जो दोस्रो प्रयासमा पालिका प्रमुख हुन सफल भए



भैरहवा- रुपन्देहीका ८ पालिकामा निर्वाचित प्रमुख/अध्यक्षहरु दोस्रो प्रयासमा बल्ल मतदाताबाट अनुमोदित हुन सफल भएका छन् । २०७४ मा प्रमुख/अध्यक्षको उम्मेदवार भएर पराजित भएका उनीहरु २०७९ को स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बन्दा मतदाताबाट अनुमोदित भएर पालिकाको नेतृत्वमा पुगेका हुन् ।
२०७४ मा नेपाली काँग्रेसबाट बुटवल उपमहानगरपालिकामा प्रमुखको उम्मेदवार बनेका खेलराज पाण्डे एमालेका शिवराज सुवेदीसँग दुई हजार ३९८ मतान्तरले पराजित भएका थिए । पाँच दलीय गठबन्धनबाट यसपटक पुनः प्रमुखको उम्मेदवार बनेका काँग्रेसका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३१ मत अन्तरले पराजित गर्दै विजयी भएका छन् । दोस्रो प्रयासमा उपमहानगर प्रमुख हुन सुफल पाण्डेले ३० हजार २४९ मत ल्याएर निर्वाचित हुँदा एमालेका भट्टराई २२ हजार ७१८ मत ल्याए ।
यस्तै, दोस्रो प्रयासमा नगर प्रमुख हुन सफल भएका नेता हुन्, काँग्रेका रामकृष्ण खाँण ।अघिल्लो निर्वाचनमा तिलोत्तमा नगरपालिकामा एमालेका बासुदेव घिमिरे नगर प्रमुमा निर्वाचित हुँदा खाँण दोस्रो स्थानमा आएका थिए । यसपटक भने उनले एमालेका मोहन चापागाईलाई ७६५ को झिनो मतान्तरले पराजित गर्दै नगर प्रमुखमा विजयी भएका छन् । काँग्रेसका जिल्ला सभापति समेत रहेका खाँणलाई योपल्ट नेकपा माओवादी केन्द्रको पनि समर्थन थियो । खाँणले २४ हजार ३९६ मत पाएर विजयी हुँदा एमालेका चापागाईले २३ हजार ६३१ मत ल्याए ।
सैनामैना नगरपालिकाको प्रमुखमा निर्वाचित काँग्रेसका फणेन्द्रप्रसाद शर्मा पनि दोस्रो प्रयासमा सफल भएका छन् । अघिल्लोपटक एमालेका चित्रबहादुर कार्कीसँग पराजित शर्माले यसपटक उनै कार्कीलाई झिनो मतान्तरले हराउँदै नगर प्रमुख निर्वाचित भएका हुन् । शर्माले कार्कीलाई ५८२ मतले पराजित गरेर नगर प्रमुख निर्वाचित भएका हुन् । शर्माले १५ हजार ६८६ मत ल्याउँदा एमालेका कार्कीले १५ हजार १०४ मत पाए । शर्मालाई यसपटकको निर्वाचनमा माओवादीको पनि समर्थन थियो ।
नेपाली काँग्रेसका बसी उल्लाह मुसलमानलाई एक हजार २४३ मत अन्तरले पराजित गर्दै गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा एमालेका सुरेन्द्र पौड्याल पनि दोस्रो प्रयासमा बल्ल सफल भएका हुन् । अघिल्लो निर्वाचनमा पौड्याल तेस्रो स्थानमा रहँदा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जनता समाजवादी पार्टी) का बछु केवट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको निर्वाचनमा भने पौड्यालले ५ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा दोस्रो स्थानमा रहेका काँग्रेसका मुसलमानले ४ हजार ३८८ मत पाए ।
२०७४ मा स्वतन्त्र उम्मेदवारी दिएर तेस्रो स्थानमा रहेका बालकृष्ण त्रिपाठी योपटक भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बाट उम्मेदवार बनेर कोटहीमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हाल जसपाका चन्द्रभूषण यादव अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक त्रिपाठीले नेपाल जनता पार्टीका अशोककुमार कलवारलाई ३९९ मतान्तरले पाराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । त्रिपाठीले ४ हजार ६३८ मत पाएर निर्वाचित हुँदा कलवारले ४ हजार २३९ मत ल्याए ।
यस्तै, नेकपा एमालेका मन्जितकुमार यादव पनि दोस्रो प्रयासमा बल्ल ओमसतिया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । २०७४ मा तत्कालीन संघीय समाजवादी फोरम हाल जसपाबाट अध्यक्षका उम्मेदवार बनेका यादव नेकपा माओवादी केन्द्रका हिरा केवटसँग पराजित भएका थिए । उनले यसपटकको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तिलकसिंह कोइरालालाई १ हजार ६९६ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । यादवले ४ हजार ८३२ मत ल्याउँदा राप्रपाका कोइरालाले ३ हजार १३९ मत प्राप्त गरेका छन् ।
जिल्लाकै सम्मरीमाई गाउँपालिका अध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका विनोदकुमार श्रीवास्तव पनि दोस्रो प्रयासमा सफल भएका छन् । यसअघि तत्कालीन फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लसँग पराजित श्रीवास्तले यसपटक माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका उनै शुक्ललाई ६३२ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । श्रीवास्तवले ४ हजार १३४ मत ल्याएर निर्वाचित हुँदा माओवादीका शुक्लले ३ हजार ५०२ मत पाएका छन् ।
नेपाली काँग्रेसका जिल्ला उपसभापति समेत रहेका सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे नेकपा एमालेका अयोध्या थारुलाई दुई हजार ७७७ मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका छन् । यसअघिको निर्वाचनमा उनै थारुसँग पराजित घिमिरेले दोस्रो प्रयासमा बल्ल पालिका नेतृत्वमा पुगेका हुन् । घिमिरे १० हजार ४५ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा एमालेका थारुले ७ हजार २६८ मत प्राप्त गरेका छन् । घिमिरेले यसपटक आफूलाई विश्वास गरेर मतदाताले नेतृत्वमा पुर्याएको बताउँदै पालिकाको एकीकृत विकासमा लागि पर्ने बताए । उनले आफ्नो कार्यकालमा जनभावनालाई उच्च प्राथमिकता दिएर काम गर्ने जनाए ।









लेखकको सम्वन्धमा