November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

ग्रामीण नाकामा स्वास्थ्य जाँच न मापदण्ड

भैरहवा– कोरोना भाइरसको नयाँ भेरियन्ट रोकथामका लागि सरकारको ध्यान मूख्य सीमा नाकामा केन्द्रित छ । लुम्बिनी प्रदेशमा पनि मूल नाकामा कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाइएको छ । सुनौली–बेलहिया मूल सीमा नाका हुँदैं आवतजावत गर्ने यात्रुलाई एन्टिजेन परिक्षण, हेल्थ डेस्क, मास्क, सेनिटाइजर, होल्डिङ सेन्टरजस्ता स्वास्थ्य सुरक्षालाई ध्यान दिइएको छ ।

Advertisement

मूल नाकाबाट करिव ४ किमि पश्चिमस्थित केवटलिया–फुलपुर भित्री नाकाको अवस्थाले भने मूल नाकामा अपनाइएका स्वास्थ्य सुरक्षालाई नै चुनौती दिएको छ । यो नाकामा हेर्दा विश्वव्यापी फैलिएको कोभिड–१९ संक्रमणका बारेमा कुनै आभाष नै हुँदैन । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भारत र नेपाल दुवैतर्फ अपनाउने गरिएका स्वास्थ्य सुरक्षाका मापदण्ड र जनचेतनाका लागि गरिएका प्रयास र लगानी खेर गएको आभाष हुन्छ ।

Advertisement

यस नाकाबाट चौबीसै घण्टा यात्रुको आवागमन हुने गर्छ । नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकलबाट पनि । सीमाक्षेत्रका स्थानीयले त चारपांग्रे भारतीय गाडीको प्रयोग पनि गर्ने गर्छन् । रोजगारी तथा मजदुरी, किनमेल, औषधी उपचार, आफन्त नातेदारसँगको भेटघाटका लागि मानिसको आवागमन बढ्दो छ । मूल नाकामा स्वास्थ्य मापदण्ड अपनाएर कडाइ गर्न थालिएपछि यो भित्री नाकाको प्रयोग बढ्दो छ ।

‘मूल नाकाबाट आवातजावत गर्दा दुवैतर्फका सुरक्षाकर्मीले सोधपुछ र कडाइ गर्ने भएकाले यताबाट आवतजावत बढेको छ,’ सिमानामै बसेर घाम ताप्दै गरेका अस्लाम धोबी नामका भारतीय स्थानीय युवाले भने, ‘ठूला सहरमा धेरै फोहर र प्रदूषण हुने गरेकाले कोभिड संक्रमणको डर हुने हो । यता साना गाउँमा संक्रमण हुँदैन ।’ सुनौलीको मूल नाकाबाट रेलवे यातायातसँग जोडिएको सीमावर्ती सहर नौतनवा पुग्न ८ किमि रहेको तर यस नाकाबाट ६ किमिमात्रै रहेकाले दुवै देशका स्थानीयले यही नाका प्रयोग गर्ने उनले सुनाए ।

नाकाबाट आवतजावत गर्ने कसैले पनि मास्कको प्रयोग गर्दैनन् । सेनिटाइजर त परको कुरा भयो । मास्क लगाएको व्यक्ति देख्दा बालबच्चा र वृद्ध अचम्म मान्छन् । नाकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको उपस्थिति छैन । बेलाबेलामा नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ एसएसबीका सुरक्षाकर्मीले गाडीबाट गस्ती गर्ने गर्छन् । तर यात्रु तथा स्थानीयलाई मास्क र अन्य सुरक्षा अपनाउनेबारे केही भन्दैनन् ।

सिद्धार्थनगर–२ मेउडिहवासँग जोडिएको यो नाका सिधै भैरहवा र भारततर्फ नौतनवासँग जोडिएको छ । असुरक्षित ढंगबाट ती नाकाबाट हुने सर्वसाधारणको आवागमनलाई सुरक्षित र व्यवस्थित गराउनेतर्फ भारतीय पक्षबाट पनि पहल भएको छैन । नेपालसँगको पूरै खुला सीमा क्षेत्रमा भारतीय अर्धसैनिक निकाय एसएसबी तैनाथ छ ।

सिद्धार्थनगर–२ का वडाध्यक्ष दीपक थापाले पछिल्लो समयमा भारतीय नागरिकको आवागमन भित्री नाकाबाट बढ्न थाले पनि स्वास्थ्य सुरक्षा भने नअपनाइएको बताए । ‘नेपालतर्फ भन्दा सीमावर्ती भारतीय गाउँमा स्वास्थ्य सावधानी अपनाउँदैनन्,’ उनले भने, ‘मेरै घरअगाडिबाट दैनिक ५ सयभन्दा धेरै भारतीय मजदुर आवतजावत गर्ने गर्छन् ।’

रूपन्देही जिल्लासँग ५९.७ किमि खुला सिमाना भारतसँग जोडिएको छ । खुला सिमानामा सयौं भित्री नाका छन् । सशस्त्र प्रहरी बलका ६ वटामात्र बीओपी छन् । धकधही, गोनाहा, मर्चवार, लुम्बिनी, कालिदह क्षेत्रमा स्थानीयको आवागमन वर्षौंदेखि खुला सिमानाबाटै हुँदै आएको छ ।

बेलहियापछि लुम्बिनीको कक्रहवा नाकाबाट नेपालतर्फ आउने यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । ‘अन्य खुला सिमानाबाट हुने आवागमनको निगरानी तथा चेकजाँचका लागि सशस्त्र प्रहरी बलको बर्डर आउट पोस्टमा खटिएका सुरक्षाकर्मीबाट गराउने तयारी गरिएको छ,’ उनले भने ।