अर्घाखाँचीमा बाँदर धपाउन २६ हेरालु छनोट


अर्घाखाँची—बाँदरले बस्न खान नदिएपछि अर्घाखाँचीमा प्रतिस्पर्धाबाट हेरालु छनोट गरिएको छ । डिभिजन वन कार्यालयले यसपटक २६ बाँदर हेरालु छनोट गरेको हो । हेरालुका लागि बुधवार तीन दिनको समय दिएर २० जनाका लागि दरखास्त आह्वान गरिएको थियो । दुई महिलासहित ७० जनाले शुक्रबारसम्म आवेदन दिएका थिए ।
बाँदर धपाउन सक्ने, स्थानीय हुनुपर्ने र बाँदर प्रभावित क्षेत्रको हुनुपर्ने लगायत छनोटको मापदण्ड रहेको थियो । ‘हामीले २० जना बाँदर हेरालुको माग गरेका थियौं,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले भने, ‘धेरै क्षेत्रफलमा रहेको बारीमा बाँदरले मकै नोक्सान गरिदिएको माग आएपछि संख्या बढाएर २६ जना छनोट गरेका छौं । दिउँसो १-२ बजेतिर प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको रोहबरमा हेरालु सार्वजनिक गर्छौं ।’ छनोट हुनेमा २६ जनै पुरुष छन् ।
आवेदन दिएका दुई जना महिला बजारमा बस्ने भएकाले छनोटमा परेनन् । १८ वर्षदेखि ४५ वर्षका उमेर समूहका छनोट गरिएका २६ जना बाँदर हेरालुले आइतबारदेखि असोज १० गतेसम्म (दुई महिना) हेरालुको काम गर्नेछन् । त्यस वापत उनीहरुले मासिक १२ हजार ५ सय पारिश्रमिक पाउने गरी वन कार्यालयले नियुक्ती दिनेछ । प्रमुख जिल्ला अधिकारी सुवेदीले बाँदर हेर्दा आवश्यक सुरक्षा लगायतको विषयमा हेरालुलाई प्रशिक्षण दिनेछन् । वन हेरालुको लागि तलब, खर्च व्यवस्थापन कुनै सरकारी निकायले गरेको छैन । शितगंगा नगरपालिका भित्र रहेका सम्बद्र्धन प्रणालीमा आधारित सामुदायिक वन उपभोक्ता समूहले रकम संकलन गरेर वन कार्यालयलाई दिने भएका छन् ।
जिल्लाको ६ पालिकाको ६१ वडामध्ये २६ स्थानलाई बाँदर अति प्रभावित क्षेत्र छनोट गरिएको छ । छनोट भएका बाँदर हेरालुलाई प्रमुख जिल्ला अधिकारी सुवेदी, डिभिजन वन कार्यालय प्रमुख नारायणदेव भट्टराई लगायतले तीन घण्टा जति प्रशिक्षण दिइने सूचना अधिकारी खड्काले बताए । उनीहरुलाई आवश्यक सामान वितरण गर्ने र किसानको बारीमा परेर मकै नोक्सान गर्दा बाँदरलाई धपाउने तरिका, उपायको बारेमा प्रशिक्षण दिइनेछ । त्यस्तै बाँदरलाई किसानको घरमा भएको खानेकुरा दिएर प्राकृतिक स्थानमा भुलाउने तरिका सिकाइनेछ ।








प्रतिकृया दिनुहोस्