लुम्बिनीको थाइ बिहारमा लोय कोताङ पर्वको रौनक



भैरहवा– बुद्ध जन्मस्थलप्रतिको आस्थाका कारण विभिन्न मुलुकका धर्मावलम्बीले लुम्बिनीमा आफ्नो धर्म र संस्कृति अनुसार चाडपर्व मनाउने गरेका छन् । फरक संस्कृति अवलोकन गर्न पाउँदा लुम्बिनी घुम्न आउने श्रद्धालु पनि रमाउने गर्छन् ।
लुम्बिनी विकास कोष परिसरभित्र रहेको थाइल्याण्डको राजकीय विहारले प्रत्येक वर्ष आफ्नो मुलुकमा मनाइने चाडपर्व यहाँ मनाउने गरेको छ । यसैक्रममा रोयल थाई मोनाष्ट्रीमा यसपटक लोय कोताङ पर्व मनाइँदै छ । पर्वको अवसरमा रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा राजबोधी विदेश वजिराशुद्धीले विश्व शान्तिको कामना गरेका छन् ।
थाइल्याण्डको लोकप्रिय पर्व लोय कोताङ बुद्ध जन्मस्थलमा दीप प्रज्ज्वलनसहित मनाइएको हो । केराको थाम र सालका पातबाट सजाइएका कोताङ पानीमा तैराउँदै सहभागीले प्रार्थना, नयाँ सुरुवात र आफ्ना कमीकमजोरीबाट मुक्ति पाउने कामना गरे ।
थाई, श्रीलंका र म्यानमारका भिक्षु–भिक्षुणीसहित स्थानीय सहभागी भएको उत्सवमा जलिरहेका मैनबत्ती र धूपले लुम्बिनीको क्षितिज उज्यालो बनेको थियो । पवित्र पोखरीमा केराको स–साना थामोलाई सजाएर त्यसमाथी बत्ती बालेर पानीमाथी तैराइएको थियो ।
सालको पातको टपरीलाई फुलले सजाएर आकर्षक बनाई धुप, मैनबत्ती राखेर बाल्दा परपरसम्मका क्षितिज चम्किलो बनेको थियो । कार्यक्रममा थाई, श्रीलंका, म्यानमारका भिक्षु–भिक्षुणी र उपासक उपासिका सहभागी थिए । थाई भाषामा लोय भनेको तैरनु र कोताङ भनेको केराको थामो हो । केराको थामोलाई डिजाइन निकालेर कोताङ बनाइन्छ ।
त्यसलाई पानीमा बग्दै जानुलाई लोय भनिन्छ । तर, समयअभावमा मानिस आजभोली आधुनिक कोताङ प्रयोग गर्छन् । पाउरोटी र स्टाइरोफोमबाट बनेका कोताङ प्रयोग गर्छन् । जुन सस्तो र सर्वसुलभरुपमा पाइन्छ । बैंककका धेरै होटलले स्विमिङ पुल क्षेत्रमा लोय कोताङ आयोजना गरेर उत्सवका रुपमा मनाउँछन् । कोताङमा बालिने प्रत्येक मैनबत्तीमा प्रार्थना, प्रगति र चाहना जोडिएका हुन्छन् । यो चार्डको मुख्य उद्देश्य नयाँ सुरुवात हो ।
चार्डलाई उत्सवका रुपमा मनाइन्छ । उत्सवमा सहभागी हुनेले आफना कमीकमजोरी बगेर पानीसंगै टाढा जाओस् र क्षमादान मिलोस् भन्ने कामना गर्न पर्व मनाइने लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा राजबोधी विदेश वजिराशुद्धीले बताए ।
जलिरहेको धूप र प्रज्ज्वलित मैनबत्तीले कोताङको माथिल्लो भागलाई ढाक्छन् । सुर्यास्तका बेला गरिने उत्सव थाइल्याण्डभरिका जलमार्गमा हजारौं उज्यालो केरा–पातका डुंगा तैरिरहेको हेर्न पाइन्छ । मुख्य धान काट्ने सिजन समाप्त हुने बित्तिकै र यो पानी देवीलाई बालीनालीमा प्रचुर आपूर्ति गरेर एक वर्षभरिको मूल्यकोलागि धन्यवाद दिने गरिन्छ ।
पानी प्रदूषित गरेकोमा माफी माग्ने गर्दछन् र स्वर्गमा बुद्धको कपाल प्यागोडाको पूजा गर्न कोताङ प्रयोग गर्छन् । लोय कोताङ परम्परागत थाई चन्द्र क्यालेन्डरमा १२ औं महिनाको पूर्णिमाको साँझ हुन्छ । यसरी चार्डको सही मिति प्रत्येक वर्ष परिवर्तन हुँदै जान्छ । पश्चिमी क्यालेन्डरमा यो सामान्यतया नोभेम्बर महिनामा पर्दछ । यस वर्ष लुम्बिनीमा पनि नोभेम्बर अन्त्यमा परेको हो ।








प्रतिकृया दिनुहोस्