लुम्बिनी सरकारको खर्च प्रगती ४४.८५ प्रतिशत, राजस्व ५ अर्ब १४ करोड संकलन


भैरहवा– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–२०८३ को जेठ २५ सम्म १७ अर्ब ४७ करोड ८२ लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ४४.८५ प्रतिशत हो । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीका अनुसार पुँजीगततर्फ १० अर्ब ११ करोड ९ लाख र चालुतर्फ ७ अर्ब ३६ करोड ७३ लाख खर्च भएको छ ।
स्थानीय तहको लागि वित्तीय हस्तान्तरण मार्फत १ अर्ब ९३ करोड २३ लाख निकासा भएको छ, जुन यस शीर्षकमा भएको विनियोजनको ५६.४२ प्रतिशत हो । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्य पहिलो चरणको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९५.५८ प्रतिशत छ । दोस्रो चरणको निर्माण कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न हुने व्यवस्था मिलाइएको मन्त्री कार्कीले जनाए ।
प्रदेश राजधानीका प्रशासनिक भवनहरू निर्माण सम्पन्न भए पश्चात एकै परिसरबाट मिति २०८३ वैशाख २१ गतेबाट सेवा प्रवाह समेत शुरु भइसकेको छ । विद्युत तथा ग्यास क्षेत्रमा उल्लेख्य वृद्धि भए तापनि कृषि क्षेत्रको न्यून वृद्धि र यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, खुद्रा व्यापार लगायत क्षेत्रमा भएको सामान्य वृद्धिका कारण आर्थिक वर्ष २०८२–०८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान रहँदा प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत हुने अनुमान गरिएको उनले बताए । गत आर्थिक वर्षमा त्यस्तो वृद्धिदर ४.२७ प्रतिशत थियो ।
चालु आर्थिक वर्ष प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३७ अर्ब हुने अनुमान रहेको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान १४.२ प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको योगदान क्रमशः ३०.२ प्रतिशत, १४.८ प्रतिशत र ५४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । लुम्बिनी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्ष १२०८ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
विद्युतमा पहुँच पुगेको जनसङ्ख्या ९८.६ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएको घरपरिवार करिब ८० प्रतिशत पुगेको अनुमान रहेको छ । पछिल्ला सात आर्थिक वर्षको कुल बजेटमा पुँजीगत विनियोजनको औसत अंश ५९ प्रतिशत भन्दा बढी रहेको छ भने पुँजीगत खर्चको हिस्सा विनियोजित बजेटको ६८ प्रतिशत भन्दा बढी रहेको छ ।
चालु आर्थिक वर्षको जेठ २५ सम्मको अवधिमा प्रदेशको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले वृद्धि भई ५ अर्ब १४ करोड ४ लाख पुगेको छ ।
चालु आर्थिक वर्षको जेठ २५ सम्म प्रदेश सञ्चितकोषमा प्राप्त कुल आय २६ अर्ब ५७ करोड ७७ लाख पुगेको छ । प्रदेशलाई नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ७२ करोड २४ लाख, सशर्त अनुदान २ अर्ब १२ करोड ५० लाख, विशेष अनुदान ३० करोड र समपूरक अनुदान ३८ करोड ५५ लाख प्राप्त भएको छ । नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाडँफाँटबाट १० अर्ब १३ करोड ८५ लाख, रोयल्टी बाडँफाँटबाट २६ करोड ३६ लाख र प्रदेश सरकारको आन्तरिक राजस्व ५ अर्ब १४ करोड ४ लाख प्राप्त भएको मन्त्री कार्कीले जनाए ।








प्रतिकृया दिनुहोस्