November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

पुँजीगत बजेट खर्च गर्न चुक्दै लुम्बिनी प्रदेश सरकार

भैरहवा – लुम्बिनी प्रदेश सरकार चालु आर्थिक वर्षमा पनि बजेट खर्च गर्न चुकेको छ । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि सरकारको खर्च निराषाजनक छ । सरकारको चालु खर्चको तुलनामा पुँजीगत अर्थात् विकास खर्च निकै कम छ ।

Advertisement

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेशको कुल बजेट ३७ अर्ब ४५ करोड २५ लाख रुपैयाँ हो । १० महिनामा पुँजीगत बजेटको खर्चदर जम्मा ४६.१७ प्रतिशत छ । यो वर्ष पुँजीगततर्फ छुट्याइएको २० अर्ब २४ करोड बजेटमध्ये वैशाख मसान्तसम्म जम्मा ९ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

Advertisement

चालुतर्फ १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड रुपैयाँ अर्थात् ५३.३६ प्रतिशत मात्रै बजेट खर्च भएको छ । आर्थिक वर्ष सकिन अब दुई महिना मात्र बाँकी छ । यो अवधिमा १० अर्ब ९० करोड बजेट खर्च नहुने निश्चित छ । विकासे मन्त्रालयकै अधिकारीहरु नै यो अवधिमा बाँकी बजेट खर्च गर्न मुस्किल पर्ने स्वीकार्छन् ।

कार्यालयकाअनुसार चालु र पँजीगत गरी वैशाख मसान्तसम्मको १० महिना अवधिमा प्रदेश सरकारले जम्मा १८ अर्ब ५२ करोड ९५ लाख रुपैयाँ मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षका १० महिनामा प्रदेश सरकारले कुल बजेटको ४९.४७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा कार्यालयका प्रमुख दीपक ज्ञवालीले पब्लिक कुरालाई बताए ।

‘अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गए पनि बजेटको खर्चदर भने खासै बढ्न सकेको देखिँदैन’, उनले भने । सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले कोभिड–१९ का कारण बजेट खर्चमा समस्या भएको बताए ।

‘कोभिडले हरेक क्षेत्रलाई प्रभावित पारेका छ । यसले गर्दा बजेट खर्चमा केही कमी देखिएको हो । यद्यपि गत वर्षको तुलनामा धेरै नै काम भएको छ । कोभिड महामारी केही कम हुँदै गएमा हामीले बाँकी महिनामा पनि केही प्रतिशत बजेट खर्च गछौं’, उनले भने । यस वर्ष कोरोना महामारीले केही महिना विकास निर्माणका काम हुन भने सकेका छैनन् । यद्यपि अघिल्ला वर्षहरुमा पनि प्रदेश सरकारको पुँजीगत खर्च राम्रो थिएन ।

मन्त्री चौधरीले भने, ‘प्रदेशमा भौतिक पूर्वाधारका काम धेरै भएका छन्, सिंचाई, खानेपानी, सडकका क्षेत्रमा उल्लेख्य काम भए पनि प्रायः आर्थिक वर्षको अन्तिमतिर बिल पास हुने भएकोले अहिले खर्च कम देखिएको हो । आवको अन्तमा खर्चदर केही बढ्ने छ ।’ आर्थिक वर्ष सकिने बेलासम्म खर्चको अनुपात बढ्ने सरकार पक्षले दावी गर्दै आएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ७० प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो । यो पनि निकै कम भएको भन्दै सरकारको आलोचना भएको थियो ।

यस्तो छ मन्त्रालयगत खर्च
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा साविक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सबैभन्दा धेरै बजेट खर्च गरेको छ । यो मन्त्रालयले २ अर्ब ९१ करोड कुल बजेटमध्ये १० महिनामा १ अर्ब ५० करोड खर्च गरेको छ । जुन कुल बजेटको ५१.६८ प्रतिशते हो ।

यस्तै, सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४९ प्रतिशत खर्च गरेको छ । यो मन्त्रालयको चालु आबमा १५ अर्ब ९७ करोडभन्दा बढी विकास बजेट थियो । मन्त्रालयले १० महिनामा ७ अर्ब ८२ करोड बजेट खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भने सबैभन्दा कम बजेट खर्च गरेको छ । यो अवधिमा उक्त मन्त्रालयको बजेट खर्च दर जम्मा २१.३१ प्रतिशत छ । मन्त्रालयले १० महिनामा जम्मा ७६ करोड बजेट खर्च गरेको छ । सो मन्त्रालयको ३ अर्ब ५८ करोड बजेट छ । सामाजिक विकास मन्त्रालयले १० महिनामा २ अर्ब ५१ करोड खर्च गरेको छ । उसको कुल बजेट ५ अर्ब ९३ करोड हो । मन्त्रालयको खर्चदर ४२.३४ प्रतिशत छ ।