November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

अटेरी ठेकेदारः कसैको आग्रह टेर्दैनन्

भैरहवा– सडक भत्काएर छाडेको वर्षौं भयो । निर्माण सामाग्री असरल्ल छन् । सडक चाँडो बनाउन स्थानीय बासिन्दादेखि तीनै तहका सरकारले ताकेता गर्दा पनि वास्तै गर्दैन, ठेकेदार । जसका कारण सडक धुलाम्य छ । पानी पर्दा हिलो र घाम लाग्दा बुङबुङ्ती उड्ने धुलो । स्थानीय र यहाँबाट आउजाउ गर्ने स्वदेशी तथा विदेशी पर्यटक आजित छन् ।

Advertisement

वर्षौदेखि ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छाडेको बेलहिया सडकखण्डको समयमै निर्माण सम्पन्न नगर्दा सर्वसाधारणका साथै पर्यटकहरुले सास्ती खेप्नु परेको छ । अधिकांश क्षेत्रको सडक निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनले पाएको ३ वटा स्थानीय तह क्षेत्रको ठेक्का अलपत्र छाडेको हो । उसले सिद्धार्थनगर नगरपालिकाको बेलहिया, ओमसतिया गाउँपालिकाको पड्सरी र बुटवल उपमहानगरको बुटवल क्षेत्रको सडक निर्माणको ठेक्का पाएको थियो ।

Advertisement

२७ किलोमिटर लम्बाइको यो सडकको सिद्धार्थनगरस्थित बेलहिया नाकादेखि उत्तरतर्फको सात सय ५० मिटर सडक असरल्ल छ । यस्तै, ओमसतिया गाउँपालिका क्षेत्रको सर्भिस लेन सडक अलपत्र छ भने बुटवल चौरहादेखि गोलपार्कसम्मको तीन किलोमिटर सडक अलपत्र छ । ठेकेदार कम्पनीले ३ वटा स्थानीय तहको क्षेत्रमा सडक अलपत्र छाडे पनि आयोजनाको कार्यालयले ठेकेदार कम्पनीलाई संरक्षण गर्दै आएको आरोप लाग्ने गरेको थियो ।

पछिल्लो पटक आयोजना सडक डिभिजन बुटवलले हेर्ने गरी बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना कार्यालय नै खारेज गरिएको छ । आयोजनाको जिम्मेवारी सडक डिभिजनलाई दिनु अघि पटकपटक सडक निर्माणलाइ तदारुकता दिन छलफल भए । तर, काम भने खासै हुन सकेको छैन । स्थानीय तहहरुले ठेक्का तोड्न आग्रह गरिरहेका छन् ।

बेलहियामा निर्माण बाँकी रहेको खण्डको १ सय २० मिटर क्षेत्रको किनारा खाली गर्ने काम सकिएको छ । बाँकी खण्डमा अहिले भन्सार, इलाका प्रहरीका भवन र नाका प्रवेशद्वार छन्  । ती संरचना नहटेकाले काम गर्न समस्या छ । स्थलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक बेलहिया सीमानाका हुँदै भित्रिन्छन् । यो नाका हुँदै सर्वसाधारण देखि लिएर भीभीआईपीहरुको आवगमन हुने गर्दछ । तर, ठेक्का पाएको बिरुवा कन्स्ट्रक्सनले सडक निर्माण सम्पन्न गर्न आनाकानी गर्दै आएको छ । यो ठेक्काको तोकिएको समयावधि दुई वर्ष अघि नै सकिएको हो । तर, म्याद थपेको थप्यै छ ।

बेलहिया बजार क्षेत्रमा सबैले सास्ती खेप्नु परेको देखिएपछि ठेकेदार कम्पनी, आयोजना कार्यालय लगायत सम्बन्धित निकायमा काम सम्पन्नका लागि पटक पटक आग्रह गर्दै आए पनि ठेकेदार कम्पनीले सडक निर्माणमा तादरुकता नदेखाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले सौन्दर्यकरण, भौतिक पूर्वाधार लगायतका योजना संचालन गर्नमा समेत समस्या परेको उनको भनाई छ । सडक निर्माण कार्य आयोजना कार्यालय अन्तर्गत भएकोले ठेकेदार कम्पनीले अलपत्र छाडेको सडक निर्माणका लागि सम्बन्धित स्थानीय तहहरुको आग्रहलाई वेवास्ता गर्दै आएको छ ।

काम छिटो गर्न कयौंपटक आग्रह गरेको तर ठेकेदारले पटक्कै नटेरेको सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँन बताउँछन् । ‘अति भइसक्यो, बरु ठेक्का तोडेर अर्कैलाई दिएर काम गरौं तर चाँडो गरौं’, खाँन भन्छन् । बेलहिया नाकाले मुलुककै अवस्था दर्साउने भएकोले विना आनाकानी सम्बन्धित निकायहरुले सडक निर्माण सम्पन्न गराउनु पर्ने उनको भनाई छ ।

सडकको काम सम्पन्न गराउन सहजीकरणका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित समितीले ठेकेदार कम्पनीलाई कार्यालयमा डाकेर सम्पन्न गर्न आग्रह गर्दा काम सुरु गर्ने प्रतिवद्धता जनाएर गएको ठेकेदार प्रतिनिधिलाई पटक पटकको आग्रह पश्चात् पनि वेवास्ता गर्दै आएको छ ।

‘हामीले ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरुलाई छिट्टै नै सडक निर्माण गर्न पटक पटक आग्रह गरिरहेका छौँ’, खाँनले भने, ‘तर, बेलहियाको निर्माणधिन सडक आयोजना नगरपालिका कार्यालयको मातहत नहुँदा हामीले ठेकेदार कम्पनी उपर कुनै किसिमको कारवाही प्रकिया समेत अघि बढाउन सकेका छैनौँ ।’

मुलुकमा सबैभन्दा धेरै स्थलमार्गबाट पर्यटक आउजाउ गर्ने रुपन्देहीको बेलहिया नाका हो । धेरै पर्यटक आउजाउ र चहलपहल हुने भए पनि नाकाको अवस्था भने बेहाल छ । धुलो, धुँवा, यत्रतत्र छरिएको फोहोर र जथाभावी गरिने पार्किङले नाकाको अवस्था अस्तव्यस्त भएको हो । नाका व्यवस्थापन राम्रो नभएकोप्रति पर्यटकले पनि गुनासो गर्दै आएका छन् ।

सडक डिभिजनका अनुसार पडसरीमा सर्भिस लेन निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको छ । यहाँ दुई सय मिटर सडकको काम अलपत्र छ । बुटवलको राजमार्ग चौराहादेखि गोलापार्कसम्म निर्माणका लागि ०७३ चैतमा निर्माण कम्पनीसित सम्झौता भएको थियो । २०७६ असोजमा निर्माण पूरा गर्ने सम्झौता अहिलेसम्म नसकिँदा स्थानीयले सास्ती खेप्नु परेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताए । अहिले यो सडकको काम करिब २५ प्रतिशत भएको छ ।

पहिलो पटक ०७७ जेठमा म्याद यो क्षेत्रको सडकको म्याद थपिएको थियो । उक्त अवधिमा काम नभएपछि मन्त्रिपरिषद्बाट निर्णय गरेर ०७९ असारमा म्याद थप भएको थियो । पछिल्लो अवधिमा पनि उल्लेख्य काम नभएपछि सर्वत्र आलोचना भइरहेको छ । राजमार्ग चौराहादेखि गोलपार्क खण्डमा घर नभत्काउन अदालतले दिएको अन्तरिम आदेशले गर्दा ढिलाइ भएको ठेकेदारको भनाइ छ । यो सडक खण्डको लागत ४५ बाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ ।

विद्युत्, टेलिकमका पोल, खानेपानीका पाइपले गर्दा निर्माणमा अवरोध भइरहेको छ । निर्माणमा कुनै प्रगति नदेखिएपछि आयोजनाले गत साउन १३ मा सूचना प्रकाशन गरेर निर्माण कम्पनीसित ठेक्का किन अन्त्य नगर्ने भनेर प्रस्टीकरण सोधेको थियो । त्यसपछि कञ्चनजंघा–बिरुवा निर्माण सेवाले जवाफ पेस गर्दै भदौभित्र बेसको काम सक्ने बताएको थियो । अहिले यो सडक चाँडो सक्न स्थानीय तहले ताकेता गरिरहेका छन् । तर, पालिकाहरुको आग्रह ठेकेदारले बेवास्ता गर्दै आएको बढ्दो छ ।