दशौं राष्ट्रिय खेलकुदः बाँके र बर्दियामा सञ्चालन हुने खेलको तयारी पूरा



भैरहवा– दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशमा सञ्चालन हुने चार खेलको तयारी पूरा भएको छ । यसपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतियोगिता सञ्चालन हुने भए पनि पूर्वाधार अभावमा केही खेल बाँके र बर्दियामा आयोजना गरिएका छन् । आयोजकका अनुसार बाँकेमा पौडी, सुटिङ (निसानेवाजी) र बर्दियामा खोखो र टेनिस खेल हुनेछन् ।
नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा पौडी र रंगशालामा सुटिङ प्रतियोगिता, बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोरगता हुने छन् । प्रदेश खेलकुद परिषदका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेल पूर्वाधारको मर्मत र निर्माणको काम सकेर व्यवस्थापनको काम अन्तिम चरणमा पुर्याइएको हो । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा रङरोगन, टायल परिवर्तन र मर्मतको काम सकिएको छ । पोखरी मर्मत अन्तिम अवस्थामा छ ।
बर्दियाको भुरीगाउँस्थित कभर्ड हलमा खोखो तथा गुलरियास्थित कभर्ड हलमा टेनिस प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका सबै काम सकिएका छन् । दुवै खेलस्थलमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले लुम्बिनी प्रदेशको बाँकेको नेपालगन्जमा मंसिर ८ गतेदेखि पौडी र मंसिर १६ गतेदेखि सुटिङ प्रतियोगिता सुरु हुने भएकोले तयारी र व्यवस्थापनको काम अन्तिम चरणमा पुर्याइएको बताए ।
भुरीगाउँस्थित कभर्ड हलमा मंसिर १९ देखि २३ गतेसम्म खोखो प्रतियोगिता र गुलरियास्थित कभर्डहलमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता हुनेछ । राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट कात्तिक २० र २१ गते बुटवल, नेपालगन्ज र बर्दियामा खेलाडीहरुको छनोट प्रतियोगिता चलेको थियो । त्यसमा बास्केटबल महिला पुरुष, टेनिस, पौडी, सुटिङ, भारत्तोलन, जिम्नाष्टिक र आर्चरी खेलका लागि खेलाडी छनोट गरिएको परिषदका प्रशासन प्रमुख अमृत केसीले बताए ।
राष्ट्रिय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन् । सहभागी टोलीले खेलाडी छनोट गरिसकेको लुम्बिनी प्रदेश खोखो सघंका महासचिव तथा प्रशिक्षक खगेन्द्र शाहीले बताए । खोखोका लागि निर्माण गरिएको भुरीगाउँको कभर्ड हलमा म्याटसहितका सुविधा छन् । हलको रङरोगन तथा मर्मतसम्भार पूरा भएको ठाकुरबाबा नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थबहादुर खड्काले बताए ।
मंसिर ८ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न विधाका खेल सुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रगंशालामा हुनेछ । प्रतियोगितामा ३२ खेलका ३८४ विधा समावेश छन् । सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।








प्रतिकृया दिनुहोस्