November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

आठ महिनामै ढल्ला लुम्बिनीमा केसी सरकार ?

भैरहवा– तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई सत्ताच्युत गर्न गठबन्धन दललाई सकस पर्यो । करिब चार महिना आरोप–प्रत्यारोप भयो । एमाले नेता एवं तत्कालीन मुख्यमन्त्री पोखरेललाई सांसद अपरहणको आरोपसमेत खेप्नु पर्यो । यस्तै, विभिन्न आरोप–प्रत्यारोपबीच २८ साउनमा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए ।

Advertisement

नेपाली काँग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजयबहादुर शाहीको समर्थनपछि माओवादीका केसी मुख्यमन्त्री भएका हुन् । माओवादी केन्द्र र कांग्रेसबीच तत्कालीन समयमा ८–८ महिना सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको दावी थियो । सहमतिअनुसार केसी नेतृत्वमा लुम्बिनी सरकार बन्यो ।

Advertisement

अहिले भने सरकार ढाल्ने खेल सुरु भएको दावी गरिएको छ । ‘आठ–आठ महिना सरकार चलाउने सहमति थियो’, काँग्रेस एक सांसद भन्छन्, ‘सहमति कार्यान्वयन गर्नुपर्छ भन्नु सरकार ढाल्ने खेल होइन्, त्यो त सहमति कार्यान्वयन गर्नुपर्छ भनेको मात्र हो ।’ ती सांसदले फागुनपछि काँग्रेस नेतृत्वमा सरकार बन्ने दावी गरे ।

तत्कालीन समयमा सहमति भएको भनिए पनि के–कस्ता सहमति भए भन्नेबारे बाहिर केही आएको छैन । यद्यपि अहिले काँग्रेस सांसद र नेताहरु सरकारको दिनगन्ती सुरु भएको बताउन थालेका छन् । ‘जे सहमति भएको हो, त्यो कार्यान्वयन हुन्छ र मुख्यमन्त्रीले सहजै सरकार हस्तान्तरण गर्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ’, ती सांसदले भने । सहमतिका विषयमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई पनि जानकारी रहेको काँग्रेस नेताहरुको दावी छ ।

माओवादी भने यो कुरा मान्न तयार छैन । एक माओवादी नेता भन्छन्, ‘त्यो समयमा सबैको ध्यान जसरी पनि शंकर पोखरेललाई सत्ताच्युत गर्नुमा थियो । के सहमति भएका थिए फरक पाटो हो । तर, केन्द्रको राजनीतिक समीकरण अनुसार पनि केसी सरकार ढल्दैन ।’ उनले गण्डकी र कर्णालीमा काँग्रेसले सरकारको नेतृत्व गरेकाले लुम्बिनी सरकार नढल्ने र आगामी निर्वाचनसम्म सरकार र गठबन्धन कायम रहने दावी गरे ।

सरकार गठन यता नै लुम्बिनी सरकारको चर्को आलोचना हुँदै आएको छ । मुख्यमन्त्रीको सचिवालय व्यवस्थापन, बजेट खर्च, मन्त्रिमण्डल विस्तारमा उनको आलोचना हुँदै आएको हो । यस्तै, केसीले १७ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै नागरिकस्तरमा उनको आलोचना छ । केसी सरकारमा १२ मन्त्री र ४ राज्यमन्त्री छन् ।

असोज २४ गते मन्त्रिपरिषद् विस्तारित भए पनि १० कात्तिकमा बल्ल मुख्यमन्त्री केसीले कार्यविभाजन टुंगो लगाएका थिए । यसले गर्दा पनि उनको काम गर्ने शैलीमाथि प्रश्न उठेको छ । यस्तै, निरन्तर अवरोध भइरहेको संसद खुलाउन प्रयास नगरेको उनीमाथि आरोप छ । आलोचनाको चौघेरमा उभिएका मुख्यमन्त्री केसी सरकार छोटो समयमै ढाल्ने प्रयास भएपछि पुनः लुम्बिनी प्रदेश एकपल्ट चर्चामा आउन थालेको छ ।

जम्बो मन्त्रिमण्डल बनाएका केसीको ध्यान जसरी पनि आफ्नो कार्यकालमा प्रदेश राजधानीमा सबै मन्त्रालय सार्नेमै केन्द्रित छ । संसद अवरोध हटेको छैन । सरकारका काम गतिहीन छन् । कर्मचारी व्यवस्थापन राम्रो छैन । कर्मचारी अभावमा काम हुनसकेको छैन । पूर्वाधार अभाव उस्तै छ । यस्तोबेला सरकारको दिनगन्ती सुरु भए पछि नागरिकस्तर वितृष्णा पैदा भएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आलोपालो नेतृत्वको कुरा अहिलेको समयमा सान्दर्भिक नभएको बताउँछन् । ‘अहिले महामारीसँग जुध्ने समय हो’, उनले भने, ‘यस्तोबेला सरकार परिवर्तनका कुरा ठीक नहोला ।’ उनले अहिले सरकार परिवर्तनका कुरा गर्दा आमनागरिकमा राम्रो सन्देश नजाने बताए ।

सरकारका प्रवक्ता एवं माओवादीका नेतासमेत रहेका शर्माको कुराले अहिले नै सरकार परिवर्तन नहुने संकत गर्छ । अर्थात् माओवादीले सहजै सरकार छाड्ने छैन । शर्माले गठबन्धन सरकार सजिलै नबनेकाले नेतृत्व परिर्वतनका लागि केन्द्रमा सहमति हुनुपर्ने बताए । ‘केन्द्रीय नेतृत्वले के निर्णय गर्छन्, यसमा भरपर्छ’, उनले भने, ‘अहिले सरकार परिवर्तन गर्ने कुरालाई विवादमा नल्याउँदा हुन्छ ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले भने आलोपालो कुरा आफूहरुले नउठाएको बताए । ‘धेरै पत्रकार साथीहरुले यस विषयमा जिज्ञासा राख्नुभएको छ’, उनले भने, ‘त्यसैले हामीले सहमतिको कुरा मात्रै गरेको हो ।’ केसी नेतृत्वमा लुम्बिनी सरकार बनेको साढे पाँच महिना भइसकेको छ । यो अवधिमा सरकारले उपलब्धीमूलक कुनै काम नगरेको आरोप छ ।