गाउँमा झन लापरबाही, मास्क लगाएका भेट्नै मुस्किल



भैरहवा – चार हप्ता अघि रुपन्देहीमा सक्रिय संक्रमितको संख्या दुई सय थियो । अहिले त्यो बढेर ४५७ पुगेको छ । पछिल्ला दुई हप्तामा संक्रमण झनै बढ्न थालेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण उकालो लागेको हो । जिल्लाको सहरदेखि ग्रामीण क्षेत्रसम्म न सावधानी अपनाइएको छ न त भौतिक दूरी नै कायम गरिएको छ ।
ग्रामीण क्षेत्रमा मास्क लगाएका भेट्नै मुस्किल पर्छ । मास्क नलगाउनेले दूरी कायम गरेर सावधानी अपनाउँदैनन् । दोस्रो लहरको कोरोनाले ‘हटस्पट’ बनेको रुपन्देहीमा पछिल्ला दिनहरुमा यसैगरी लापरबाही बढ्दो छ । महामारी उकालो लाग्दासमेत बेवास्ता गरिएको छ । आमनागरिक सचेत छैनन् । स्थानीय तह र प्रशासनले सचेतनाका कार्यक्रम गरेका छैनन् ।
‘ग्रामीण क्षेत्रमा प्रहरी प्रशासनको उपस्थिति न्यून छ । सचेतना र स्वास्थ्य मापदण्ड पालनामा कडाइ छैन’, मझगाँवाका स्थानीय राजनारायण गिरी भन्छन्, ‘सचेतना शिक्षा दिई रोगबारे जानकारी गराइनु पर्ने हो तर यहाँका स्थानीय तह संवेदनहीन जस्तै देखिएका छन् ।’ रोगबारे सहरबजारमा जस्तो गाउँमा सचेतना छैन । लक्षण, चिन्ह तथा बच्ने उपायबारे सिकाइँदैन ।

गाउँका होटल तथा रेष्टुरेन्ट, खाद्यान्न पसलहरु र सरकारी कार्यालयमै भीडभाड छ । चिया–चौतारमा जम्मा भएर गफिने उस्तै छन् । यसरी भिडभाड गर्नेले माक्स प्रयोग गर्दैनन् भने भौतिक दूरीलाई बेवास्ता गर्छन् । ‘एकअर्काबीच लसपस बढ्दो छ । रोगले मान्छे चिन्दैन’, गिरीले भने, ‘स्थानीय सरकारको बेवास्ता छ भने प्रशासनले पनि कडाइ गर्न सकेको छैन । सचेतनाका कार्यक्रम नारामै सीमित छन् । भोलिका दिनमा अवस्था जटिल बन्न सक्छ ।’
ग्रामीण क्षेत्रमा रहेका गाउँपालिका, वडा, मालपोत, स्वास्थ्यचौकीमै कहींकतै मापदण्ड पालना छैन । जिल्ला प्रशासनमै नागरिकता लिनेको भीड लाग्ने गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका स्थानीय तह कोटहीमाई, मर्चवारी र सम्मरीमाईमा सबैभन्दा बढी लापरबाही छ ।
मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले जति सचेतनाका कार्यक्रम गरे पनि नागरिकस्तरबाट कोरोनालाई बोवास्ता गरिएको बताए । ‘भीडभाड नगर्न, बाहिर निस्कँदा मास्क लगाउन र एकअर्काबीच दूरी राख्न अनुरोध गरेका छौं’, उनले भने, ‘लापरबाही बढेको छ । अब, थप कडाई गर्छौं ।’

स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले पछिल्ला दिनमा रुपन्देहीमा फेरि जोखिम बढेको बताए । ‘संक्रमित ५ सय पुगिसक्न लागे, नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने फेरि निषेधाज्ञा जारी गरेर महामारी नियन्त्रणमा लाग्नु पर्ने अवस्था आउनसक्छ’, उनले भने, ‘सरकारले तोकेका मापदण्ड पालना गर्न, गराउन सबै लागौं, स्थिति जटिल बन्न दिनुहुँदैन । यसका लागि सबैको साथ, सहयोग र सहकार्य उत्तिकै महत्वपूर्ण हुन्छ ।’
जिल्लामा समयसीमा तोकेर स्थानीय प्रशासनले व्यवसाय खोल्न दिएको छ । यातायात पूर्णरुपमा संचालनमा छन् । तर, प्रशासनले मापदण्डविपरीतका गतिविधि नियन्त्रण गर्न सकेको छैन । संक्रमण ओरालो लाग्दा खाली भएका अस्पातलहरु पुनः बढेपछि भरिन थालेका छन् ।
जिल्लामा सक्रिय संक्रमितको संख्या दैनकजसो उक्लिँदै छ । लापरबाही भने झन बढ्दो छ । यसैगरी असावधानी अपनाउँदै जाने हो भने स्थिति झन जटिल बन्ने विज्ञको चेतावनी छ । भीम अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्ता भन्छिन्, ‘पछिल्ला दिनमा लापरबाही धेरै बढ्यो, जहाँत्यही भीड जम्मा हुने, मास्क नलगाउने, यसरी हामीले महामारीलाई गिज्यायौं भने अवस्था के हुन्छ आँकलन गर्न सकिँदैन । त्यसैले सबै सचेत हुनुपर्छ ।’

उनले केही दिनयता अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको बताइन् । ‘केही दिन अघि भीममा तीन जनामात्रै संक्रमितको उपचार भइरहेको थियो । अहिले १२ जना पुगिसके’, उनले भनिन्, ‘यसैगरी जिल्लाका अन्य अस्पतालहरुमा पनि आईसीयू र भेन्टिलेटर तथा एचडी शय्याहरु भरिन थालेका छन् । विशेष सचेत बन्न जरुरी छ ।’
लापरबाही यस्तै जारी रहे सामान्य स्थिति असामान्यमा बदलिन बेर नलाग्ने उनको चेतावनी छ । विगतमा दोस्रो लहरको महामारीले सिकाएको पाठबारे आमनागरिक जानाजान अबुझ भइदिँदा फेरि संक्रमण उक्लिरहेको हो । ‘प्रदेश र स्थानीय सरकार, प्रहरी–प्रशासन, अस्पताल सबैतिरबाट चेतना फैलाउने कार्यक्रम गर्नपर्छ । आम नागरिकबाट हुने लापरबाही रोकिनुपर्छ । होइन्, भने स्थिति पहिलेभन्दा जटिल नबन्ला भन्न सकिँदैन’, डा. गुप्ताले भनिन् ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले महामारी कम हुँदै गएपछि निषेधाज्ञा खुकुलो पारिएको र यसैको मौकामा लापरबाही बढेको बताए । उनले प्रशासनले स्वास्थ्य मापदण्ड पालनामा थप कडाई गर्ने बताए । ‘हामीले सचेतनाका कार्यक्रम सुरु गरेका छौं, मास्क नलगाएकालाई मास्क बाँड्ने, महामारीबाट बच्ने उपायबारे पर्चापम्पलेट वितरण गर्ने काम भएका छन्’, उनले भने, ‘नटर्ने, भीडभाड गर्नेलाई कानूनी दायरामा ल्याई कारबाही गर्छौं ।’









लेखकको सम्वन्धमा