रामपुर नगरपालिकामा धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन


पाल्पा–जनसंख्याको सन्तुलन कायम राख्न र भविष्यको जनशक्ति सुरक्षित गर्न पाल्पाको रामपुर नगरपालिकाले जनसंख्या वृद्धिदरलाई प्राथमिकता दिएको छ ।
घट्दो जनसंख्या वृद्धिदर र युवाशक्तिको तीव्र विदेश पलायन हुने क्रमलाई रोक्न रामपुर नगरपालिकाले धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहित गर्ने नीति तथा योजना अघि सारेको छ ।
नगरपालिकाले तीन वा तीनभन्दा बढी सन्तान जन्माउने परिवारका तेस्रो र त्यसपछिका प्रत्येक सन्तानलाई आउदो साउन महिनादेखि मासिक १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने घोषणा गरेको हो । चालु आर्थिक वर्षदेखि नै मासिक ५ सय पाँच सय रुपैयाँ दिने गरी प्रक्रिया सुरु गरेको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उक्त रकमलाई बढाएर १ हजार रुपैयाँ पु¥याउने नीति पारित गरेको छ ।
नगरपालिकाको १९ औँ नगर सभा अधिवेशनबाट यो नीति सर्वसम्मत रूपमा पारित भएको छ । नगरप्रमुख रमणबहादुर थापाका अनुसार, तेस्रो वा त्यसपछिका प्रत्येक सन्तानका नाममा एउटा बालबचत खाता खोलिनेछ । उक्त खातामा बच्चाको उमेर पाँच वर्ष नपुगुन्जेलसम्म नगरपालिकाले नियमित रूपमा मासिक १ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ ।
देशमा जनसंख्या वृद्धिदर कम हुँदै गइरहेको र अर्कातर्फ बौद्धिक तथा दक्ष युवाशक्ति पलायन भइरहेकाले नगरको दीर्घकालीन श्रमशक्ति, आर्थिक स्थायित्व र सामाजिक सन्तुलनमा ठुलो जोखिम देखिएको भनाइ नगरप्रमुख थापाको छ । ‘जनसंख्या वृद्धिलाई व्यवस्थित रूपमा प्रोत्साहन गर्न यो व्यवस्था लागु गरिएको हो’ थापाले भने ।
यो कार्यक्रम लागुगर्नका लागि का लागि नगरपालिकाले बजेट समेत बढाएको छ । उपप्रमुख बालकुमारी थापाका अनुसार चालु आर्थिक वर्षमा यस प्रोत्साहन भत्ताका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि भने बजेटको दायरा बढाएर ५ लाख रुपैयाँ पुर्याइएको छ ।








प्रतिकृया दिनुहोस्