नदीमा ‘तस्कर’को रजाइँ



भैरहवा– नदीमा ठूला–ठूला मेसिन हालेर जहाँ पायो, त्यहीबाट गिटी, बालुवा उत्खनन् गर्ने नयाँ रहेन । मेसिन लगाएर नदीनाला दोहन गर्दा कुनै मापदण्ड अपनाइएको छैन । वातावरणी प्रभावलाई खिल्ली उडाइन्छ र उडाउँदै आइरहेको छ । यस्ता उत्खननमा बैधानिक भन्दा चोरी तस्करको रजाइँ बढी पाइन्छ । बैधानिकता पाएकाले पनि मनपरी गर्ने गरेका छन् ।
पछिल्लो समय लुम्बिनी प्रदेशका खोलानाला गिटीबालुवा उत्खननको होड छ । यसपाली उत्खननको समयमा स्थानीय तह निर्वाचन परेपछि धेरै खोलानालामा उत्खनन र निकासीका लागि ठेक्का लाग्न सकेन । जसले गर्दा गिटी, बालुवा उत्खननमा मनपरी पाइएको छ । दिनरात चोरी–तस्करी भइरहेको छ । रुपन्दहेहीका तिनाउ, दानव, रोहिणी सबै नदीमा चोरी–तस्करी व्यापक छ । चोरी–तस्करी बढेकै कारण अहिले यी नदीमा धेरै ठेक्का विक्री पनि भएनन् ।
प्रदेशका नदीहरुमा अहिले ‘बाहुबल’को भरमा प्राकृतिक स्रोतमा मनपरि गरिएको छ । राप्ती, बबई नदीमा पनि दोहन उस्तै छ । स्थानीय तह र प्रशासनले निर्वाचन देखाएर आँखा चिम्लेपछि उत्खननकर्तालाई ‘स्वर्ग’कै माहोल बनेको थियो । यहाँका खोलामा असार पहिलो सातासम्मै जथाभावी चलिरहेको छ । खोला ठेक्कामा लिन स्थानीय तह, जिल्ला समन्वय समिति र प्रशासनमा ‘सेटिङ’ मिलाएका व्यवसायीले ठूला र अत्याधुनिक मेसिन सञ्चालन गरेका थिए ।
‘नदी दोहनको व्यापक गुनासो आएको छ, यसबाट सबै आजीत छन्, यसलाई रोक्नुपर्छ’, जिल्ला समन्वय समिति रुपन्देहीका नवनिर्वाचित प्रमुख उमाकान्त चपाईले भने, ‘मेरो कार्यकालमा नदी दोहनलाई निस्तेज पार्ने काम हुनेछ ।’ नदी उत्खननका लागि सरकारले तय गरेका मापदण्डको खिल्ली उडाएएर लुम्बिनी प्रदेशमा दोहनका काम भएका छन् । यसको कुनै निकायले नियमन गरेको देखिएन । यसपाली स्थानीय टोल, युवा, क्लव समूहलाई समेत भागबण्डा मिलाएपछि नदीनाला आसपास बिरोध गर्ने कोही भएनन् ।
‘जेठ १५ यता डोजर चलाएर उत्खनन गरेको देखियो,’ एक प्रहरी अधिकृतले भने, ‘कतै रोकतोक नभएपछि खोलाको बलात्कार नै भयो ।’ लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका खोलानालाबाट प्रत्येक वर्षा अगाडि गिटीबालुवा उत्खनन गरिँदैं आएको छ । पहाडबाट नदी, खोलाले बगाएर ल्याएका गेग्रान थुप्रिएर डुवान र कटानको जोखिम नहोस भनेर प्रत्येक वर्ष वातावरणीय मापदण्ड पालना गरेर ठेक्का मार्फत उत्खनन गरिँदैं आएको छ । त्यसको नियमन स्थानीय तहले गर्नुपर्ने हुन्छ । जनप्रतिनिधिदेखि कर्मचारीको कमाईको आधार भएकाले ती निकायले आँखा चिम्लिने गरेको स्थानीय अगुवा बताउँछन् ।
एक गिटी बालुवा व्यावसायीका अनुसार यसपटक ठेक्का मार्फत मापदण्ड पुर्याएर उत्खनन गर्ने कम छन् । धेरैले खोलाको निश्चित क्षेत्र कब्जा गर्दै चोरी, तस्करी गरेको पाइएको छ । यस्ता चोरी तस्कर दिनरात सक्रिय हुँदा समेत कसैले कारबाही नगरेको ती व्यावसायीले बताए ।
यसवर्ष चोरी तस्करका कारण बाँकेको राप्ती नदी संकटमा परेको छ । उक्त नदीबाट गिटी बालुवा उत्खननका लागि तस्करीमा संलग्नले भागबण्डा नै गरेका छ । नदीमा बाँध बाँधेर खोला बण्डा गरेर दोहोन गरेको पाइएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका भएर बग्ने राप्तीबाट ढुङगा, गिटी र वालुवाको अबैध उत्खनन, संकलन र बिक्री बितरणगर्न नदीलाई दुई भागमा विभाजन गरिएको छ । स्थानीय बासिन्दाका अनुसार उक्त नदीमा जेसीबी सञ्चालन गरेर चौबिसैं घण्टा मनपरी उत्खनन भइरहेको छ ।
नदी भित्र र तटिय क्षेत्रमा ढुङगा, गिटी र वालुवा भर्न राखिएका टिप्पर र ट्याक्टर छ्याप छ्याप्ती देखिन्छन । संगठित रुपमा दोहोन गर्नेको कब्जामा राप्ती नदी परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाबाट गएको अनुगमन टोलीले अबैध उत्खनन् तथा संकलन भइरहेको बताए । उनका अनुसार अनुगमन टोलीले अहिले सम्म तटिय क्षेत्रको ७० स्थानमा २ करोड २२ लाख १३ हजार ३ सय २२ घनफिट गिटी ढुङगा फेला परेको छ । जसको बजार मूल्य कम्तिमा मुल्य ३१ करोड ६३ लाख १७ हजार ७ सय ३ रुपैयाँ पर्छ ।
रुपन्देहीको कञ्चन, दानव, पहिला, घमाहा, इङ्गुरिया, तुल्बुलिया र बन्द्राहा यी सबै रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रमा पर्ने खोला हुन् । यस्ता प्राकृतिक स्रोत साधनबाट हुने आम्दानीले नगरको आन्तरिक आय बढाएको छ । वार्षिक करिव ६ करोड नदीजन्य पदार्थबाट नगरपालिकाले आम्दानी लिन्छ । यो वर्ष यहाँका यी खोलामा दोहन अत्यधिक भयो ।
सैनामैना, तिलोत्तमा नगरपालिका तथा मायादेवी, शुद्धोधन, गैडहवा, सियारी गाउँपालिकाले नदीहरुमा ठेक्का लगाए पनि पुरै ठेक्का लागेनन् । अधिकांश ठेक्का लगाएका ठाउँमा चोरी भएर ठेक्का विक्री नै भएन । लगाएका ठाउँमा कसैले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छैनन् । जिल्ला प्रशासन कार्यालयले बन्द गर्न गरेको निर्देशन स्थानीय तहले अवज्ञा गरेका छन् ।
वर्सेनि नदी कटानका कारण बस्ती जोखिममा पर्दा समेत रुपन्देहीमा नदी दोहन रोकिँदैन । अत्यावश्यक बाहेकका सवारी संचलनमा रोक लगाउने प्रशासनले नदी दोहन गर्नेलाई भने खुल्लम खुल्ला छाडेको छ । स्थानीय तह राजश्व आउने नाममा मुकदर्शक बनेका छन् । ‘अत्यावश्यक सामाग्री ढुवानीको मात्र अनुमति दिएको प्रशासनले बिक्रीका लागि लाने तरकारीमा समेत रोक लगाएको छ । तर जतात्यतै खोलाहरुबाट बालुवा तस्करी गर्ने टिप्परहरु निर्वाध सञ्चालन भैरहेका छन् । यो गुनासो कसलाई पोखू ?’, किसान रोहित पासवानले भने ।
विक्री आदेशको बेवास्ता छ । जतिबेला मन लाग्यो उतिबेला विक्री गरिरहेका छन् । स्थानीय तहले गरेको वातावरणीय प्रभाव मूल्यांकनको कुनै पालना छैन । सबै घाटमा ठेकेदारले तोकिएको भन्दा कयौंगुना नदीजन्य पदार्थ उत्खनन् गरेका छन् । यसलाई रोक्न न प्रशासन तम्तयार छ न त स्थानीय सरकार ।
यसवर्ष सबैभन्दा बढी नदी दोहन तिलोत्तमा, सैनामैना, सियारी, मायादेवी र गैडहवा गाउँपालिकामा क्षेत्रमा पर्ने खोलामा छ । जथाभावी नदी दोहनले मानव मात्रै असर गरेको छैन, जलचर जीवजन्तुसमेत नासिँदै गएका छन् । भू–क्षयको खतरा उस्तै छ । तिनाउ, दानव र रोहिणीले बर्सेनि खटान गर्दा नदी छेउका सयौं घर जोखिममा छन् । विगतमा कयौं घर बगे, कतिको ज्यान गयो ।
बर्सेनि हुने मानवीय र जनधनको क्षतितर्फ कसैको ध्यान छैन । राजश्वमात्रै देख्ने स्थानीय सरकार वातावरणीय प्रभावप्रति कत्ति पनि चिन्तित छैन । जथाभावी नदी दोहन गरेर गिटी–बालुवा बोकेर हिँड्ने ट्याक्टर, टिपरले पानीका धारा चुहाउँछन् । यसले सडक ध्वस्त बन्दै गएको छ । जिल्ला समन्वय समिति अनुगमनको नाममा गुमनाम छ ।
रुपन्देहीको मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले चोरी तस्करीले गर्दा यस वर्ष अधिकांश ठाउँमा ठेक्का नलागेको बताए । ‘हामीले ७ ठाउँमा ठेक्का लगाएका थियौं तर जम्मा दुई ठाउँमा मात्रै ठेक्का लाग्यो, पाँच ठाउँ लागेन’, उनले भने, ‘चोरीतस्करी भएका कारण गिटी बालुवा नभएको भन्दै ठेक्का लिन ठेकेदार मानेनन्, यसबाट पालिकाले करोडौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ ।’ उनले केही गरे पनि तस्तरी रोक्न नसकिएको जनाए ।
वातावरणविद्हरुले तिनाउ, दानव, रोहिणी लगायत रुपन्देहीका नदीहरुमा भइरहेको मनपरीले जिल्लाकै भविष्य खतरामा परेको भन्दै चिन्ता गर्दै आएका छन् । पटकपटक प्रशासन, स्थानीय तह, प्रदेश सरकारलाई सचेतसमेत गराएका छन् । मनपरी दोहन रोक्न कुनै पनि निकाय अग्रसर छैनन् । जिल्लामा विकास निर्माणका नाममा पनि नदी उस्तै होहन छ । ठेक्का सुरु नहुँदै महिनौं अघिबाट सेटिङमा ठेकेदारले खोला उत्खनन् गर्छन् । व्यापारिक मार्ग, विमानस्थल, बुटवल सभाहल, पुल निर्माण लगायत अन्य आयोजनाका नाममा तिनाउमा महिनौदेखि दोहन छ । यसरी आयोजनाका नाममा दिइएको ठेक्कामा स्थानीय तह, प्रशासन र समन्वय समितिले कति उत्खनन् भयो भनेर कहिल्यै जाँचबुझ गरेको पाइँदैन ।








प्रतिकृया दिनुहोस्