तीन जिल्ला समेटेर बृहत् लुम्बिनी विकास क्षेत्र



लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका पुरातात्विक स्थल समेटेर बृहत् लुम्बिनी बिकास क्षेत्र विकासका लागि खाका तयार गरिएको छ । अहिलेसम्म लुम्बिनीको मात्रै गुरुयोजना अनुसार बिकास हुँदै आएको छ । पर्यटकको बसाइँ लम्ब्याउने र समग्र बौद्धस्थलको विकास गर्ने उद्देश्यले बृहत् लुम्बिनी विकास क्षेत्रको अवधारणा ल्याइएको हो ।
लुम्बिनीको गुरुयोजना अन्तिम चरणमा रहेकाले आगामी दिनमा कपिलवस्तुका, रुपन्देही र पश्चिम नवलपरासीस्थित बुद्धस्थलको विकास गर्ने लक्ष्य लुम्बिनी विकास कोषले लिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)ले लुम्बिनीलाई केन्द्र मानेर कपिलबस्तु, रामग्राम, देवदह लगायतका बौद्ध सम्पदालाई जोड्दै एकीकृत रुपमा विकास गर्ने गरी ‘बृहत्तर लुम्बिनी विकास क्षेत्र’ को दीगो खाका तयार पार्न लागेको बताए ।
४५ वर्ष अघि तयार भएको लुम्बिनी गुरु योजनाले लुम्बिनीलाई अन्तर्राष्ट्रिय केन्द्र बनाउने मार्गचित्र सुनिश्चित गरेजस्तै कपिलबस्तुको प्राचीन शाक्य गणराज्यदेखि कोलीय गणराज्य रामग्रामसम्मको क्षेत्रलाई यसमा समेटिने उनको भनाई छ । यस क्षेत्रमा रहेका समग्र बौद्ध सम्पदाहरुको बौद्ध संस्कृति र पुरातात्विक महत्वको संरक्षण र सम्बद्र्धन गर्दै विकासका लागि एकीकृत रुपमा ‘विश्व बौद्ध शहर’ को अवधारणा अनुरुप योजना संचालन गर्न लागिएको उनले बताए ।
‘विकासका लागि टुक्रे योजना संचालन गरिने छैन,’ उनले भने, ‘यी स्थलको एकीकृत विकास गर्नका लागि विश्व विकास बैंकले सहयोग र सहकार्य गर्दै छ । यस क्षेत्र अन्तर्गत रहेका समुदायको सामाजिक, सांस्कृतिक, कृषि, आर्थिक लगायतका समग्र अवस्थालाई बृहत् अध्ययन गरेर ‘बृहत्तर लुम्बिनी विकास क्षेत्र’ को खाका तयार भएको छ ।’
उनका अनुसार आउँदो सन् २०४० सम्ममा समग्र यस क्षेत्रलाई एउटा बौद्धिक, सांस्कृतिक र पर्यटकीय रुपमा विकास गर्ने योजना अघि सारिएको छ । योजना अन्तर्गत यस क्षेत्रमा रहेका समुदायको आर्थिक रुपले जीवनस्तर उकास्ने र पर्यावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने योजना समावेश छन् । यस अन्तर्गत कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्दै तिलौराकोट दरवारदेखि बाणगंगा नदी हुँदै सगरहवा (शाक्य बंशको बधस्थल), जगदीशपुरको जलासयसम्म ‘बल्र्ड बुद्धिष्ट कल्चरल जोन’ को रुपमा विकास गरिने छ ।
रामग्रामको चैत्यलाई केन्द्र बिन्दु पार्दै वरिपरीको ५ सय बिघा क्षेत्रफलमा व्यवस्थित गुरुयोजना लागु गरिने छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटक सहज आगमनका लागि लुम्बिनी–कपिलबस्तुका विभिन्न बौद्ध सम्पदा– सैनामैना–देवदह–रामग्राम हुँदै पुनः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्मको स्थललाई ‘बुद्धिष्ट सर्किट’को रुपमा सडक र अन्य पूर्वाधार तयार पारि प्रदूषण रहित गाडी संचालनका लागि मापदण्ड बनाएर सवारी यातायात संचालन गरिने छ ।
‘यो बुद्धिष्ट सर्किटलाई भारत सरकारले विकास गर्दै गरेको बौद्ध सर्किटसँग समन्वय गरि पर्यटकको आवागमनलाई सहज बनाइने छ,’ उनले भने, ‘कपिलबस्तुमा मात्रै २ सय ३५ वटा बौद्ध सम्पदा पत्ता लागेका छन् । अध्ययन हुन बाँकी अन्य स्थलमा भू–उपयोग नीति ल्याइने योजना छ । जसअन्र्तगत बनजंगल, नदीनालालाई अभिन्न अंग मानि संरक्षित गरिने छ ।’

पछिल्लो समयमा आफ्नो देश बाहिर गएर अध्ययन तथा भ्रमण गर्न चाहने पर्यटक सवैभन्दा धेरै चीनियाँ र भारतीय प्रमुख छन् । यिनीहरुको साझा संस्कृति बौद्ध दर्शन भएकाले बृहत्तर लुम्बिनी क्षेत्र आकर्षणको केन्द्र हुनसक्छ । यी बौद्ध सम्पदा स्थलमा आउने पर्यटकलाई यहाँको बौद्ध दर्शन, अध्ययन र अभ्यास गर्न कम्तीमा ७ दिनसम्मको कार्यक्रम बनाइँदा मुलुककै आर्थिक गतिबिधि उकासिने भएकाले बौद्ध सम्पदाहरुलाई जोड्ने न्युनतम पूर्वाधारहरु क्रमशः तयार भैरहेको उनले बताए ।
उनका अनुसार बृहत्तर लुम्बिनी विकास क्षेत्रमा अव्यवस्थित औद्योगिकरणले पारेको नकारात्मक असरलाई न्युनिकरण गर्ने योजना लागु गरिने छ । ग्रामीण जनजीवनलाई पनि बिश्व सम्पदा सरह मान्यता दिइने छ । बृहत्तर लुम्बिनी विकास क्षेत्रको योजना संचालनका लागि संयुक्त रुपमा अध्ययन गरि प्रतिवेदन तयार पार्न विश्व बैंक र नेपाल सरकारबीच सम्झौता भइसकेको छ ।
योजना संचालनका लागि करिब ४० अर्व लगानी गर्न विश्व बैंंक तयार छ । बृहत्तर लुम्बिनी विकास क्षेत्रको योजनामा कोरियन प्रोफेसर क्वाकले तयार पारेको लुम्बिनी विश्व शान्तिको शहर, केन्जो टाँगेको लुम्बिनी गुरुयोजना सवैलाई एकीकृत खाकामा राखेर अध्ययन गरिएको छ । योजना अन्तर्गत तीन चरणमा लगानी गरिने छ । पहिलो लगानी ६४ प्रतिशत पूर्वाधारमा हुने छ ।
‘आन्तरिक आयमा सुधार’
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले कोरोना महामारीका कारण लामो समयसम्म बिदेशी पर्यटकको आगमन ठप्प हुनु र आन्तरिक पर्यटकको आगमन नहुनुका कारण बिकास कोषको आन्तरिक आय अत्यन्तै संकुचित बनेको बताए । अपेक्षित अनुमानित आयको अवस्थामा पुग्न नसकिएको उनले बताए ।
उनका अनुसार गतबर्ष २० करोड १८ लाख ४० हजार प्रस्ताव भएकोमा २ करोड ८४ लाख ३२ हजारमामात्र आम्दानी सिमित रह्यो । तर गत बर्षको खुद खर्च ९ करोड ३४ लाख ३१ हजार २ सय ६६ रह्यो । गतवर्ष नै कोष ५ करोड ५० लाख घाटामा रहेको थियो । यही अवस्थामा सुधार नआएकोले कोषले ६ करोड भन्दा कम गरी प्रस्तावित आम्दानी अनुमान गर्यो ।

‘यस वर्ष पनि कोभिड तेस्रो लहरकाकारण र अन्तरर्राष्ट्रिय उडान खुल्ला नभएकोले विदेशी पर्यटकहरु आउने वातावरण बनेको छैन,’ उनले भने, ‘परिषद बैठकबाट अनुमानित आय आन्तरिकतर्फ १३ करोड ८३ लाख ५५ हजार प्रस्तावित गरिएको छ । पुस महिनासम्मको आम्दानी ३ करोड २० लाखमात्र छ अवस्था सुध्रिएन भने बाँकी ४ महिनामा अनुमानित लक्ष्य हासिल नहुन सक्छ ।’
यो अवस्थामा साधारण चालु खर्च चलाउन नै सापटी लिइरहनु पर्ने अवस्था रहेको उनले बताए । ‘यो कोभिड प्रकोपको कारण र प्रभावले सिर्जना गरेको हो,’ उनले भने, ‘भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्नु र कोभिड न्युनिकरण भएको अवस्थामा आन्तरिक पर्यटनमा सुधार आउने र अन्तर्राष्ट्रिय उडान शुभारम्भ भएसँगै लुम्बिनी विकास कोषको आन्तरिक आयमा अपेक्षित सुधार आउने आशा गर्न सकिन्छ ।’
‘स्थानीयलाई समेटेर बढ्छौंं’
लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसंग सम्बन्धित अन्य सम्पदा स्थलको माध्यमबाट स्थानीय समुदाय प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएको बताएका छन् । सामान्य चियानास्ता, किराना पसल, माला पसल, होटलदेखि कृषि उपज बिक्री र रोजगारीको माध्यमबाट फाइदा पुगेको उनको भनाई छ ।
‘समुदायलाई प्रत्यक्ष फाइदा पुगेको देखिने खालका प्रभावकारी कार्यक्रम संचालन गर्ने तयारीमा हामी छौं,’ उनले भने, ‘लुम्बिनी र अन्य सम्पदा स्थलका कारण जे–जती गतिबिधि बढ्छन्, उति नै स्थानीयलाई फाइदा पुग्ने गर्छ । लुम्बिनी क्षेत्रमा हुने विकास निर्माण कार्यले स्थानीयमा रोजगारी बढ्छ । आयस्तरमा बृद्धि हुने गर्छ । लुम्बिनीकै कारण अन्तर्राष्ट्रिय समुदायमा पनि परिचित हुन पनि सहज छ ।’
उनका अनुसार स्थानीय समुदायले पनि लुम्बिनी र अन्य सम्पदालाई आधार मानेर आफू लाभान्वित हुने खालका योजना र कार्यक्रम संचालन गर्न जरुरी छ । यसका लागि अग्र्यानिक कृषि, फलफुल उत्पादन, होमस्टेको योजना जस्ता प्रभावकारी हुन सक्छन् । जसले आफू लाभान्वित हुने खालको कुनै काम वा कर्म नै गर्दैन भने त्यो अलग कुरा हो ।
‘लुम्बिनीका कारण स्थानीय समुदाय लाभान्वित हुन सकेन भन्नु गलत कुरा हो,’ उनले भने, ‘हिजो लुम्बिनी र आजको लुम्बिनीमा धेरै फरक र परिवर्तन भैसकेको छ । स्थानीय समुदाय लाभान्वित गराउनलाई प्रत्यक्ष देखिने खालका अग्र्यानिक कृषि, हस्तकला सामाग्रीको उत्पादन र समुदायबाट पर्यटन प्रबद्र्धन हुन सक्ने कार्यक्रम संचालनको तयारीमा छौं ।’ समुदायलाई फाइदा पुग्ने गरि फोहर व्यवस्थापन कार्यक्रम र बिद्युतिकरणका कार्यक्रमको व्यवस्थापन गरिरहेको उनले बताए ।

‘स्थानीय समुदायसँग सम्बन्ध र सद्भाव बढाउने कार्यक्रम र योजना संचालनमा हाम्रो ध्यान केन्द्रित छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुबिधा र अवसर दिइँदै छ,’ उनले भने, ‘लुम्बिनी विकास क्षेत्रको गुरुयोजना अव चाँडै सम्पन्न हुँदैछ । गुरुयोजनामा समावेश गरिएका तर उपयुक्त नभएका कतिपय कम्पोनेन्टलाई प्राथमिकता दिइँदैन । अब सौन्दर्यकरणका कार्य अगाडि बढाइने छ । मायादेवी मन्दिर परिसरलाई ठुलो आध्यात्मिक कार्यक्रम गर्न मिल्ने बनाइने छ । ‘वन बगैँचा’ को रुपमा लुम्बिनीलाई विकास गरिने छ ।’
‘साढे दुई वर्षमा गुरुयोजना पूरा’
कोषका योजना प्रमुख सरोज भट्टराइले जापानी बास्तुकलाबिद् प्रो.केन्जो टांगेले ४५ बर्ष अघि तयार पारेको लुम्बिनी गुरुयोजना साढे दुई वर्षभित्र पूरा हुने बताएका छन् । ‘बिस २०८०–२०८१ सम्ममा सम्पन्न गर्ने गरि निर्माण कार्यलाई अघि बढाइएको छ,’ उनले भने, ‘२७ बर्ष अघि नै सम्पन्न भैसक्नु पर्ने यो गुरुयोजना राज्यको तर्फबाट प्रतिबद्धता र अध्ययन नभएकाले र बजेट प्रर्याप्त नभएका कारणले नै यतिका बर्ष लागेको हो । लुम्बिनी गुरुयोजना ८१ प्रतिशत सम्पन्न भैसकेको छ ।’
उनका अनुसार बाँकी रहेको १९ प्रतिशत काम सम्पन्न गर्नका लागि कुल साढे ७ अर्व रुपैयाँ खर्च लाग्छ । १९ प्रतिशत बांकी काममध्ये ५० प्रतिशतको टेण्डर आव्हान भई बिगत चार महिनादेखि निर्माण कार्य जारी छ । जस अन्तर्गत २३ किमी सडक, १४ किमी फुटपाथ, ५१ किमी बाटो, २ ठाउँमा कलभर्ट, २ ठाउँमा पर्यटकलाई बस्ने बेन्चको निर्माण हुने छन् । १ हजार ७ सय वटा बिद्युतिय पोलको व्यवस्थापन गरिने छ । ‘यि निर्माण कार्यको लागत साढे ३ अर्व रुपैयाँ छ’, उनले भने ।
यस बाहेकको निर्माण कार्य फोहरमैला व्यवस्थापन, नदी व्यवस्थापन, केन्द्रिय नहरको सौन्दर्यकरण, ६ वटा संस्कृति झल्किने भवन निर्माण हुने छन्,’ उनले भने, ‘४ अर्ब लागतका निर्माण कार्यका लागि पनि बोलपत्र सूचना जारी गर्ने प्रकृयामा छ । गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी एउटा बगैँचाको रुपमा रुपमान्तरण हुने छ । १.६ किमी लम्बाइको केन्द्रिय नहरमा रंगीचंगी पानीको फोहराको टनेल (सुरुगं) बनाइने छ ।’

यस्तो छ इतिहास
सन् १९६७ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिब उत्थान्तले लुम्बिनी क्षेत्रको भ्रमण गरेका थिए । यहाँको दयनीय अवस्था देखेर लगत्तै महासचिव उत्थान्तले लुम्बिनीको विकासलाई अन्तर्राष्ट्रिय बहसमा ल्याए । उनकै पहलमा सन १९७० मा संयुक्त राष्ट्रसंघको आह्वानमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति बन्यो । साथै जापानी वास्तुकलाविद् केन्जो टाङ्गेलाई लुम्बिनीको गुरुयोजना बनाउने जिम्मा दिइयो ।
सन् १९७८ मा सरकारद्धारा स्वीकृत गुरुयोजना अनुसार लुम्बिनीको बिकासका लागि तीन किमि लामो र एक किमि चौडा क्षेत्र छुट्याइयो । गुरुयोजना कार्यान्वयनका लागि सन १९८५ मा लुम्बिनी विकास कोष गठन भयो । सन् १९९३ देखि लुम्बिनी क्षेत्रमा विभिन्न बौद्ध मुलुकका विहार–मन्दिर निर्माण थालियो । सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदामा सुचिकृत गरिएको थियो ।
गुरुयोजना अनुसार लुम्बिनीलाई तीनवटा बराबर पाटामा विभाजन गरिएको छ । दक्षिणमा पवित्र उद्यान, बीचमा विहार–गुम्बा क्षेत्र र उत्तरमा नयाँ लुम्बिनी ग्राम रहेको छ । अहिले गुरुयोजना पूरा हुने चरणमा छ । गुरुयोजनाको प्रतिफल स्वरुप अहिलेको आकर्षक लुम्बिनी तयार भएको हो । आगामी साढे दुई वर्षभित्र गुरु योजना पूरा गर्न लुम्बिनी बिकास कोषले रातदिन काम गरिरहेको छ ।
लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणलाई अगाडि बढाइएको छ । लुम्बिनी गुरुयोजनाले नै यसको बिकासको जग कोरेको थियो । त्यसैले बुद्धको जीवनमा महत्व राख्ने कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपको बिकासका लागि लुम्बिनी बिकास कोषले गुरुयोजना तयार गरेको छ । अहिलेसम्म लुम्बिनीमा केन्द्रित विश्वभरका बौद्ध मुलुकलाई तिलौराकोट र रामग्राममा आकिर्षत गरेर ती क्षेत्रको बिकास गर्नका लागि गुरुयोजना तयार गरिएको हो ।

कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्धस्थल जोडेर ‘कल्चरल हेरिटेज साइट’ निर्माणका लागि दातृ निकाय र नेपाल सरकारसित कोषले छलफल चलाइरहेको छ । लुम्बिनीलाई केन्द्र मानेर यस क्षेत्रमा पर्यटकको बसाइँ लम्याउन यस्तो साइट निर्माणमा जोड दिइएको हो ।
भगवान् गौतम बुुद्धको जन्मस्थल लुम्बिनी, उनको जीवनीसन्ग प्रत्यक्ष वा परोक्ष सम्बन्ध रहेका तिलौराकोट (प्राचिन कपिलवस्तु) गोटिहवा, निग्लीहवा, सग्रहवा, सिसनिया, अरौराकोट, कुदान, (कपिलवस्तु), देवदह (रुपन्देही), रामग्राम (पश्चिम नवलपरासी) समेतका क्षेत्र र नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका अन्य क्षेत्र लुम्बिनी विकासका क्षेत्रभित्र पर्दछन् ।








प्रतिकृया दिनुहोस्