जो दोहोरिन खोजे तर मतदाताले पत्याएनन्



भैरहवा- मुलुक संघीयतामा गएपछि भएको पहिलो स्थानीय तह निर्वाचन–२०७४ मा प्रमुख/अध्यक्षमा निर्वाचित भएर २०७९ मा पुनः सोही पदमा उम्मेदवार बनेका रुपन्देहीका १० पालिकाका उम्मेदवार पराजित भएका छन् । अर्थात् उनीहरु यो पटक जनताबाट अनुमोदित हुन सकेनन् । एक पालिका प्रमुख भने पुनः अध्यक्षमा दोहोरिएर निर्वाचित भएका छन् । मायादेवी गाउँपालिकाको अध्यक्षमा ध्रुवनारायण चौधरी दोहोरिएका हुन् ।
उपाध्यक्ष तथा उपप्रमुख भने पुनः सोही पदमा दोहोरिएका धेरै छन् । २०७४ मा स्वतन्त्रबाट लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा निर्वाचित मनमोहन चौधरी यसपटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार बनेर पराजित भएका छन् । यस्तै, यसअघि एमालेबाट सैनामैना नगरपालिकाको नगर प्रमुख जितेका चित्रबहादुर कार्की, सियारी गाउँपालिकाबाट अध्यक्ष निर्वाचित अयोध्या थारु, शुद्धोधन गाउँपालिकाबाट अध्यक्ष जितेका किशुनचन्द्र चौधरी दोस्रो स्थानीय तह निर्वाचनमा भने पराजित भए ।
तत्कालीन संघीय समाजवादी फोरम, नेपाल हाल जनता समाजवादी पार्टी (जसपा)बाट मर्चवारी गाउँपालिका अध्यक्ष निर्वाचित केशवनन्द बनिया, कोटहीमाई गाउँपालिकाबाट अध्यक्ष निर्वाचित चन्द्रभूषण यादव, गैडहवा गाउँपालिकाको अध्यक्ष जितेका बछु केवट र रोहिणी गाउँपालिका अध्यक्षमा विजयी सनोजकुमार यादव पनि यसपटक उम्मेदवार बन्दा जनताबाट अनुमोदन हुन सकेनन् । मर्चवारीका बनियाँ जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बाट २०७९ को निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका हुन् । यस्तै, कोटहीमाईका यादव र गैडहवाका केवट जसपा तथा रोहिणीका यादव नेकपा एमालेबाट उम्मेदवार बनेर पराजित भएका हुन् ।
देवदह नगरपालिकामा नेपाली काँग्रेसबाट यसअघि नगर प्रमुखमा निर्वाचित हिराबहादुर खत्री सोही पदमा उम्मेदवार बन्दा यसपल्ट पराजित भए । तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला पनि यसपटक नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर पराजित भएका छन् ।
विश्लेषक उमेशचन्द्र रिजाल जनभावनाअनुसार काम गर्न नसक्नेहरुलाई यसपटक जनताले दण्डित गरेको बताउँछन् । ‘धेरैले आफ्नै लागि मात्र लाभ हेरे, जनताको चाहानाअनुसार काम गरेनन्, सुशासनमा चुके यसैकारण फेरि उम्मेदवार बनेका उनीहरुलाई जनताले दण्डित गरेको म ठान्छु’, उनले भने ।
रिजालले जनतामा जुन किसिमको विकासको चाहना छ, त्योअनुसार काम गर्न नसके अहिले निर्वाचित जन्रतिनिधिलाई पनि आउने पाँच वर्ष जनताले दण्डित गर्ने बताए । उनले धेरै ठाउँमा स्वतन्त्र र युवा उम्मेदवार विजयी हुँदा पहिला काम गरेको अनुभवी उम्मेदवारहरु पराजित हुनु भनेको स्थानीयको अपेक्षाअनुसारै काम गर्न नसकेको जनाए ।
दोहोरिने एक्ला अध्यक्ष
रुपन्देहीमा १६ स्थानीय तह छन् । जसमध्ये यसअघि जितेका ११ वटा पालिकाका प्रमुखहरु पुनः दोहोरिने चाहाना राख्दै स्थानीय निर्वाचन–२०७९ मा उम्मेदवार बनेका थिए । तर, १० जनाले पराजय भोग्दा एकजना भने विजयी हुन सफल भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका जिल्लाको मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी दोहोरिएका हुन् । उनले ५ हजार ३८६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोसपाका रामअधारे अहिरले ४ हजार ९८८ मत ल्याएका थिए ।

यसअघि पनि नेपाली काँग्रेसबाट उम्मेदवार बनेर मायादेवीको अध्यक्षमा निर्वाचित भएका चौधरीले जनभावना बुझ्न सकेकै कारण दोस्रोपल्ट पनि आफूले गाउँबासीको माया पाएको बताउँछन् । ‘पहिलो कार्यकालमा धेरै सुधारका काम गरियो, विकासको जग बसाल्यौं’, उनले भने, ‘अब पुराना कामलाई निरन्तरता दिँदै नयाँ योजना ल्याउँछौं, समृद्ध मायादेवी बनाउन सबैसँग हातेमालो गरेर काम गर्छौं’, उनले भने । चौधरीले स्थानीयको तीव्र विकासको चाहनामा कुनै ठेस लाग्न नदिने गरी आफूहले काम गर्ने बताए ।
शक्ति गुमायो एमालेले, आर्जन गर्यो काँग्रेसले
२०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा जिल्लामा एमाले पहिलो शक्ति भएको थियो । यसपटक दोस्रो शक्तिमा झरेको छ । २०७४ मा एमाले ७ वटा स्थानीय तहमा प्रमुख/अध्यक्ष र ८ वटामा उपप्रमुख/उपाध्यक्ष जित्दै पहिलो शक्ति बनेको थियो । एमालेले उसबेला बुटवल उपमहानगरपालिका सहित सैनामैना, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधन र कंचन गाउँपालिका जितेको थियो ।
तत्कालीन संघीय समाजवादी फोरम, नेपाल हाल जसपाले मर्चवारी, कोटहीमाई र गैडहवा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा रोहिणी गाउँपालिका अध्यक्ष र लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपप्रमुख जितेर दोस्रो शक्ति बनेको थियो । काँग्रेसले देवदह नगरपालिकाको प्रमुख र मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा सम्मरीमाई गाउँपालिकाको उपाध्यक्ष जितेको थियो ।
नेकपा मओवादीले केन्द्रले ओमसतिया गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख जितेका थिए । तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेको थियो ।
अहिलेसम्म जिल्लाका १५ पालिकाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले ९ वटा पालिका प्रमुख र ५ वटामा उपप्रमुख/उपाध्यक्ष जित्दै पहिलो दल बनेको छ । कांग्रेसले बुटवल उपमहानगरपालिका, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक नगरपालिका तथा मायादेवी, सियारी, शुद्धोधन, सम्मरीमाई र कंचन गाउँपालिकाको प्रमुख÷अध्यक्ष जित्न सफल भएको हो ।
नेकपा एमालेले भने देवदह नगरपालिका, ओमसतिया र गैडहवा गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेको छ । एमालेले ६ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ । लोसपाले कोटहीमाई गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र मायादेवी गाउँपालिकाको उपाध्यक्षमा जित निकालेको छ । जसपाले रोहिणी गाउँपालिकाको अध्यक्ष जितेको छ भने हृदयेश त्रिपाठी नेतृत्वको नयाँ दल जनता प्रगतिशिल पार्टी, नेपालले मर्चवारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रोहिणी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । तिलोत्तमा नगरपालिकाको भने मत गणना जारी छ ।









लेखकको सम्वन्धमा