November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लुम्बिनी प्रदेशमा एक अर्ब बेरुजु, ८१ करोड रुपैयाँ अनियमितता

भैरहवा – मुलुकभर अपारदर्शी खर्च बढेको सार्वजनिक भइरहेका बेला पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेखेर लुम्बिनी प्रदेशमा बेरुजु र अनियमितता नभएको दाबी गरे । उनको दाबीलाई लिएर पक्ष–विपक्षमा टिप्पणी गरिए । पोखरेलले यतिसम्म भन्न भ्याए– ‘मेरो कार्यकालमा लुम्बिनीमा हेलिकोप्टर प्रयोग गरिएन ।’ के लुम्बिनी प्रदेश उनले भने जस्तै अपारदर्शी खर्चमा चोखो छ त ?

Advertisement

प्रदेशमा देखिएको बेरुजु र अनियमितता रकमले उनको दाबी गलत ठहरिएको छ । बेरुजु र अनियमितताका चाङ छन् । सत्ताबाट बाहिरएपछि आफ्नो कार्यकाल पारदर्शितामा चोखो भएको देखाउन खोजेका पोखरेलले अधिकांश गलत दावी गरेका छन् ।

Advertisement

महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा लुम्बिनी प्रदेश सरकारका मन्त्रालय र सरकार मातहतका निकायमा आव २०७६–७७ मा १ अर्ब रकम बेरुजु देखिएको छ । ९४ करोड ७४ लाख ८५ हजार बेरुजु र ८१ करोड ४३ लाख ९५ हजार रुपैयाँ अनियमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु छ । दोस्रोमा सामाजिक विकास, तेस्रोमा उद्योग पर्यटन, वन तथा वातावरण र चौथोमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् । सबैभन्दा कम बेरुजु हुनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ ।

महालेखाले देखाएको बेरुजुमध्ये ६ करोड १४ लाख ५५ हजार रुपैयाँ असुल हुनुपर्ने र ७ करोड १६ लाख ७१ हजार रुपैयाँ कर्मचारीले पेस्की बुझेका हुन् । बेरुजुको ७४ दशमलव ९७ प्रतिशत भौतिक मन्त्रालयको छ भने शून्य दशमलव ०४ प्रतिशत मुख्यमन्त्री कार्यालयको छ । आव २०७६–७७ मा महालेखा परीक्षक कार्यालयले प्रदेशका १ सय ६६ कार्यालयको लेखा परीक्षण गरेको थियो । तीमध्ये ९७ कार्यालयमा लगती बेरुजु देखिएको छ । त्यस्तै प्रदेश सभाका संसदीय समिति तथा अन्य जिल्ला तहका कार्यालय र समिति १६ मध्ये १३ मा रकमको अंक किटानी गरेको (लगती) बेरुजु देखिएको छ ।

महालेखाको प्रतिवेदनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शून्य दशमलव ५५ प्रतिशत बेरुजु छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै मातहत रहेको मुख्य न्यायाधिवक्ताको कार्यालय र मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको बेरुजु भने शून्य नै छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालका प्रमुख दीपक ज्ञवालीले भने लगती बेरुजु देखिए पनि अघिल्लो वर्षको तुलनामा आव २०७६–७७ को बेरुजु अंक घटेको बताउँछन् ।

‘अघिल्लो वर्षभन्दा बेरुजु घट्नुलाई सकारात्मक नै मान्नु पर्छ,’ उनले भने, ‘प्रदेश संरचना स्थापना र व्यवस्थापनको समय भएकाले केही सैद्धान्तिक र केही लगती बेरुजु देखिएको हो, जुन पछिल्ला वर्षमा घट्दै गएको छ ।’

अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा कुल लेखा परीक्षण अंकको ३ दशमलव १३ प्रतिशत बेरुजु थियो । आव २०७६–७७ मा त्यो घटेर २ दशमलव ३९ प्रतिशत देखिएको छ । कुल बेरुजु रकममध्ये ८५ दशमलव ९५ प्रतिशत नियमित हुनुपर्ने, ७ दशमलव ५६ प्रतिशत पेस्की र ६ दशमलव ४९ प्रतिशत असुल हुनुपर्ने रहेको प्रतिवेदनमा उल्लेख छ ।