गौतमबुद्ध विमानस्थलबाट साढे ४ वर्षमा १२ सय उडान



भैंरहवा– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमितसँगै चार्टर्ड मार्फत् साढे चार वर्षमा एक हजार दुई सय उडान भएका छन् । लुम्बिनी भ्रमणमा आउने पर्यटक लक्षित गरेर सञ्चालन गरिएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान छैनन । उडान नियमित नहुँदा यहाँबाट ओहोर दोहोर गर्ने यात्रुको संख्या कम छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सन् २०२२ देखि २०२६ को अहिलेसम्म ट्रान्जिटसहित एक हजार २ सय १८ अन्तर्राष्ट्रिय उडान भए पनि जम्मा ६९ हजार ३ सय १६ यात्रुले सेवा लिएका छन् । सन् २०२३ मा यात्रु संख्या चार हजार ७ सय ५१ मा खुम्चिएको थियो । सन् २०२५ मा १९ हजार ५ सय ९० पुगे पनि यो विमानस्थलको क्षमताअनुसार सन्तोषजनक देखिँदैन् ।
चालु वर्षमा भने चार हजार १ सय ५३ यात्रुले मात्र अन्तर्राष्ट्रिय उडान गरेका छन् । हिउँदे सिजनका लागि अहिलेसम्म कुनै वायुसेवा कम्पनीले अनुमति लिएका छैनन् । अहिले ‘विन्टर शेड्युल’ शुरू भइसकेकाले कुनै नियमित अन्तर्राष्ट्रिय उडान छैन । वायुसेवा कम्पनीरूले नियमित सेवा बन्द गर्नुको मुख्य कारण यात्रु अभावलाई देखाएका छन् । गौतमबुद्ध विमानस्थलमा दैनिक तिन उडान भएका बेला विमानस्थलमा लुम्बिनी प्रदेशका मात्र नभई मधेश, कोशी, सुदूरपश्चिमलगायत विभिन्न प्रदेशबाट यात्रु भैरहवा आउँथे ।
वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने म्यानपावर कम्पनी, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र जनरल सेल्स एजेन्टका काममा सरकारले चासो नदिएपछि विदेशी वायुसेवा कम्पनी नेपालस्थित जनरल सेल्स एजेन्ट काठमाडौंमा मात्र केन्द्रित भएका छन् । उनीहरूको सम्पूर्ण व्यापारिक संरचना काठमाडौंमा भएकाले यात्रुलाई पनि काठमाडौंबाटै उडाउन बढी जोड दिने गरेको र त्यही कारण यात्रुको संख्या कम देखाएर अन्तराष्ट्रिय ठुला एयरलाइन्सहरुले भैरहवामा उडान गर्न नखोजेको देखिएकाले त्यही अनुसार ठोस पहल गर्नु पर्ने नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले बताए ।
‘नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको भए विदेशी वायुसेवा कम्पनीलाई पनि सकारात्मक सन्देश जान्थ्यो,’ ट्राभल व्यवसायी संजय बजियमले भने, ‘सरकारबाटै त्यो पहल नहुँदा अन्य विमान कम्पनीहरुले पनि भैरहवा आउने चासो देखाएनन् र उडान नै भरेनन् ।’
भारतीय वायुसेवा कम्पनीले दिल्ली, मुम्बई, कोलकाता, बेङ्लोरलगायत विभिन्न ठूला शहरबाट भैरहवामा सहज उडान गर्न सक्छन् । त्यसले भारतीय पर्यटक र बौद्ध तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढाउन सक्नेछ, तर यसका लागि सरकारी तहबाट आवश्यक पहल हुनु पर्ने सरोकारवालाको सुझाव छ । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको भ्रमणपछि एयररुट लगायतका समस्या समाधान भएर नियमित उडान हुने अपेक्षा निजी क्षेत्रको छ ।








प्रतिकृया दिनुहोस्