बढ्यो गर्मी, सतर्कता अपनाऔं



भैरहवा– गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा प्रायः जसो मानिस गर्मीयाममा बढी बिरामी पर्ने गर्छन् । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले मानिसले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनु पर्दछ ।
चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्छन् । खानपानमा उचित ध्यान दिँदादिँदै पनि अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने सम्भावना हुन्छ ।
तीन दिनको मौसम पूर्वानुमान
पश्चिमी वायुको साथै स्थानीय वायुको नेपालमा सामान्य प्रभाव छ। देशकातराईका भूभागमा तातो हावा चलिरहेको छ ।पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १ लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । त्यस्तै, बुधबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।
बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
चर्कदो गर्मीसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु भएको छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो गर्मीमा ‘लू’ को समस्या हुन्छ । यो गर्मी मौसमको बिरामी हो । मौसमी समस्या भएकाले लू जसलाई पनि लाग्न सक्छ । खासगरी तराई क्षेत्रमा लूबाट बच्न सर्तकता अपनाउनु पर्छ । लूको कारण ज्यान जान पनि सक्छ ।
किन लाग्छ लू ?
गर्मीको कारण धेरै पसिना बग्छ । शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु लू लाग्ने एउटा कारण हो ।
के हुन्छ समस्या ?
जब शरीरमा पानी र नुनको मात्रा घट्छ, रगतको तापमान बढ्छ, टाउको भारी हुन्छ । नाडीको गति बढ्छ । रगतको गति पनि तिब्र हुन्छ । श्वासप्रश्वासको गति असामन्य हुँदै जान्छ । हात, खुट्टा र तालुमा जलन बढ्छ । आँखामा पनि जलन बढ्छ । यसले गर्दा अचानक बेहोस हुन्छ र मृत्यु हुन पुग्छ ।
कसरी जोगिने त ?
–पटक–पटक पानी पिउने, खाली पेट नबस्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने, प्याजको रस खाने)
–संभव भएसम्म मध्यान्हको चर्को गर्मीमा घर बाहिर निस्कनु हुँदैन । यदि घरबाहिर जान परे टाउको र गर्दनमा तौलियाले ढाक्नुपर्छ ।
–पटक पटक पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको अभाव नहोस् ।
–गर्मीको समयमा सुपाच्य खानेकुरा खानुपर्छ । बाहिर गएको बेलामा खाली पेट हुनुहुन्न ।
–नरम, मुलायम सूतीको कपडा लगाउनु पर्छ ।
–चिसो खानेकुराको सेवन गर्नुपर्छ । मौसमी फलको सेवन एकदमै लाभदायक हुन्छ ।
–यतिबेला प्याजको सेवन पनि राम्रो हुन्छ ।
–घरबाट बाहिर निस्कँदा छाता ओड्नुपर्छ ।
–घरबाहिरबाट आउनसाथ तुरुन्तै पानी पिउनु हुँदैन ।
लू लागेमा के गर्ने ?
–यदि लू लागेमा तुरुन्तै चिकित्सकहाँ पु¥याउनु पर्छ । त्यसअघि केहि प्राथमिक उपचार गर्न सकिन्छ ।
–बिरामीलाई खुला र चिसो हावामा आरम गर्न दिनुपर्छ ।
–बिरामीको शरीरमा अधिक तापमान भए चिसो पानी वा बर्फले पट्टी गरिदिनुपर्छ ।
–बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर दिनुपर्छ ।
–बर्फ पानी पिउन दिनु हुँदैन । बरु, कागती पानी पिउन दिनुपर्छ ।
–बिरामीको शरीरमा तीन चार पटक चिसो भिजाएको कपडा राखिदिनुपर्छ ।
घरेलु उपचार विधि के छ ?
–धनियालाई पानीमा भिजाएर राख्ने । त्यसलाई राम्ररी पिसेर छान्ने । उक्त पानीलाई चिनीमा मिलाएर पिउनुपर्छ ।
–खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्नुपर्छ ।
–पानीमा ग्लोकोज मिसाएर पिउने गर्नुपर्छ ।
–कागतीको सर्बत बनाएर पिउनुपर्छ ।
गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्ः
भाइरल ज्वरो, डेंगु ज्वरो, रुघाखोकी, निमोनिया, झाडाबान्ता ।
रोकथाम तथा बच्ने उपाय
प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छः शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने, खानपिनमा विशेष ध्यान दिने, ताजा र सफा खानपिनमा जोड दिने, सागसब्जीको बढी प्रयोग गर्ने, सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने, राति सुत्दा झुलको प्रयोग गर्ने, सकेसम्म खाटमा सुत्ने, घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने, सरसफाईमा विशेष ध्यान दिने, लामखुट्टेको टोकाइबाट जोगिने, खाली खुट्टा नहिंड्ने ।








प्रतिकृया दिनुहोस्