छठ घाटमा पुगेर रामजितले बाँडे वस्त्र र प्रसाद



भैरहवा–छठी मातासँग गरेको भाकल पूरा भएपछि रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का रामजित लोधले छठ पर्वको अवसरमा विभिन्न छठ घाटमा पुगेर व्रतालु तथा पूजामा सहभागी महिलाहरूलाई वस्त्र र प्रसाद वितरण गरेका छन् ।
आफ्नो मनोकामना पूरा भएको खुसीमा लोधले शिशवा, बोहरवा, मधवनी, दक्षिण मधवनी, भगलापुर, मटेरिया र टेगनाहालगायतका छठ घाटमा पुगेर महिलाहरूलाई फलफूल, प्रसाद तथा वस्त्र वितरण गरेका हुन् ।
लोधले छठी माताप्रतिको आस्था र विश्वासका कारण आफूले गरेको भाकल पूरा भएको बताए। त्यसैको खुसीमा माताप्रति आभार प्रकट गर्नुका साथै आफ्नो खुसी अरूसँग साट्न वस्त्र तथा प्रसाद वितरण गरेको उनको भनाइ छ ।
“छठी मातासँग गरेको भाकल पूरा भयो। त्यसैले खुसीयालीमा विभिन्न घाटमा पुगेर पूजाका लागि निर्माण गरिएका बेदीमा वस्त्र र प्रसाद अर्पण गरेको हुँ,” लोधले भने ।
छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने परम्परा छ। श्रद्धालुहरू कठोर व्रत बसेर नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
स्थानीय शुद्धोधन गाउँपालिका–७ की अमरावती गुप्ताले लोधको यस कार्यले सामाजिक सद्भाव र एकताको भावना थप मजबुत बनाएको बताइन् । पर्वका अवसरमा गरिएको यस्तो सहयोग र प्रसाद वितरणले आपसी सद्भाव, सहकार्य तथा धार्मिक आस्थालाई समेत जोड्ने उनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्