देवदह नगर अस्पतालद्वारा चार महिनामा ७ हजारलाई स्वास्थ्य सेवा



देवदह– रुपन्देहीको देवदहमा नगर अस्पताल स्थापनासँगै नागरिकलाई स्वास्थ्य उपचारमा सहज भएको छ । नगर अस्पतालले पहिलो चौमासिकमा ७ हजार २ सय भन्दा धेरै नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । देवदह नगर अस्पतालमा पाल्पा, नवलपरासी, देवदहसँगै तिलोत्तमाको केही क्षेत्रका नागरिकले सेवा लिने गरेको नगर अस्पतालका सहायक प्रशासन प्रमुख मुना भण्डारीले बताए ।
नगर अस्पतालको तथ्यांक अनुसार २०८३ साउन महिनामा १ हजार ९८५, भदौ महिनामा २ हजार ४७, असोज महिनामा २ हजार ६ र कार्तिक महिनामा १ हजार १२८ जनाले सेवा लिएका छन् ।
नगर अस्पतालमा अहिले ४ जना मेडिकल अफिसर, स्वास्थ्यकर्मी र कर्मचारी समेत ३० जना कार्यरत रहेको प्रशासन सहायक युवराज दिशाले जानकारी दिए । ल्यावमा ४ जना, नर्सिङ्गतर्फ ५ जना, प्रशासनतर्फ २ जना र एक जना लेखा तथा अन्य कर्मचारी समेत गरेर ३० जना कार्यरत रहेको दिशाले जानकारी दिए ।
नगर अस्पतालमा सेवा प्राप्त गर्ने पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । अस्पतालको अभिलेख अनुसार ५७ प्रतिशत महिलाहरुले सेवा लिने गरेको र ४३ प्रतिशत पुरुषले सेवा लिने गरेका छन् । अस्पताल संचालनमा प्राविधिक जनशक्ति अभावका कारण नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न कठिनाई रहेको सहयाक प्रशाासन प्रमुख भण्डारीले बताए ।
देवदह नगरपालिकाले स्वास्थ्य सेवालाई महत्व दिँदै सुविधा सम्पन्न भौतिक संरचनाहरु निर्माण गरिरहेको छ । भौतिक संरचनासँगै विरामीको रोग परीक्षणको लागि आवश्यक पर्ने यन्त्रउपकरण समेत छिटो व्यवस्थापन गर्नुपर्ने आम सेवाग्रहीको भनाई छ ।
देवदह नगर अस्पतालमा निकट भविष्यमा दाँत र आखाको सेवा समेत प्रदान गर्ने गरी अगाडि बढेको नगर प्रमुख धु्रवप्रसाद खरेलले बताए । नगर अस्पतलामा आँखाको समेत सेवा प्रदान गर्ने गरी रण अम्विका आँखा अस्पताल, भैरहवासँग सहकार्य गरिएको नगर प्रमुख खरेलले जनाए । त्यसैगरी नगर अस्पतालमा दन्त चिकित्सक सेवाको लागि समेत जनशक्ति व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्