November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

बर्दियाका घर-आँगनमा चितुवा आक्रमण, स्थानीय त्रासमा

Advertisement

बर्दिया– जिल्लाका घर आँगनमा आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रासमा छन् । बर्दियाका विभिन्न पालिकाका घरसम्म आउने चितुवाको आक्रमणबाट मानवीय क्षति बढेको छ । केही दिन अघि ठाकुरबाबा–९, स्थित एक होटलमा समेत दुई वटा चितुवा प्रवेश गरेका थिए ।

Advertisement

त्यस लगत्तै मंसिर ७ गते चितुवा आक्रमणमा राजापुर–१०, मझराकी १३ वर्षीया कमला सिंह ठकुरीको मृत्यु भयो । आँगनमा खेलिरहेकी उनलाई सोमबार साँझ चितुवाले आक्रमण गरेको थियो । घरबाटै हराएकी बालिकाको शब केही दूरीमा फेला परेको थियो । यसले जिल्लाका नागरिकले असुरक्षा महशुस गरेका छन् । दुई वर्षयता जिल्लामा लगातार चितुवाले आक्रमण गरिरहेको छ ।

गत असोज २३ गते राजापुर–३, चख्खापुरका मंगल थारुको चितुवा आक्रमणबाट मृत्यु भयो । चितुवाको आक्रमणमा परी गत वर्ष फागुन २० गते राजापुर–१०, कालाबन्जारका ६ वर्षीय आदित्य थारुको मृत्यु भयो । गत वर्ष माघ ७ गते बारबर्दिया–११, की ६२ वर्षीया खिदनी थरुनीको पनि चितुवाको आक्रमणमा परी मृत्यु भएको यहाँस्थित डिभिजन वन कार्यालयले जनाएको छ ।

बारबर्दिया–१०, बैदीकी ५१ वर्षीया पार्वती डाँगीको पनि चितुवाको आक्रमणमा परी मृत्यु भयो । गत वर्ष माघ २२ गते मधुवन–९ की ४९ वर्षीया मैसरा डाँगीलाई चितुवाले आक्रमण गर्दा ज्यान गयो । गत वर्ष भदौ २९ गते गुलरिया–११ मा चितुवाको आक्रमणमा परी ३३ वर्षीया कविता मुक्तानको ज्यान गयो । गुलरिया–४, का ३३ वर्षीय नन्दबहादुर रोकायको गत असोज २२ गते बारबर्दिया–११ मा शौच गर्न लाग्दा चितुवाको आक्रमणमा परी मृत्यु भयो ।

बर्दियामा गत दुई वर्षयता १५ जनाको वन्यजन्तु आक्रमणमा मृत्यु भएको डिभिजन सूचना अधिकारी शिव केसीले बताए । चितुवाले मानिसको ज्यान लिन थालेपछि गाउँबस्तीका बासिन्दा निकै त्रसित छन् । बारबर्दिया, राजापुर र गुलरिया पालिकामा मात्रै नभई बर्दियाका ८ वटै पालिकासँग जोडिएको वन नजिकका बस्तीका मानिस वन्यजन्तुको त्रासले दिउँसो एक्लै हिँड्न छाडेका छन् ।

चालु आवमा बारबर्दिया नगरपालिका–१० बैदीकी ५२ वर्षीया पवित्रा डाँगी फेनापति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी गत पुस ९ गते मृत्यु भयो । गत वर्ष मंसिर १२ गते सोही पालिका–११ की ६३ वर्षीया गोपी थरुनीको कालावेलभारमा घाँस काट्न गएका बेला चितुवाको आक्रमणमा परी ज्यान गएको डिभिजन वनले जनाएको छ ।

डिभिजन वन प्रमुख टोलकराज चपागाईंले वन्यजन्तुको समस्या जटिल भएकाले अल्पकालीन र दीर्घकालीन कार्यक्रम गरिरहेको बताए । मानिसलाई चेतना बढाउने, वन र आवादीबीच तारबार लगाउने, वन जोगाउने, समस्याग्रस्त वन्यजन्तुलाई समातेर अन्यत्र राख्ने लगायत वासस्थान सुधार गर्ने काम भइरहेको उनले बताए । यसबाहेक नियन्त्रणमा लिएका चितुवाका लागि बजेट अभावमा खोरको व्यवस्थापन नहुँदा पुनः वनतिर फर्काउन बाध्य भएको उनले बताए ।