यस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)



बुटवल– लुम्बिनी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता राख्दै आगामी आर्थिक वर्ष २०७९–२०८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सभाको बुधबार बसेको दशौं बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेका हुन् ।
नीति तथा कार्यक्रममा सुशासनका लागि हेलो मुख्यमन्त्री, शैक्षिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम समावेश गरिएको छ । यस्तै, डिटिलल प्रदेश निर्माण कार्यक्रम अगाडि बढाउने उल्लेख गरिएको छ । पूराना कार्यक्रमलाई निरन्तरता दिँदै ल्याइएको नीति कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले दुई देशको सम्बन्ध सुधार भएको उल्लेख गरिएको छ ।
प्रदेश राजनधानी दाङको राप्ती–देउखुरी, लुम्बनी प्रादेशिक अस्पताल, प्रदेश विश्व विद्यालय, जीवराज आश्रित सडक निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयाजनामा अगाडि बढाइने प्रदेश प्रमुखद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्यमा आम नागरिकको अधिकारलाई पूर्णता दिन भन्दै स्वास्थ्य संस्थाका भवन निर्माण, औषधिको उपलब्धता ग्यारेन्टी गरिने जस्ता कार्यक्रम समेटिएको छ ।
लुम्बिनी प्रादेशिक मुलककै नमूना अस्पताल बनाउने र विस्तारै मुलककै नमूना मेडिकल कलेज सञ्चालन गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ । प्रदेश सरकारबाट प्रदान गरिने अनुदान प्रणालीको पुनरावलोकन गर्ने, विशेष गरी कृषि क्षेत्रमा दिइँदै आएको अनुदानको ढाँचा र स्वरुप परिवर्तन गरी कृषकले गर्ने उत्पादनका आधारमा संघ तथा स्थानीय तहसँग दोहोरो नपर्ने गरी अनुदान प्रणालीलाई व्यवस्थित गर्ने जनाइएको छ । अनुदानको एकीकृत अभिलेख राखी ‘अनुदान अनुगमन व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा ल्याइने नीति कार्यक्रममा जनाइएको छ ।
कृषि प्रणालीको प्रवद्र्धन, यान्त्रिकीकरण, आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गरिने, खाद्य सम्प्रभूताको मान्यता अनुरुप जलवायु र माटो अनुकूलनको खाद्यान्न उत्पादनलाई प्रोत्साहन गरी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खाद्यान्नको दिगो उत्पादन, आपूर्ति, सञ्चय, सुरक्षा र प्रभावकारी वितरणको व्यवस्था मिलाइने, कृषि उत्पादनको आयात घटाउने र निर्यात बढाउने विषयलाई प्रदेशको प्राथमिकतामा राखिने नीति कार्यक्रममा समेटिएको छ ।
कृषि पूर्वाधार, बजार सूचना प्रणाली, उद्यमशीलता र गुणस्तर कायम गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र कृषि विकासमा महिला सहभागिता अभिवृद्धि गरी स्वरोजगार सिर्जना हुने वातावरण मिलो, परम्परागत कृषि ज्ञान, सिप र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्दै रैथाने बाली तथा स्थानीय पशुपन्छीहरूको उत्पादनमा विशेष जोड उल्लेछ छ ।
‘प्रदेश भित्र सम्भावना भएका च्याउ, मह, पुष्प, अदुवा, बेसार, रेशम, कफी, उखु, चिउरी, काफल, आँप, केरा लगायतका बाली तथा पशु वस्तुहरूको उत्पादन, प्रशोधन, ढुवानी र बजारीकरण प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरिनेछ । माहुरी पालनलाई व्यवस्थित गर्न सम्बन्धित संघ संस्थासँगको सहकार्यमा माहुरी उत्पादन केन्द्र सञ्चालन गरी माहुरी पालन कार्यक्रमलाई विस्तार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
‘एक स्थानीय तहः एक नमूना उत्पादन‘ कार्यक्रम कार्यान्वयन गर्ने र कृषिमा सुलभ कर्जा सहजीकरण, युवा विशेष कार्यक्रम सञ्चालन तथा कृषि अनुदानलाई प्रतिफलमा आधारित बनाइने बताइएको छ । सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने कार्यलाई निरन्तरता दिने, जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइते र जनयुद्धका पूर्व लडाकुहरूको निःशुल्क स्वास्थ्य बीमा गर्ने, बेपत्ता पारिएका परिवारका सदस्यहरूका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने नीति कार्यक्रममा समेटिएको छ ।
लैङ्गिक तथा घरेलु हिंसा, मानव बेचबिखन पीडित एवं विपद् लगायत अन्य जोखिममा परेका महिलाहरूको तत्काल संरक्षण र सुरक्षाका लागि स्थानीय तहमा सुरक्षित आवास गृह निर्माण एवं सञ्चालन गर्न सहयोग र समन्वय गर्ने, जगदिशपुर र बढैया ताल एवं आसपासका क्षेत्र समेटी ‘चरा आरक्ष क्षेत्र’ घोषणा गरी चराको शिकार गर्न निषेधित गर्ने, चराहरूको संरक्षण र पर्यापर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना र जीविकोपार्जनमा सहयोग गर्ने कार्यक्रम सञ्चालन गरिने, वन अतिक्रमण पूर्णरुपमा निषेध गर्ने, वन सम्पदाको संरक्षणलाई सबैको साझा दायित्वको रुपमा स्थापित गर्ने कुरा उल्लेख गरिएको छ । लगानीमैत्री वातावरण निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, पूर्वाधार निर्माण, खानेपानी तथा विद्युतमा पहुँच, रोजगारी सिर्जना, मानव पूँजी निर्माण, आय असमानता तथा गरिबी न्यूनीकरण, दिगो विकास र पर्यावरणीय सन्तुलन, गुणस्तरीय सार्वजनिक सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन र सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।
पूर्णपाठ हेर्नुहोस्








प्रतिकृया दिनुहोस्