July 2, 2026, Thursday
२०८३ असार १८ बिहीबार

लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, ओझेलमा परेका सम्पदाको उत्खनन र प्रचारमा जोड

Advertisement

भैरहवा– लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा बुद्व जन्मस्थल लुम्बिनीमा बिहीबारबाट उक्त सम्मेलन सुरु भएको हो ।

Advertisement

सम्मेलनको लुम्बिनी प्रदेशका पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेशमा रहेका बौद्ध सम्पदा र तिनको अन्तर्राष्ट्रिय प्रचारमा सम्मेलन केन्द्रित रहेको छ । सम्मेलनमा स्वदेश तथा विदेशबाट बौद्ध विद्वान र सम्पदा विज्ञहरूको सहभागिता छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्द्धन र दिगो पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर विभिन्न देशका विज्ञहरूद्वारा एक दर्जन कार्यपत्र प्रस्तुत गरिने विश्वविद्यालयले जनाएको छ ।

सम्मेलनमा भारत, चीन, श्रीलंका, फिनल्यान्ड तथा राजधानी काठमाडौंबाट आएका सम्पदा विज्ञले आ–आफ्नो प्राज्ञिक धारणा र अनुसन्धानमूलक विचारहरू राख्ने कार्यक्रम छ।

सम्मेलनमा प्रमुख वक्ताका रूपमा प्राध्यापक डा.नरेशमान बज्राचार्य छन् । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा.माणिकरत्न शाक्यले लुम्बिनी र यस वरपर रहेका अमूल्य सम्पदालाई विश्व स्तरमा चिनाउनु नै यस सम्मेलनको मुख्य लक्ष्य रहेको जानकारी गराए ।

उपकुलपति डा.शाक्यले हाल धेरै बौद्ध सम्पदा संरक्षणको अभावमा गुज्रिरहेको र कतिपय महत्त्वपूर्ण स्थलहरू उचित खोज तथा उत्खननको अभावमा अझै पनि ओझेलमा परिरहेको प्रति चिन्ता व्यक्त गरे । ‘यसरी ओझेलमा परेका ऐतिहासिक र पुरातात्विक बौद्ध सम्पदाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर र प्रचार–प्रसार गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका साथै यी क्षेत्रहरूलाई पर्यटनको महत्त्वपूर्ण र आकर्षक गन्तव्यका रूपमा विकास गर्नु पनि यो कार्यक्रमको मूल उद्देश्य हो ।’

सम्मेलनले आगामी दिनमा लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकास र सम्पदा संरक्षणका लागि ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ। सम्मेलनमा प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ता, प्रदेश सचिवहरु, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, पर्यटन व्यवसायी, विभिन देशका भिक्षुहर, सामाजिक अगुवा लगायतको सहभागिता छ ।