गौतमबुद्ध विमानस्थल : पर्खाई जेठ दुईको



भैरहवा– लामो प्रतीक्षापछि भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी भइरहेको छ । दर्जनौं बाधाव्यवधानबीच अहिले विमानस्थल निर्माण लगभग सकिएको छ । लुम्बिनी प्रदेशको मात्रै नभई सिंगो मुलुकको आर्थिक तथा पर्यटकीय विकासमा यो विमानस्थल कोशेढुंगा हुने विश्वास छ ।
विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण पनि सफल भएको छ । यसले अब, छिट्टै विमानस्थल संचालनमा आउँछ भन्ने आशा पलाएको छ । विमानस्थललाई लक्षित गरेर पर्यटन व्यवसायीले रुपन्देही र आसपासमा अर्बौं लगानी गरिसकेका छन् । कतिपयले लगानी बृद्धि गर्दैछन् । जसले गर्दा पनि सबै क्षेत्रको तीव्र चाहना हो, छिटो विमानस्थल संचालनमा आउनुपर्छ भन्ने ।
गएको शनिबार भैरहवामा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन क्षेत्रको विकासमा विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । यद्यपि हवाईरुट भने अझै नटुंगिएको उनले जनाएका थिए । पर्यटन मन्त्रालयले आउँदो जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि भैरहवाबाट व्यासायिक उडान सञ्चालन गर्ने गरी तीव्र काम गरिरहेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि फागुन पहिलो हप्ता विमानस्थलको निरीक्षण गर्दै आफूहरुको लक्ष्य बुद्ध जयन्तीबाट वयवसायिक उडान गर्ने भएको जनाएका थिए । यसले यहाँका स्थानीय, व्यवसायी र लुम्बिनीबासीमा उर्जा प्रदान गरेको छ । सबैको विश्वास छ, सरकारी पक्षको तदारुकताले पक्कै पनि तोकिएको समयमा विमानस्थल संचालन आउँछ ।
विमानस्थल निर्माणमा विगतमा निकै व्यवधान आएका थिए । सबै छिचोल्दै आज संचालनको तयारी छ । विगत इतिहासले गर्दा पनि सबैको चासो यसप्रति छ । कयौंपटक म्याद थप भएको थियो । तर काममा निकै विलम्ब हुँदा सबैमा निराशा थियो । अहिले त्यो निराशा आशामा परिणत भएको छ ।
विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेशन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि दावी गर्दै आएको छ । एरो थाईको क्यालिब्रेशन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने विमानस्थलका आइसीबी टुका आयोजना प्रमुख एवं राष्ट्रिय गौरवका आयोजनाका उपमहानिर्देशक प्रवीण न्यौपानेले बताए ।

‘विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एअरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको छ’, उनले भने, ‘जेठ २ गते अगाडि सबै काम सकिने छ । व्यवसायिक उडान हुनेछ ।’ उनले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको विमानस्थल सञ्चालनमा आएसँगै जहाज आकाशमै ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाण्डौ आइरहनपर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गरे ।
नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । अब भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनुपर्ने अवस्थाको अन्त्य हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले जानकारी दिए ।
गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डअनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमताअनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्डमा बनेको छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाण्डौमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै यस विमानस्थलमा ल्यान्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्याङ्कमा आएका समस्या, विमानको पङ्खामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकूल मौसममा समेत जहाज सुरक्षित अवतरण गर्न सक्ने छ ।
विमानस्थलमा उडानका लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच सरकार–सरकार (जीटुजी) मार्फत काम भइरहेको तर तत्कालका लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यस विमानस्थलबाछ दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे तीन हजार मिटरको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एअरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताए । विमानस्थलमा उडान सुरु भएसँगै विश्वका बौद्ध धर्मावलम्बीहरू सिधै लुम्बिनीमा आउन सक्ने उनको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको दावी गरेको छ । अध्यागमन, भन्सार, क्वरेण्टीन र सुरक्षा एजेन्सीहरूको त्यहीअनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको अधिकारीले जनाए । विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको जनाए ।

त्यस्तै महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरूसँग औपचारिक रूपमा छलफल भइरहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कहरू प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताए ।
विमानस्थलको तथ्याङ्क प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने छ । अहिलेको अर्थतन्त्र बजार ‘बेस’ को अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क अधिकारीले गरे । उनले आफ्नो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास गरे ।
विमानस्थल संचालनको तयारी भइरहँदा पर्यटन क्षेत्रमा खुशीयाली छाएको सिद्धार्थ होटल एशोसिएसनका बरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताए । उनले सबै क्षेत्रको व्यग्रता जेठ २ भएको जनाए । ‘विमानस्थल संचालनमा आउँदा संसारका सबै बौद्धमार्गी लुम्बिनी आउन लालयित हुनेछन्’, उनले भने, ‘सरकारले जुन मिति तोकेको छ, त्यो मितिमा विमानस्थल संचालनमा आउनुपर्छ ।’ जोशीले भनेजस्तै सबै पर्यटन व्यवसायी, स्थानीयहरु जेठ २ कै प्रतीक्षामा छन् ।








प्रतिकृया दिनुहोस्