November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

अब, सिद्धार्थनगरको मेयर को ?

भैरहवा– चिया पसलदेखि चौतारासम्म स्थानीय तह निर्वाचनको चर्चा भइरहेका छन् । दलहरु उम्मेदवार छनोटदेखि हारजितको अंकगणितमा व्यस्त छन् । कतिपय दलले घरदैलो नै सुरु गरेका छन् । जित निकाल्ने सबै दलका आ–आफ्ना दावी छन् ।

Advertisement

मुलुककै सबैभन्दा पूरानो र सानो मध्येको सिद्धार्थनगर नगरपालिका पनि चुनावी माहोलबाट अछुतो छैन । यहाँ कुन दलबाट कुन नेता उम्मेदवार बन्छन् ? जित्ने कसको सम्भावना छ ? भन्ने जस्ता विभिन्न लख मतदाताले काटिरहेका छन् । नेताहरुलाई टिकट कसरी हात पार्न सकिन्छ भन्ने चासो छ ।

Advertisement

२० वर्ष पछि २०७४ को निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित अधिकांश वडा जितेको थियो । अहिले एमालेलाई आफ्नो विरासत जोगाउने चिन्ता छ भने अन्य दललाई नगरको नेतृत्व आफ्नो हात पार्ने दाऊ । भैरहवा (सिद्धार्थनगर) मा एमाले, काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संगठन बलियो छ । जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्नो संगठन बलियो भएको दावी गर्दै आएको छ ।

दलका नेताहरुलाई टिकट हात पार्ने रस्साकस्सी चलिरहँदा मतदाता भने आफ्ना जनप्रतिनिधि चुन्न उत्साहित छन् । सिद्धार्थनगरमा एमालेबाहेक अन्य दलले लगभग उम्मेदवार टुंगो लगाइसकेका छन् । काँग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई अघि सारेको छ । उनी सत्ताघटक पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । काँग्रेस नगर कमिटीले खानको नाम एकलरुपमा सर्वसम्मत सिफारिस गरेको छ ।

राप्रपाले पार्टी जिल्ला अध्यक्ष एवं सिद्धार्थनगरका पूर्वमेयर सागरप्रताप राणालाई अघि सारेको छ । पार्टी कमिटीले उनको नाम माथिल्लो कमिटीमा सर्वसम्मत सिफारिस गरेको हो । पाँच दली गठबन्धनबाट खानलाई उठाउने भनिरहँदा जसपाले भने गठबन्धनमा सहभागी नहुने निर्णय गर्दै अर्जुन जैसवालको नाम सर्वसम्मत सिफारिस गरेको छ । यसले गठबन्धनलाई सामान्य धक्का लाग्न सक्छ ।

मुलुककै सबैभन्दा ठूलो दल एमालेले भने अझै उम्मेदवार टुंग्याउन सकेको छैन । एमाले नगर कमिटीले आठ जनाको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । एमालेबाट केन्द्रिय निर्वाचन आयोग सदस्य भरतकुमार पोखरेल, हाल सिद्धार्थनगरका मेयर एवं जिल्ला सदस्य हरिप्रसाद अधिकारी र नगर सचिव नारायणप्रसाद भण्डारी बलिया दावेदार हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेका हरिप्रसाद अधिकारी ६ हजार ७०५ मतका साथ मेयरमा निर्वाचित भएका थिए । उपमेयरमा एमालेकै उमा काफ्ले ६ हजार १७२ मतका साथ निर्वाचित भएकी थिइन् । अधिकारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मात्रिकाप्रसाद यादवले ५ हजार २५० मत र उपप्रमुखमा निकटतम प्रतिस्पर्धी कांग्रेसकै माधवी शर्मा वाग्लेले ४ हजार २२४ मत ल्याएकी थिइन् । एमालेबाट निर्वाचित उपमेयर काफ्ले हाल नेकपा एकीकृत समाजवादीमा छन् । एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागेकी हुन् ।

उसबेला राप्रपाका सागरप्रताप राणाले ४ हजार ६३७ मत मात्र ल्याएका थिए । राणा ७७ वर्षीया वृद्ध हुन् । उनी राप्रापाबाट फेरि मेयरमा उठ्ने निश्चित छ । राणा २०५४ सालमा सिद्धार्थनगरको मेयर बनेका थिए । २०६० सालमा पनि तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले राणालाई भैरहवामा मेयर मनोनीत गरेका थिए ।

काँग्रेसले मेयर उम्मेदवारमा खानको नाम सिफारिस गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । बुधबार मात्रै काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का पूर्व सभापति मात्रिकाप्रसाद यादवले पार्टीको साधारण सदस्य समेत नरहेनी गरी राजीनामा दिएका छन् । जसपाले गठबन्धनमा सहभागी नहुने निर्णय गर्नु र काँग्रेस नेता यादवले पार्टीबाट राजीनामा दिँदा यसले गठबन्धनलाई ठूलै धक्का लाग्ने निश्चित छ । यसैको मौका एमाले र राप्रपाले उठाउन चाहन्छन् ।

भैरहवा आफैमा विकिसित सहर भइसकेको छ । भारतसँग सीमा जोडिएको सिद्धार्थनगरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेको छ । मुलुककै दोस्रो ठूलो भन्सार नाका छ । नजिकै विशेष आर्थिक क्षेत्र र बुद्ध जन्मस्थल लुम्बिनी छ । मुलुककै ध्यान भैरहवाको आर्थिक विकासमा जसरी छ, त्यसैगरी आगामी निर्वाचनमा पनि छ । विश्लेषक उमेशचन्द्र रिजाल भन्छन्, ‘हामीलाई भैरहवा बनाउने मेयर चाहिएको हो, पार्टीका झोले बनेर काम गर्ने होइन्, सबै सम्भावना बोकेको भैरहवालाई समृद्ध बनाउने मेयर छनोट गर्न हामी चुक्नु हुँदैन ।’

अधिकांश ठूला दलमा उम्मेदवारको टुंगो लागिरहँदा एमालेले तय गरेको छैन । सबैको ध्यान अहिले एमालेतिर खिचिएको छ । आफ्नो विगतको विरासत जसरी हुन्छ जोगाउनुपर्छ भनेर लागेको एमालेले अझै उम्मेदवार टुंग्याउन नसक्दा कार्यकर्तामा नैराश्यता छाएको छ । एमालेबाट भरतकुमार पोखरेल सम्भावित मेयरका उम्मेदवार हुन् । बौद्धिक नेता मानिने उनी नगरबासीसँग राम्रोसँग भिजेका छन् ।

एमालेबाटै हालका मेयर अधिकारी पनि आकांक्षी हुन् । ‘पाँच वर्षे मेरो कार्यकालमा नगर विकासको जग बसालेको छु’, बुधबार नगरपालिकाको आफ्नो कार्यकक्षमा पब्लिक कुरासँगको काुराकानीमा उनले भने, ‘केही ऐन, कानून बनायौं । धेरै सिक्यौं । कोभिडले हाम्रा धेरै योजनामा असर पार्यो ।’ उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा आफूले धेरै काम गरेको दावी गर्दै एकपटक नगरको नेतृत्व गरेर समृद्ध सिद्धार्थनगर बनाउने इच्छा रहेको सुनाए ।

एमालेबाटै नगर सचिव नारायणप्रसाद भण्डारी पनि टिकटका दावेदार हुन् । उनी माओवादी छाडेर केही समय अघि मात्रै एमाले प्रवेश गरेका थिए । उनले जिल्लामा धेरै माओवादी एमाले प्रवेश गरेकाले पूर्वमाओवादीका भागबाट सिद्धार्थनगरमा आफूले टिकट पाउनु पर्ने दावी गरिरहेका छन् ।

पूर्वमन्त्री एवं एमाले नेता घनश्याम भुसालको क्षेत्र रहेको सिद्धार्थनगरमा उनले चाहेको नेता मेयरको उम्मेदवार हुने सम्भावना बढी छ । भुसालले पोखरेल र अधिकारीमध्ये एक जनालाई टिकटका लागि पहल गर्ने छन् । यहाँ २०४६ यताका ६ वटा संसदीय तथा संविधान सभा निर्वाचनमा कांग्रेसले २०४८ र २०५६ सालमा चुनाव जितेको छ । २०५१ र २०७४ सालमा एमालेले जितेको थियो । राप्रपाका नेता एवं पूर्वमन्त्री दीपक बोहराले २०७० सालमा र तत्कालीन मधेशी जनअधिकार फोरमले २०६४ सालको संसदीय निर्वाचन जितेको छ ।

सिद्धार्थनगर बोहराको गृहनगर हो । यहाँ यसपल्ट जसरी हुन्छ राप्रपाको झण्डा फहराउने दाऊमा उनी छन् । बहालवाला गृहमन्त्री एवं काँग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण पनि क्षेत्र नम्बर तीनबाट निर्वाचन लड्ने तयारी स्वरुप लागिरहेका छन् । उनकै चाहनाअनुसार काँग्रेसले इस्तियाक अहमद खानलाई मेयरको उम्मेदवार बनाएको हो । जुनसुकै हालतमा खाँणले खानलाई जिताउन चाहन्छन् ।

यहाँबाट २०४९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले नगर प्रमुख जितेको थियो । २०५४ सालमा एमालेसँग तालमेल गरेर राप्रपाले मेयर जितेको थियो । यी दुवै निर्वाचनमा एमालेले उपमेयर जितेको थियो । मिश्रित समुदायको बसोबास रहेको सिद्धार्थनगरमा १३ वटा वडा छन् । यहाँ ४४ हजार ६५२ मतदाता छन् ।

सिद्धार्थनगरमा नेकपा एकीकृत समाजवादी पार्टी, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमुक्ति पार्टीको पनि राम्रै प्रभाव छ । सिद्धार्थनगरलाई खाँण, भुसाल र बोहरा तीन प्रभावशाली नेताले पक्कै पनि आफ्नो प्रतिष्ठाको लडाइँ सम्झेका छन् । राप्रपाले आफ्नो संगठन बलियो हुनु र देशभर राप्रपाप्रति लहर आएकाले निर्वाचन जित्ने दावी गरेको छ ।

काँग्रेसले सर्वसम्मत उम्मेदवार छनोट गर्नु, सबैसँग भिजेका र मिजासिला एवं गठबन्धन भएकाले खानले निर्वाचन जित्ने दावी गरेको छ । एमालेले यी सबैको दावीलाई नियालीरहेको छ । एमालेबाट पोखरेल र अधिकारीमध्ये जसले टिकट पाए पनि उनीहरु बलिया उम्मेदवार भएकाले जित्ने उसको आँकडा छ । राप्रपाको भैरहवामा भोट बैंक भनेकै मुस्लिम समुदाय हो । गठबन्धनबाट काँग्रेसका खान उम्मेदवार हुँदा राप्रपालाई यसपल्ट पनि निर्वाचन जित्न कठिन हुने धेरैको अनुमान छ । त्यसैले भैरहवामा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइन्छ । यद्यपि राप्रपा र जसपाले आफूहरुले निर्वाचन जित्ने किजिर गर्दै आएका छन् ।