November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

‘चोर’ बाटोबाट ल्याएको मल खेतबारीमा पुर्‍याउनै मुस्किल

भैरहवा– दुई दिन अघि रुपन्देहीको मर्चवारीस्थित इलाका प्रहरी कार्यालय नजिकै दुईवटा मोटरसाइकल रोकिए । ती मोटरसाइकलमा पहेँलो रंगको बोरामा रासायनिक मल थियो । रोपाइँ सुरु भइसके पनि खेतमा हाल्न यहाँ मल उपलब्ध छैन । त्यसैले सिमावर्ती बासिन्दा भारतीय बजारमा पुगेर मल किनेर ल्याउँछन् । ती दुई व्यक्तिले मोटरसाइकलमा सिमापारीबाट खरिद गरेर मल ल्याइरहेका थिए ।

Advertisement

प्रहरी कार्यालयमा चहलपहल थियो । स्थानीयको भीड थियो । उनीहरु प्रहरी कार्यालय बाहिर सडकमै बसेका थिए । त्यसैले ती दुई मोटरसाइकल ५० मिटर दक्षिण रोकिएका थिए । लामो समय प्रहरीको आँखा छल्ने मौका कुरिरहेका उनीहरु त्यहीबाट फर्किए । अर्को चोरबाटो खोजेर उनीहरु मल गन्तव्यमा पुर्याउन त्यहाँबाट फर्किए ।

Advertisement

रुपन्देहीका ग्रामीण क्षेत्रमा अहिले यस्ता दृश्य सामान्य लाग्छन् । सीमासम्म पुग्ने सडकमा मोटरसाइकल र साइकलमा मल ओसार्ने प्रशस्त देखिन्छन् । एउटा मोटरसाइकलमा चार बोरासम्म मल बोकेका हुन्छन् । मूल भन्दा भित्रिबाटोमा यस्ता ओसारपसारका दृश्य देखिन्छन् । बिहानदेखि साँझसम्म मल ओसार्ने क्रममा उनीहरु कसरी प्रहरीको आँखा छल्न सकिन्छ, त्यसमै ध्यान दिइरहेका देखिन्छन् । सीमा क्षेत्रमा चोरी बाटोबाट मल लिन जानेहरुको लावालस्कर नै लाग्ने गरेको छ ।

स्थानीय अबु हरेरा फकिरले नेपाल–भारत दुबैतिरका प्रहरीसित ‘सेटिङ’ मिलाएर मात्रै मल ओसार्ने गरेको बताए । ‘जो वास्तविक किसान हुन्छ, उसलाई धेरै पीडा छ,’ मर्चवारी गाउँपालिकाका फकिरले भने, ‘दुःख गरेर ल्याएको मल प्रहरीले बरामद गरेपछि रुन बाध्य हुन्छन् ।’

लुम्बिनी प्रदेशका सिमावर्ती जिल्लाका किसानले अहिले यस्तै सास्ती बेहोर्नु परिरहेको छ । तराईका ६ जिल्लाका सिमावर्ती क्षेत्रमै धेरै धान खेती हुने गरेको छ । मध्य असारसम्म सरकारले मल उपलब्ध गराउन सकेको छैन । जसले गर्दा पश्चिम नवलपरासीदेखि बर्दियासम्मका सर्वसाधरण चोरबाटो भएर भारतबाट मल किनेर ल्याउन बाध्य छन् । कृषि सामाग्री कम्पनीको भैरहवास्थित कार्यालयका अनुसार गत माघदेखि यूरिया मल एक बोरा पनि आएको छैन ।

रोपाइँकाबेला यूरिया चाहिने भएकाले किसान भारतीय बजार पुगेर चोरीबाटो हुँदै यूरिया ल्याउन बाध्य छन् । डीएपी, पोटास पनि आवश्यकता अनुसार छैन । कृषि सामाग्री कम्पनीको गोदाम अहिले रित्तै छ । भारतबाट किनेर ल्याएको मल प्रहरीले अबैध मल भन्दै पक्राउ गर्न थालेपछि किसानलाई थप पीडा भएको छ ।

सरकारले मल नदिने र किनेर ल्याएको मल सुरक्षाकर्मीले पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएपछि उनीहरुको लगानी पनि डुबेको छ । दुई दिनअघि बाँकेको नरैनापुर गाउँपालिकाका किसानले भारतबाट किनेर ल्याएको ३३ बोरी यूरिया मल सुरक्षाकर्मीहरुले पक्राउ गरेपछि सरकारको आलोचना बढेको छ ।

‘सरकारले मल दिननसक्ने अनि पारीबाट पनि ल्याउन नदिएर किसानलाई दुःख दिने ?,’ नरैनापुरका अगुवा युवा बिनय दिक्षितको प्रश्न छ, ‘कि नेपाल सरकारले मल दिनु पर्याे होइन भने पारीबाट ल्याउन दिनु पर्यो सरकार ।’ रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, बाँके र बर्दियाका सीमावर्ती क्षेत्रका किसानमात्रै होइन्, भारतीय बजारमा मल किन्न जान पहाडी जिल्लाबाट समेत किसान पुग्ने गरेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले केही पैसा लिएर रातिका समयमा मल ल्याउन दिएर सहयोग पुर्याएको तर नेपाल प्रहरीले दुःख दिएको गुनासो नेपाली किसानहरुको छ । ‘सरकारले एक दाना मल दिन सक्दैन । भारतबाट ल्याउँदा पक्राउ गरेर लिलाम गर्छ,’ किसान भुल्लन खाँ भन्छन्, ‘नेपालमा मल छैन भनेर भारतका प्रहरीले मल ल्याउँदा थोरै रकम लिए पनि देखेर पनि नदेखेको जस्तो गर्छन् । तर आफ्नै देशकाले पक्राउ गरेर दुःख दिन्छन् ।’ सरकारले मल नदिने र भारतबाट ल्याएको पनि पक्राउ गर्न थालेपछि मलविना नै रोपाइँ गर्ने अवस्था आएको हो ।