लुम्बिनी प्रदेशमा कुष्ठरोगको जोखिम उच्च, देशभरका नयाँ बिरामीमध्ये २५ प्रतिशत यहीका



भैरहवा– नेपालमा पहिचान भएका नयाँ कुष्ठरोगीमध्ये एक चौथाइ लुम्बिनी प्रदेशका रहेको पाइएको छ । नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ मा देशभर दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएकामा २५ प्रतिशत लुम्बिनी प्रदेशका छन् । यसले लुम्बिनी प्रदेश कुष्ठरोगको उच्च जोखिममा रहेको देखाएको छ ।
आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेका अनुसार मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको जोखिमका हिसाबले देशकै दोस्रो स्थानमा छ । प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलगायत जिल्लामा यसको जोखिम बढी रहेको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाले बताए ।
नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्ने उनले जनाए । अझ चिन्ताजनक पक्ष, लुम्बिनी प्रदेशमा बालबालिकामा समेत कुष्ठरोगको सङ्क्रमण देखिएको छ । बालबालिकामा सङ्क्रमणको सङ्ख्या उच्च रहनुले रोग पहिचान र नियन्त्रणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनले बताए ।
कुष्ठरोग नियन्त्रणमा चुनौती थपिनुको प्रमुख कारण समयमै रोग पहिचान हुन नसक्नु रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । गरिबी, स्वास्थ्य सेवामा सहज पहुँच नहुनु, सामाजिक भेदभाव तथा रोगप्रतिको लाञ्छनाका कारण बिरामीहरू उपचारको पहुँचमा आउन ढिलाइ हुने गरेको डा. बुढाले बताए । समयमै पहिचान र उपचार हुन नसक्दा सङ्क्रमण नियन्त्रणमा समस्या देखिएको उनको भनाइ छ ।
यसैबीच, बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी उपचार सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालनमा रहेको अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार तथा सेवा प्रवाहको प्रमुख केन्द्र बनाउने लक्ष्य राखिएको डा. बुढाले जानकारी दिए ।
अस्पतालको सेवा विस्तार तथा स्तरोन्नतिको योजना नेपाल सरकारले अघि सारेको शून्य कुष्ठरोग रणनीतिसँग जोडिएको छ । कुष्ठरोगको पहिचान, उपचार र जनचेतनालाई थप प्रभावकारी बनाउँदै सङ्क्रमण नियन्त्रणमा योगदान पुर्याउने उद्देश्यले क्षेत्रीयस्तरमा सेवा विस्तार गर्न लागिएको हो ।
आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट हालसम्म छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिइसकेका छन् । यी अस्पतालमार्फत कुष्ठरोगलगायत स्वास्थ्य सेवाबाट वञ्चित समुदायसम्म उपचारको पहुँच पुर्याउने काम भइरहेको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कुष्ठरोग नियन्त्रण तथा उपचार सेवाको विस्तारका लागि प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तयार रहेको बताए । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष्यसहित रणनीति अघि बढाएको उल्लेख गर्दै उनले त्यसलाई सफल बनाउन सरकार, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
नयाँ बिरामीको सङ्ख्या, बालबालिकामा देखिएको सङ्क्रमण र प्रदेशका १० जिल्लामा रहेको जोखिमले लुम्बिनीमा कुष्ठरोग नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ । समयमै परीक्षण, उपचारमा सहज पहुँच र सामाजिक लाञ्छना हटाउने अभियानलाई प्रभावकारी बनाउन सके मात्रै शून्य कुष्ठरोगको राष्ट्रिय लक्ष्य हासिल गर्न सहज हुनेछ ।








प्रतिकृया दिनुहोस्