November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

भैरहवामा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिक निर्माण सुरु

Advertisement

भैरहवा– भैरहवास्थित सिद्धार्थ बसपार्क परिसरमा रहेको पार्कमा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिक निर्माण हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले जग्गा उपलब्ध गराएपछि सामूहिक विद्यालय परिवार, रुपन्देहीले शालिक निर्माणको काम अघि बढाएको हो ।

Advertisement

नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यले पुर्याएको अतुलनीय योगदानको सम्मान तथा स्मरण गर्ने उद्देश्यले शालिक निर्माण गर्न लागिएको सामूहिक विद्यालय परिवार रुपन्देहीले जनाएको छ ।

बिहीबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले शालिक निर्माणस्थलको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै नगर प्रमुख खानले राष्ट्रका गौरव तथा ऐतिहासिक व्यक्तित्वहरूको योगदानलाई सबैले स्मरण र सम्मान गर्नुपर्ने बताए । यस्ता व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई इतिहास, भाषा र साहित्यप्रति प्रेरित गर्ने उनको भनाइ थियो ।

सामूहिक विद्यालय परिवारका अध्यक्ष विष्णुप्रसाद पन्थीले भानुभक्त आचार्यको जन्मस्थल तनहुँ पुगेर त्यहाँको अवस्था अवलोकन गरेपछि भैरहवामा पनि उनीप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने उद्देश्यले शालिक निर्माण गर्ने निर्णय गरिएको जनाए ।

निर्माणको काम तीन साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ६ फिट अग्लो पूर्णकदको शालिक भारतमा निर्माण गरी भैरहवा ल्याइसकिएको छ । अहिले शालिक स्थापना गर्ने संरचना (स्ट्रक्चर) निर्माणको काम सुरु गरिएको छ ।

शालिक निर्माण सम्पन्न भएपछि भैरहवाको सार्वजनिक स्थलमा नेपाली भाषा साहित्यका अग्रणी व्यक्तित्वको सम्मानमा अर्को महत्वपूर्ण संरचना थपिने नगर प्रमुख खानले जनाए । यसले स्थानीय बासिन्दा तथा यस क्षेत्रमा आउने आगन्तुकलाई आदिकवि भानुभक्त आचार्यको योगदान, जीवन र नेपाली भाषा साहित्यमा उनले पुर्याएको योगदानबारे जानकारी लिन थप सहज हुने सामूहिक विद्यालय परिवारका सचिव कमल कोइरालाले बताए ।