November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

वासन्ती फूल

Advertisement

बिहानैदेखि आँगनमा घाम छरिएको थियो । तुलसीको मठछेउको भिजेको माटोबाट चिसो बास्ना आइरहेको थियो । आमाले भान्सामा चिया बसाल्नुभएको थियो। उम्लिएको पानीको आवाजसँगै चम्चा कपमा ठोक्किन्थ्यो—टिङ्… टिङ्…। बाहिरबाट छिमेकीको रेडियोमा पुरानो गीत मधुरो सुनिन्थ्यो । म जुत्ता खोज्दै आँगनमा निस्किएँ । ढोकानजिक पुगेपछि आँखा तुलसीको मठछेउमै पुग्यो । सानो फूल फुलेको थियो । रातभरको शीत अझै त्यसका पातमा टल्किरहेको थियो र घामको एउटा मसिनो किरण फूलको बिचमा परेको थियो । “आजै फुलेछ कि क्या हो !” मैले मनमनै भनेँ । हिजो पनि यही बाटो भएर निस्किएको थिएँ, अस्ति पनि । तर त्यो फूल कहिले फुल्यो, मलाई थाहा थिएन । यति दिनदेखि आँखाअगाडि रहेको कुरा पनि कहिलेकाहीँ अचानक देखिँदो रहेछ ।

Advertisement

“कहाँ हरायौ फेरि? कलेज जानुपर्दैन ?” आमाको आवाज भान्साबाट आयो । “आएँ आमा ।” जुत्ता लगाएँ, झोला काँधमा भिरेँ र ढोकाबाट बाहिर निस्किएँ । तर बाहिरिँदै गर्दा फेरि एक पटक पछाडि फर्केर हेरेँ । फूल त्यहीँ थियो । हावाले हल्लाउँदा त्यसका पात अलिकति काँपे । किन हो, त्यो सानो काँपाइ पनि लामो समयसम्म आँखामा बसिरह्यो । बाटोमा सधैँझैँ मान्छेहरूको चहलपहल थियो—दुधको क्यान बोकेर साइकल हुइँकिरहेको थियो, पसलको सटर आधा खुलेको थियो, चियापसलअगाडि बिहानै दुई जना बहसमा थिए । सडकछेउको रूखबाट चराहरू एकपछि अर्को उडिरहेका थिए । म पनि त्यही भिडसँगै कलेजतिर लागेँ ।

कलेजको गेटमा पुग्दा साथीहरूले परैबाट बोलाए, “ए, आज त ढिलो !” म हाँस्दै उनीहरूतिर गएँ । त्यही बेला ऊ पुस्तक छातीमा च्यापेर सिँढीबाट तल झरिरहेकी थिई । मलाई देखेपछि एकछिन रोकिई । “आज पढेर आएको जस्तो छौ,” उसले हाँस्दै भनी । “किन ?” मैले सोधेँ । “अनुहारमा अलि गम्भीरता छ ।” मसँग तुरुन्तै उत्तर आएन । ऊ फेरि मुस्कुराई र साथीहरूसँगै अगाडि बढिन् । म पनि अघि बढेँ । तर अचम्म के भयो भने, बिहान आँगनमा देखेको त्यो फूल फेरि सम्झना आयो । एउटा फूल। एउटा मुस्कान । दुवैको सम्बन्ध के थियो, मसँग कुनै उत्तर थिएन ।

त्यस दिन कक्षामा शिक्षक पढाइरहनुभएको थियो । बोर्डमा सूत्रहरू लेखिँदै थिए । साथीहरू कापीमा टिपिरहेका थिए । म पनि कापी खोलेर बसेको थिएँ, तर अक्षरहरू आँखाअगाडि आएर पनि मनभित्र पसिरहेका थिएनन् । केहीबेरपछि आफैँलाई सम्झाएँ—के भयो मलाई ? कापीतिर फर्किएँ । छुट्टीको समयमा ऊ पुस्तकालयको ढोकानजिक भेटिई । हातमा किताब थियो । “आजकल त तिमी पढाइमा अलि हराउन थालेका छौ जस्तो लाग्छ,” उसले भनी । “म ?” “हो, तिमी । त्यसो भए आज गणितको गृहकार्य किन अधुरो ?” म हाँसेँ । “तिमीले जाँचिसक्यौ ?” “जाँच्नै पर्दैन । कक्षामा तिम्रो अनुहारले सबै भनिरहेको हुन् ।” त्यसपछि ऊ केहीबेर चुप लागी र भनी, “तर एउटा कुरा भनूँ ? तिमी सक्छौ । तिमीले अहिले गरिरहेको भन्दा धेरै गर्न सक्छौ । अरूको कुरा सुनेर वा आज रमाइलो भयो भनेर भोलिलाई कमजोर नबनाऊ ।” वाक्य सामान्य थियो, तर त्यस दिन त्यो मेरो मनमा असामान्य गहिराइ लिएर बस्यो ।

घर फर्किएपछि पनि उसको कुरा सम्झिरहेँ । झोला कुर्सीमा फालेर मोबाइल हातमा लिएँ । केहीबेर भिडियो हेरेँ । त्यसपछि अचानक मोबाइलको कालो पर्दामा आफ्नै अनुहार देखियो । दिनभरि के गरेँ ? केही घण्टा कक्षामा बिताएँ, केही समय साथीहरूसँग हाँसेँ, अनि बाँकी समय यही उज्यालो पर्दामा हराएँ । टेबलमा किताब खुलै थियो । मैले मोबाइल बन्द गरेँ । त्यो सानो निर्णय थियो, तर त्यस रात धेरै महिनापछि मैले किताबलाई मोबाइलभन्दा लामो समय हेरेँ । पढ्दापढ्दै बाहिर आमाको भाँडा माझेको आवाज सुनिन्थ्यो । बुबा ढिलो गरी घर फर्किनुभयो । उहाँको थकित पाइला सुन्दा अचानक मलाई आफ्नै पढाइ सम्झियो— मेरो शुल्क, किताब, कापी, मेरो भविष्यको चिन्ता; यी सबैको पछाडि उहाँहरूको कति दिन र कति रात जोडिएका होलान् ?

भोलिपल्ट बिहान आमाले आँगन बढारिरहनुभएको थियो । बुबा काममा जाने तयारी गर्दै हुनुहुन्थ्यो  । आमाको हातमा पुरानो झाडु थियो, बुबाको कमिजमा हिजोको पसिनाको हल्का दाग अझै बाँकी थियो । म ढोकामा उभिएर केहीबेर उनीहरूलाई हेर्दै रहेँ । पहिले पनि मैले उनीहरूको दुःख देखेको थिएँ, तर त्यस बिहान पहिलोपटक त्यसलाई महसुस गरेँ । “के हेरेर बसेको ?” आमाले सोध्नुभयो । “केही होइन आमा ।” “चिया खाऊ ।” म भान्सातिर गएँ । चियाबाट निस्किएको बाफसँगै आमाको अनुहार देखियो । थकान थियो, तर गुनासो थिएन । त्यस दिनदेखि घरका साना काममा हात लगाउन थालेँ । बजारबाट सामान ल्याउनुपर्दा आफैँ जान्थेँ । बुबा ढिलो आउनुभयो भने पानी राखिदिन्थेँ । आमाले भाँडा माझिरहनुभएको देखेँ भने सकेको काम गर्थेँ । कसैले मलाई बदल्न भनेको थिएन । तर मनभित्र कतै एउटा आवाज बारम्बार सुनिन्थ्यो— “तिमी सक्छौ ।” त्यो आवाज उसको थियो कि मेरो आफ्नै, छुट्याउन गाह्रो थियो ।

दिनहरू बित्दै गए । पढाइमा ध्यान बढ्यो । मोबाइल हातमा आउँदा पनि पहिलेझैँ घण्टौँ हराउन थालिनँ । साथीहरूले जिस्काउँथे— “ए, आजकल त बाबुसाहेब निकै सुध्रिएछन् !” म हाँसिदिन्थेँ । तर मेरो परिवर्तनलाई म आफैँले मात्र जान्थेँ । पहिले भविष्य टाढाको कुनै धुमिल बाटोजस्तो लाग्थ्यो; अहिले त्यही बाटोमा आफूले चाल्नुपर्ने केही पाइला देखिन थालेका थिए । परीक्षा नजिकिँदै थियो। एक साँझ पढ्दापढ्दै बाहिर पानी पर्न थाल्यो । छानामाथि पानीका थोपा लगातार बज्न थाले— टप्… टप्… टप्… । झ्यालबाट बाहिर हेर्दा आकाश पूरै बादलले ढाकिएको थियो । मलाई फेरि त्यही फूल सम्झियो । केही दिनअघि हावाले त्यसलाई हल्लाएको थियो, पानी परेका दिन पनि त्यो उभिइरहेको थियो— सानो, तर अडिग । मैले किताब बन्द गरिनँ । पढिरहेँ ।

परीक्षा सकिएपछि केही दिन परिणामको प्रतीक्षा चल्यो । त्यसबिच ऊसँग खासै कुरा भए । एक दिन पुस्तकालयबाट निस्कँदै गर्दा उसले सोधी, “कस्तो भयो परीक्षा ?” मैले भनेँ, “पहिलेभन्दा राम्रो ।” ऊ मुस्कुराई । “पहिलेभन्दा राम्रो हुनु मात्र पर्याप्त छैन ।” “अब के गर्नू ?” मैले जिस्किएँ । “अर्को पटक अझ राम्रो ।” “तिमीलाई कहिल्यै पुग्दैन ?” मैले हाँस्दै सोधेँ । उसले पनि हाँस्दै भनी, “तिमीले आफूलाई चिन्ने दिन पुग्छ ।” त्यो वाक्य पनि मनमा कतै गहिरो ठाउँमा गएर बस्यो ।

परिणाम आएको दिन कलेजको वातावरण नै फरक थियो । कोही खुसीले चिच्याइरहेका थिए, कोही साथीको अंक हेर्दै थिए । मेरो हातमा परिणामपत्र थियो । अंक पहिलेभन्दा निकै राम्रो थियो । घर पुगेर परिणाम आमाको हातमा राखेँ । उहाँले केहीबेर हेर्नुभयो । आँखाको कुनामा मुस्कान आयो । “राम्रो भएछ ।” यति मात्र भन्नुभयो । तर ती दुई शब्दमा मैले धेरै कुरा सुनेँ । बुबाले परिणाम हेर्दै मेरो काँधमा हात राख्नुभयो । “अब अझ राम्रो गर्नुपर्छ ।” पहिले यस्ता शब्द सुन्दा मलाई दबाब लाग्थ्यो । त्यस दिन भने ती शब्दहरूमा विश्वास सुनियो  ।

त्यसको केही दिनपछि साँझतिर ऊसँग फेरि भेट भयो । कलेजको बाटोमा बादल लागेको थियो । हावा चिसो थियो । हामी केहीबेर सँगै हिँड्यौँ । “परिणाम राम्रो आएछ,” उसले भनी । “तिमीले भनेजस्तै ।” “मैले भनेको भएर होइन । तिमीले गरेको भएर ।” म चुप भएँ । उसले बाटोतिर हेर्दै भनी, “कहिलेकाहीँ कसैले हामीभित्र भएको राम्रो कुरा देखाइदिन्छ । त्यसपछि त्यो राम्रो कुरा हाम्रो आफ्नै बन्छ ।” त्यति बेला पानीका केही थोपा पर्न थाले । हामी बाटोछेउको छानोमुनि उभियौँ । केहीबेरमै पानी बढ्यो । सडक चम्किन थाल्यो । अचानक बादलको एउटा छेउबाट घामको फितलो किरण निस्कियो । भिजेको सडकमा त्यो उज्यालो लामो भएर फैलियो । उसले आकाशतिर हेरी र भनी, “हेर्नू, बादलभित्र पनि घाम लुकेको रहेछ ।” मैले केही भनिनँ। मलाई भने त्यो बिहानको फूल फेरि सम्झियो ।

त्यो रात घर पुगेपछि धेरैबेर निद्रा लागेन । टेबलमा कापी खोलेँ । धेरै दिनदेखि नलेखिएको डायरी निकालें । कलम केहीबेर हातमै रोकियो । त्यसपछि लेख्न थालेँ— “सायद मेरो जीवनमा केही नयाँ आएको छ । त्यो केवल कसैलाई मन पराउनु होइन । त्यसले मलाई आफैँतिर फर्काएको छ । आमाबुबाको पसिना देखाएको छ । समयको मूल्य सम्झाएको छ । आफूले गर्न सक्ने कामबाट भाग्नु हुँदैन भन्ने सिकाएको छ । आज सम्झँदा त्यो बिहान आँगनमा फुलेको फूल पनि संयोग मात्र थिएन जस्तो लाग्छ । फूल त्यहाँ पहिले पनि फुलेका होलान् । ऋतुहरू पहिले पनि आएका होलान् । तर तिनलाई देख्ने आँखा सायद आज बनेको थियो । सायद यही हो— वासन्ती । बाहिरको बगैँचामा मात्र होइन, कहिलेकाहीँ मानिसको मनमा पनि वसन्त आउँदो रहेछ । त्यसले फूल मात्र फुलाउँदैन; सोच फुलाउँछ, जिम्मेवारी फुलाउँछ, सम्बन्धप्रतिको सम्मान फुलाउँछ र भविष्यप्रतिको विश्वास फुलाउँछ । मेरो मनमा पनि एउटा ऋतु आएको छ । त्यस ऋतुको नाम मैले राखेको छु—वासन्ती ।”

डायरी बन्द गरेँ । बाहिर अझै पानी परिरहेको थियो । केहीबेरपछि पानी थामियो । बादल पातलिँदै गयो । झ्यालबाट आएको चन्द्रमाको फिका उज्यालो टेबलमाथि फैलियो । आँगनको कुनामा त्यही फूल थियो । हावाले बिस्तारै हल्लाइरहेको । यस पटक मलाई त्यसलाई हेरेर कुनै प्रश्न उठेन । म मुस्कुराएँ । किनकि अब मैले बुझिसकेको थिएँ— कहिलेकाहीँ वसन्त बाहिर आउनुभन्दा पहिले मानिसको मनभित्र फुलिसकेको हुँदो रहेछ । –sahityapost