November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

‘चिसो मान्छे’को ट्रेलरका यी दृश्य

 दृश्य कफिनको । दृश्य आकर्षण र भरोसाको । दृश्य पारिवारिक बन्धन र उल्झनको अनि दृश्य समय र बिम्बको । यसैकै सेरोफेरोमा घुमेको छ, असार ३ गते रिलिज हुने चलचित्र ‘चिसो मान्छे’को आज सार्वजनिक ट्रेलर ।

Advertisement

अक्सर नेपाली समाजको नजिक रहेर चलचित्र निर्माण गर्ने निर्देशक हुन्, दीपेन्द्र के खनाल । समाजमा रहेको विसंगति प्रायः उनले उठाउने विषय हुन् । हरेक व्यक्तिले भोगिरहेको तथा देखिरहेको तर नजरअन्दाज गरिरहेको विषयलाई दृश्य भाषामा देखाउन सिपालु निर्देशकको छवि बनाएका दीपेन्द्र नयाँ चलचित्र लिएर दर्शकमाझ आउन लागेका छन् । 

Advertisement

मृत्यु भएको श्रीमानको शव दाहसंस्कार गर्न नपाउँदै भविश्यबारे सोच्ने महिलाको कथा ट्रेलरमा देखाइएको छ । यसका लागि दीपेन्द्रले नायिका स्वस्तिमा खड्कालाई विश्वास गरेका छन् । 

उमेरमै जीवन साथी गुमाएपछि त्यसले दिने चोट, परिवार, समाजको नैतिक बन्धन र मनको गुप्त चाहनालाई ट्रेलरले छर्लङ्ग पारेको छ । 
 
वैदेशिक रोजगारीमा गएको श्रीमान कफिनमा फर्किएपछि वैशालुबय भर्खरै सुरु हुँदै गरेकी श्रमतीलाई कति चोट पर्छ ? ट्रेलरका दृश्यमा स्पष्ट देखिन्छ । तर, त्यो घाउ सेलाउन नपाउँदै लोकलाजको भयले परिवारले सम्झाइरहने नैतिक बन्धन ट्रलेरले देखाएको छ ।  

लामो जिन्दगीका सपना पूरा नहुँदै औल्याएको देखाइएको ट्रेलरले मनका आंकाक्षा परिपूर्ति गर्न श्रीमान गुमाएकी महिलाले कसरी संघर्ष गर्छिन् ?, चाहना पूरा गर्न सक्छिन् कि सक्दिनन् ? कौतुहल सिर्जना गर्छ । भलै बिम्बका रुपमा आएका दृश्यले अनुमान गर्ने ठाउँ दिएका छन् । 

समयसँगै सतहमा धेरै परिवर्तन भएको देखिए पनि अझै समाजका कतिपय नैतिक बन्धनका कारण एकल महिलाहरू शारीरिक रुपमा सति जानु नपरेपछि मानसिक रुपमा कठोर यातना भोगिरहनु परेको निर्देशकले ट्रेलरमा देखाएका छन् । पटक–पटक देखाइने डुब्दै गरेको घामले गरेको संकेतले जिन्दगी कसरी क्षणभरमै सकिन्छ ? चलचित्रले समेटेको हुनसक्ने संकेत गरेको छ ।

“पछिल्लो समय मान्छेमा नैतिकताको खडेरी पर्दै गएको छ । सामाजिक क्षेत्रदेखि अत्यावश्य सेवामा समेत राजनीति हुन्छ । समाज र व्यक्तिमा सहिष्णुमा ह्रास आउँदै गएको छ । घरभित्रैसम्म परचक्री प्रवृत्ति देखिन थालेको छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “समाज एकलाई पर्दा अर्कोले सहयोग नगर्ने भइसकेको छ । संवेदनाहीन समाज कोरोना कालखण्डमा धेरैले देखे/भोगेको धेरै भएको छैनख । चलचित्र ‘चिसो मान्छे’ यस्तै यस्तै कथामध्येको एक हो ।”