिकता यो खण्डलाई दिएका छन् । त्यससँगै सुनवलमा पनि उद्योगग्राम धमाधम निमार्ण भैरहेको छ’ उनले भने, ‘दर्जनौं उद्योग पाइपलाइनमा छन् ।’ उद्योग स्थापना भएपछि पछिल्लो दुई वर्षमा मात्र पश्चिम नवलपरासीमा दुई हजार भन्दा बढी अदक्ष कामदारले रोजगारी पाएका छन् भने तीन सय भन्दा बढी दक्ष जनशक्ति गाउँमै योग्यता अनुसारको रोजगारी गरिरहेका छन् । यो खण्डको रुपन्देही तर्फका उद्योगहरुमा पनि उसैगरी रोजगारी पाएका छन् ।