बुद्ध सर्किटमा सडक पुग्यो, पर्यटकलाई यात्रा अझै सास्ती



भैरहवा– लुम्बिनीलाई केन्द्रमा राखेर नवलपरासी, रुपन्देही र कपिलवस्तुका बुद्धसँग सम्बन्धित महत्वपूर्ण पुरातात्विक स्थललाई सडक सञ्जालले जोडिएको छ । तर, सडक पुगे पनि नियमित सार्वजनिक यातायात सञ्चालन नहुँदा बुद्ध सर्किटको भ्रमण अझै सहज र सर्वसुलभ हुन सकेको छैन । पर्यटकले निजी सवारी प्रयोग गर्नुपर्ने वा महँगो शुल्क तिरेर गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।
लुम्बिनीमा पर्यटकका लागि यातायातलगायतका आधारभूत पूर्वाधार उपलब्ध भए पनि बुद्ध सर्किटका अन्य स्थलमा त्यस्तो सुविधा छैन । रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा, कुदान र सिसनियाजस्ता महत्वपूर्ण बौद्ध सम्पदा सडकबाट जोडिए पनि सार्वजनिक यातायातको नियमित व्यवस्था हुन सकेको छैन ।
लुम्बिनी विकास कोषको पहलमा पछिल्ला वर्षमा यी स्थलसम्म सडक सुविधा विस्तार गरिएको हो । नवलपरासीको रामग्राम परासीबाट साढे तीन किलोमिटर, रुपन्देहीको देवदह शितलनगरबाट चार किलोमिटर र कपिलवस्तुको तिलौराकोट तौलिहवाबाट साढे तीन किलोमिटर दूरीमा छन् । त्यस्तै, कुदान दुई, गोटिहवा पाँच, निग्लीहवा सात, सगरहवा सात, अरौराकोट साढे आठ र सिसनिया १३ किलोमिटर सडक दूरीमा छन् ।
सडक पूर्वाधार विस्तारले पर्यटन व्यवसायीलाई उत्साहित बनाए पनि यातायातको अभावले पर्यटकले सहज यात्रा गर्न नसकेको पर्यटन व्यवसायी कर्मा शेर्पा बताउँछन् । काठमाडौं बौद्धका पर्यटन व्यवसायी शेर्पाका अनुसार विगतमा सडकको असुविधाका कारण लुम्बिनीबाहेकका बुद्धस्थलमा पर्यटक लैजान निकै कठिन थियो । अहिले सडक बने पनि नियमित सार्वजनिक यातायात नहुँदा पर्यटकले घण्टौँ कुर्नुपर्ने वा रिजर्भ गाडीमा महँगो खर्च गर्नुपर्ने अवस्था छ ।
‘सडक तयार भएपछि आफ्नै गाडी वा रिजर्भ गरेर भए पनि पुग्न सकिने संरचना बनेको छ,’ शेर्पाले भने, ‘बुद्ध धर्मावलम्बी र अन्य पर्यटक लुम्बिनी भ्रमणसँगै आसपासका बुद्धस्थल पनि घुम्न चाहन्छन् । तर, सहज यातायात नहुँदा उनीहरूलाई समस्या छ ।’
सडक पहुँच विस्तार भए पनि प्रचारप्रसार, संरक्षण र पर्यटकीय पूर्वाधारको अभावमा यी सम्पदा ओझेलमा छन् । होटल, रेस्टुरेन्ट, शौचालय र यातायातजस्ता आधारभूत सुविधा नहुँदा लुम्बिनी पुगेका पर्यटकलाई अन्य स्थलसम्म पुर्याउन सकिएको छैन । लुम्बिनीका होटल व्यवसायी मिथुनमान श्रेष्ठ बुद्धसँग सम्बन्धित महत्वपूर्ण सम्पदा भए पनि तिनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नसकिएको बताउँछन् ।
‘हामीसँग यति धेरै बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल छन्, तर पर्यटकलाई ती स्थलमा भुलाउन सकेका छैनौँ,’ श्रेष्ठले भने, ‘गुरुयोजना बनाएर व्यवस्थित विकास र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके कपिलवस्तुले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सक्छ ।’
उनका अनुसार पर्यटकको बसाइ लम्ब्याउन र आर्थिक गतिविधि बढाउन प्रत्येक स्थलको सम्भावना अनुसार विकास योजना र लगानी आवश्यक छ । अहिले कपिलवस्तु आउने अधिकांश पर्यटक भारतीय ट्राभल एजेन्सीमार्फत प्याकेजमा आउने गरेका छन् । उनीहरू एक–दुई घण्टा तिलौराकोट लगायतका स्थलको भ्रमण गरेर भारतीय गाडीमै फर्किन्छन् । अन्य बुद्धस्थलमा पुग्ने पर्यटकको संख्या निकै न्यून छ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले पर्यटकको संख्या कम भएकै कारण निजी पर्यटन व्यवसायीले नियमित गाडी सञ्चालन गर्न नसकेको बताए । उनका अनुसार व्यवसायीले लगानीको प्रतिफललाई प्राथमिकता दिने भएकाले यात्रुको चाप र आम्दानी हुने गन्तव्यमा मात्र यातायात सञ्चालन गर्ने गरेका छन् ।
‘बुद्ध सर्किटका स्थलको प्रचारप्रसार र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहुलियतपूर्ण प्याकेज भ्रमणको व्यवस्था गर्न जरुरी छ,’ थापाले भने । यसअघि सिद्धार्थ यातायात व्यवसायी समितिका पूर्वअध्यक्ष सूर्यकुमार सारु मगरले पनि बुद्ध सर्किट प्रव््द्धनका लागि सामूहिक भ्रमणको प्रयास गरेका थिए । उनले प्रत्येक शनिबार बुद्धचोकबाट लुम्बिनी, तिलौराकोट, जगदीशपुर ताल, बुटवल, जितगढी र अष्ट्रिच फार्मसम्मको भ्रमण प्याकेज सञ्चालन गरेका थिए । तर, यात्रु नपाएपछि तीन महिनामा दुई पटक मात्र यात्रा गराएर कार्यक्रम बन्द गर्नुपरेको उनले बताए ।
‘यात्रु थपिँदै गए नवलपरासीको रामग्राम पनि भ्रमणमा समेट्ने योजना थियो,’ सारु मगरले भने । बुद्ध सर्किटका सम्पदालाई एउटै पर्यटकीय मार्गका रूपमा विकास गर्न सडक मात्र पर्याप्त देखिएको छैन । नियमित सार्वजनिक यातायात, सहुलियतपूर्ण भ्रमण प्याकेज, आधारभूत पर्यटकीय सुविधा, संरक्षण र प्रभावकारी प्रचारप्रसारको एकीकृत योजना कार्यान्वयन हुन सके मात्र लुम्बिनी आएका पर्यटकलाई बुद्धका अन्य ऐतिहासिक स्थलसम्म पुर्याउन सकिने देखिन्छ ।








प्रतिकृया दिनुहोस्