किसानको मागअनुसार मल आपूर्ति नहुँदा समस्या


भैरहवा–खेतीपातीको सिजनमा लुम्बिनी प्रदेशमा रासायनिक मलको गम्भीर समस्या देखिएको छ । प्रदेशका ११ जिल्लाका किसान मलको खोजीमा भौतारिन बाध्य छन् । भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ जिल्लामा मल पठाइएपनि पर्याप्त हुन सकेको छैन । जिल्लास्थित किसानको माग अनुसार आपूर्ति नभएपछि उनीहरुले सास्ती खेपिरहेका छन् ।
कृषि सामग्री कम्पनीको भैरहवास्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२–0८३ मा प्रदेशका ११ जिल्लाका लागि युरिया ५२ हजार ९ सय ३ मेट्रिक टन, डीएपी २३ हजार ६ सय ९६ मेट्रिक टन मल आपूर्ति भएको छ । पोटासको कोटा विभाजन नगरेको र किसान सहकारीको मागअनुसार उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस अवधिमा कपिलवस्तुमा १३ हजार २ सय ८७, दाङमा १३ हजार ८ सय ९२, बर्दियामा ९ हजार ९ सय ५, पाल्पामा १ हजार ८ सय ६, पश्चिम नवलपरासीमा ७ हजार ८ सय ४८, गुल्मी २ हजार ६ सय ४९, अर्घाखाँचीमा २ हजार २ सय, रोल्पामा २ हजार ५ सय ३, बाँकेमा ७ हजार ६ सय ५०, रुपन्देहीमा १८ हजार ५ सय २२, प्युठानान २ हजार १ सय ८९ मेट्रिक टन मल पठाइएको छ ।
रुपन्देही, कपिलवस्तु, दाङ र नवलपरासीमा सबैभन्दा धेरै मल पठाइएको छ । पाल्पामा सबै भन्दा कम मल पठाइएको छ । प्रदेशका ११ जिल्लामा मल पठाउने गरिएको छ । रुकुम पूर्वमा भने मल पठाइँदैन । रुकुम पूर्वलाई लुम्बिनी प्रदेश सरकारले अर्गानिक जिल्ला घोषणा गरेको छ । तर, खेतीपातीको आवश्यकता अनुसार मल पर्याप्त नपाएको किसानले गुनासो गरेका छन् ।
कार्यालयकी प्रदेश प्रमुख सुमन पन्थीका अनुसार रासायनिक मलको माग धेरै र आपूर्ति कम भएकाले समस्या भइरहेको छ । जेठबाट धान रोपाइँ सुरु हुने भएकाले किसानलाई अहिले मल आवश्यक छ । तर, बजारमा अभाव, कालोबजारी र सीमित वितरणका कारण किसान मारमा परेका छन् । कतिपय किसान बिहानैदेखि डिलर तथा सरकारी कार्यालय अगाडि लाइन बस्न बाध्य छन् ।
केही किसान खाली हात फर्किनुपर्ने अवस्था छ । कृषि सामग्रीको तथ्यांक अनुसार अहिले कार्यालयमा करिब ५ हजार मेट्रिक टन मौज्दात छ । उक्त मौज्दात किसानको आवश्यकता भन्दा निकै कम हो । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग थप मल माग गरे पनि आपूर्ति हुन सकेको छैन । प्रदेशले डीएपी, पोटास र युरियाको ठूलो परिमाण माग गरेको भए पनि अहिलेसम्म सीमित मात्रामा मल प्राप्त भएको छ ।
समयमा मल नपाउँदा उत्पादन घट्ने, माटो कमजोर हुने चिन्ता किसानमा बढेको छ । रसायनिक मलको उत्पाखनमा महत्वपूर्ण भूमिका हुने भएकाले मल अभावले खाद्य उत्पादनमै असर पर्ने देखिएको छ । मलको समस्या नयाँ होइन । हरेक वर्ष खेतीको मुख्य सिजनमा मल अभाव दोहोरिने गरेको छ । दीर्घकालीन समाधान, सहज वितरण प्रणाली र पर्याप्त मौज्दात व्यवस्थापन नगरेसम्म किसानको दुःख कम नहुने देखिन्छ ।
लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१–८२ मा संघीय सरकारसित डीएपी १ लाख, पोटास ४ हजार ५ सय मेट्रिक टन र युरिया १ लाख ७ हजार पाँच सय मेट्रिकटन माग गरेको थियो । जयमध्ये युरिया ४३ हजार ६ सय ६६ मेट्रिक टन, डीएपी २७ हजार २ सय ७६ मेट्रिक टन र पोटास २ हजार ५ सय ४१ं मेट्रिक टन वितरण भएको कार्यालयका प्रमुख पन्थीले जानकारी दिइन् ।








लेखकको सम्वन्धमा