November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

जब आउँछ बाढी अनि सरकार ताती

भैरहवा– मुलुकमा बाढी पहिरोको समस्या सुरु भइसकेको छ । ठूला र महत्वपूर्ण राजमार्ग पहिरोले दिनहुँ छेकिने गरेका छन् । यसबाट भौतिक र मानवीय क्षति हुन थालेको छ । पूर्व–पश्चिम राजमार्गस्थित कपिलवस्तुको शिवराज नगरपालिका–१ मा सोमबार बाढीको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको थियो ।

Advertisement

प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्किरहेका उनीहरु सवार लु२ख २७१६ नम्बरको फोर्स गाडीबाट ओर्लेर खोला तर्ने क्रममा दुबैलाई भेलले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । बाढीले बगाउँदा भारतको बलरामपुर जिल्लाका १८ वर्षीय सुरज सोनी र १७ वर्षका निखिल कौशलको मृत्युभएको प्रहरी निरीक्षक कपिलजंग शाही बताए ।

Advertisement

गाडीबाट ओर्लिएर भेल तर्न खोज्दा ५ जनालाई बगाएका थियो । ती मध्ये तीन जनालाई स्थानीयले उद्धार गरेका थिए । यो उदाहरण मात्र हो । चितवनको मुग्लिन–नारायणगढ खण्ड र पुथ्वी राजमार्ग अन्तर्गत मुग्लीन–पोखरा खण्डमा ठाउँठाउँमा पहिरोले क्षति भइरहेको छ । वर्षा हुन थालेपछि खोला नाला बढेर बस्ती र खेतीयोग्य जमिन कटान हुन थालेका छन् । स्थानीय पिरमा छन् । सरकारले भने वर्षाले क्षति पुर्याउन थालेपछि विपत पूर्व तयारी अभ्यास थालेको छ ।

यसलाई बाढी र कटान पीडितले ‘लगन पछिको पोते’ जस्तो भएको बताएका छन् । कटान र डुवान रोकथामलाई सरकारले प्राथमिकता नदिएको उनीहरुले गुनासो गरे । ‘क्षति होला र खोलामा पसेर उद्धार गरौंला भनेर अभ्यास गरेका होलान,’ पश्चिम नवलपरासीका एक बाढी पीडितले भने, ‘हाम्रा समस्या कहिल्यैं सम्बोध भएनन् । जब बाढी आउन थाल्यो, अनि तीनै तहका सरकार तातेका छन् ।’

पश्चिम नवलपरासीमा सुरक्षाकर्मीले एक साताअघि विपत पूर्व तयारी अभ्यास गरेका थिए । मनसुनबाट हुनेसक्ने क्षति न्युनिकरणका लागि पाल्हिनन्दन गाउँपालिकामा प्रयोगात्मक अभ्यास गरिएको थियो । सदरमुकाम परासीस्थित सेनाको गोरखदल गण र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा अभ्यासमा गरिएको थियो । उक्त अभ्यासमा जिल्लास्थित तीन तहकै सुरक्षाकर्मी सहभागी थिए ।

बाढी र डुबान जोखिमका हिसाबले ७७ जिल्ला मध्ये पश्चिम नवलपरासी १७ औं स्थानमा रहेको छ । प्रयोगात्मक अभ्यासबाट सुरक्षा निकायलाई राहत र उद्धारका लागि सिकाइ हुने र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

त्यस्तै सोमबार बाँकेमा पनि यस्तो अभ्यास गरिएको थियो । बाँके मुलुकमा धेरै बाढीले सताउने मध्येकै जिल्ला हो । जिल्ला प्रशासनले जनचेतनामूलक अभ्यास गरिएको जनाएको छ । बाँकेको राप्ती नदीमा सुरक्षाकर्मीले अभ्यास गरेका थिए । यसमा सरोकारवाला संस्था सहभगथी थिए । राप्ती नदीमा आउने बाढीले बर्षेनि सयौं किसानको उर्वर भूमि कटान गर्दै आएको छ ।

तटीय क्षेत्रका बस्ती डुवानमा पर्दै आएका छन् । २०७१ सालको बाढीबाट विस्थापित भएकाहरुको घरबासको टुङ्गो अझै लागेको छैन । यस्तो बेलामा नहरको पानी सुक्खा खेतमा पुर्याउनुको साटो नदीमा झारेर गरिएको उद्धार अभ्यासलाई डुवान प्रभावित क्षेत्रका बासिन्दाले कर्मकाण्डीको संज्ञा दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नदीमा पानीको सतह कम भएपछि सिक्टा सिचाइँ आयोजनासित अनुरोध गरेर नदीमा पानी बढाएको बताए ।

आगामी दिनमा खोज–उद्धार कसरी गर्ने ? जनचेतनामूलक अभ्यास गरिएको उनले बताए । प्राकृतिक विपतको जोखिमबाट बच्न पहाडी जिल्लामा पाल्पामा अभ्यास मनसुन प्रदर्शन गरिएको थियो । एकसाता अघि विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्यदक्षता अभिवृद्धि भई व्यवहारिक ज्ञान हासिल गर्न सुरक्षाकर्मीले उर्लिरहेको कालीगण्डकीको भेलमा अभ्यास मनसुन सम्बन्धी प्रदर्शनी गरेका हुन् ।

रानीमहल क्षेत्रमा नेपाली सेनाको दि फेमस महिन्द्रदल गणको आयोजनामा भएको प्रदर्शनीमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोग रहेको थियो । मनसुन सिजनमा अविरल वर्षाको कारण नदीको बहाव बढ्ने र बस्तीहरु डुबानमा पर्ने गर्छ । बाढीको जोखिम रहने क्षेत्रमा घरेलु सरसामान प्रयोग गरेर पनि सम्भावित जोखिमबाट आफू र आफ्नो महत्वपूर्ण सामाग्री सुरक्षित गर्न सक्छौ भन्ने प्रदर्शनीमा देखाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।